कोशीका ठूला १२ क्याम्पस : कहाँ को विजयी ? – Nepal Press

कोशीका ठूला १२ क्याम्पस : कहाँ को विजयी ?

विराटनगर । दुई दिनअघि सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा कोशी प्रदेशमा रहेका ठूला क्याम्पसहरूमा मिश्रित नतिजा आएको छ । प्रदेशमा रहेका चर्चित र ठूला क्याम्पसमध्ये नेपाल विद्यार्थी सङ्घले ५ वटा क्याम्पसमा सभापति जितेको छ ।

यस्तै एमालेनिकट अनेरास्ववियुले ४ वटा क्याम्पसमा सभापति जितेको छ । जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनले २ वटा क्याम्पसमा सभापति जितेको छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियूले प्रदेशको ठूला क्याम्पसमध्ये एउटामा सभापति पद जितेको छ ।

नेविसंघले महेन्द्र मोरङ क्याम्पस विराटनगरमा सभापति जितेको छ । नेविसंघका जसवन्त पौडेल अनेरास्ववियुका नवीन पहाडीलाई हराउँदै सभापतिमा निर्वाचित भएको महेन्द्र मोरङ क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले जानकारी दिए ।

यस्तै धरानमा रहेको हात्तीसार क्याम्पसमा नेविसंघका अभिनव गुरागाईँ विजयी भएका छन् । उनले अनेरास्ववियू र क्रान्तिकारी संयुक्त प्यानलबाट सभापतिका उम्मेदवारलाई हराए । यस्तै धरानकै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा पनि नेविसंघका नवीन श्रेष्ठ विजयी भए । श्रेष्ठले अखिल क्रान्तिकारीका मन्दिप अधिकारीलाई हराए ।

दमक बहुमुखी क्याम्पस दमकमा नेविसंघका सोविम न्यौपाने विजयी भएका छन् । उनले एमालेनिकट अनेरास्ववियुका निशेष राईलाई पराजित गरे । यस्तै इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा नेविसंघकै सहदेव काफ्लेले बाजी मारे उनले अनेरास्ववियुका उज्ज्वल सिग्देललाई पराजित गरे ।

एमालेनिकट अनेरास्ववियुले धनकुटा बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस भद्रपुर, स्नातकोत्तर क्याम्पस विराटनगर, इलामको महेन्द्ररत्न क्याम्पसमा सभापति जितेको छ ।

धनकुटामा अनेरास्ववियुका सन्तोष बुढाथोकी सर्वसम्मत भए । एमालेनिकट अनेरास्ववियुले विराटनगर नर्सिङ क्याम्पसमा पनि जित निकालेको छ । सो क्याम्पसको स्ववियुमा अखिलकी प्रशंसा पौडेल नेतृत्वको प्यानलले जितेको छ ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अनेरास्ववियू र अखिल क्रान्तिकारीको प्यानलै विजयी भयो । १२ सय ८ मत खसेको मध्ये अनेरास्ववियूका दर्शन राईले ५९७ प्राप्त गरी विजयी भएका हुन् । स्नातकोत्तर क्याम्पस विराटनगरमा अनेरास्ववियुका निर्मल गजुरेल विजयी भएका छन् ।

मोरङको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका सन्तोष लिम्बू विजयी भएका छन् ।

उनी १ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुका मनोज काकीले ६५७ मत प्राप्त गरेका छन् ।

यस्तै स्ववियु सचिवमा एमाले अनेरास्वयिुका एलिस ओझा १ हजार १४ मतका विजयी हुँदा नेविसंघका नीराजन धमलाले एक हजार ६ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा माओवादी निकट अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन् । क्याम्पसमा एमाले अनेरास्ववियुका विरुद्ध चार दलीय गठबन्धन थियो ।समाजवादी विद्यार्थी युनियनले महेन्द्र क्याम्पस धरान र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा सभापति जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर