लिजेन्ड लिगमा पारसमाथि हेलोहोचो- टीममा राखियो, तर न ब्याट दिइयो न बल – Nepal Press

लिजेन्ड लिगमा पारसमाथि हेलोहोचो- टीममा राखियो, तर न ब्याट दिइयो न बल

५ खेल खेल्दा तीनवटामा पारस फिल्डरमात्रै

काठमाडौं । कतारको दोहामा आयोजना भएको लिजेन्ड लिग क्रिकेट मास्टर प्रतियोगिता हिजो सम्पन्न भयो, जसमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का पनि सहभागी थिए । क्रिकेटबाट रिटायर्ड भइसकेका विश्वभरकै हस्ती खेलाडीहरूसहितको प्रतियोगितामा पारसले मौका पाउनु नेपाली समर्थकका लागि खुशीको कुरा थियो ।

पारसले भारतबाहेकका दक्षिण एसियाली राष्ट्रहरूको टीम एसिया लायन्सबाट खेलेका थिए । हिजो राति भएको फाइनलमा उनको टीमले प्रतियोगिताको उपाधि पनि जित्यो । पारस विजेता टीमका सदस्य त भए, तर फाइनल खेलमा उनको उपस्थिति भने केवल फिल्डरका रूपमा रह्यो । उनलाई न बलिङ गर्न दिइयो न ब्याटिङ गर्न ।

भारतलाई क्रिकेटको महाशक्ति देखाउने हिसाबले संरचना बनाइएकाे प्रतियोगितामा एसिया लायन्ससहित वर्ल्ड जायन्ट्स र इन्डियन महाराजाजले भिडेका थिए ।  लिग चरणमा तीनवटै टीमले एक-आपसमा दुई-दुई म्याच खेले । वर्ल्ड जायन्ट्स सीधै फाइनलमा पुग्यो भने इलिमिनेटरमा इन्डियन महाराजालाई हराएर एसियाले पनि फाइनलमा स्थान बनायो । फाइनलमा एसिया लायन्सले ७ विकेटले वर्ल्ड जायन्ट्सलाई हरायो ।

एसिया लायन्समा पारसलाई अलराउन्डरका रूपमा समावेश गरिएको थियो । तर, उनले प्रतियोगिताभरि एक बल पनि फ्याँक्न पाएनन् । ब्याटिङमा पनि लगभग उही अवस्था रह्यो । एसिया लायन्सले खेलेका ६ म्याचमध्ये ५ वटामा उनी टीममा परेका थिए । तर, दुईवटामा मात्रै उनले ब्याट समात्न पाए, त्यो पनि थोरै बलका लागि ।

समूह चरणको पहिलो खेलमा पारसलाई आठौं नम्बरमा ब्याटिङमा पठाइएको थियो । उनले अन्तिम ओभरमा दुई बलमात्र सामना गर्न पाए । भारतीय बलर स्टुअर्ट बिन्नीले फ्याकेका दुई बलमा तीन रन बनाएर अविजित रहे । यस्तै समूह चरणको अन्तिम म्याचमा वर्ल्ड जायन्ट्सविरुद्ध उनले १० बल खेल्न पाए । त्यसमा ८ रन बटुलेका उनी रन आउट भएर बाहिरिए ।

यस म्याचमा पारसले अष्ट्रेलियन लिजेन्ट ब्रेट लीको एक बल तथा ईंग्ल्यान्डका मोन्टी पेनीसार र समित पटेलका ४-४ बलको सामना गरेका थिए । उनीसँग रन बटुल्ने मौका त थियो, तर दुर्भाग्यपूर्णरूपमा रन आउट हुन पुगे ।

इन्डियन महाराजाजसँगको इलिमिनेटर र वर्ल्ड जायन्ट्ससँगको फाइनलमा पारसले बल र ब्याट छुन पाएनन् । उनले केवल फिल्डरको भूमिका निभाएका थिए ।

नेपाली क्रिकेटका सर्वाधिक सफल र लोकप्रिय खेलाडीमा पर्छन् पारस खड्का । लामो समय राष्ट्रिय टीमको सफल कप्तानी गरेका उनले करिब तीन वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्‍न्‍यास लिएका थिए । सन्‍न्‍यासपछि पारसले अन्तर्राष्ट्रियमात्र नभएर घरेलु क्रिकेटसमेत खेलेका छैनन् ।

लामो समयदेखि पारसलाई मैदानमा नदेखेका समर्थकहरू एकैपटक उनी वर्ल्ड स्टेजमा देखिँदा निकै हौसिएका थिए । पारस पनि प्रतियोगितालाई लिएर निकै उत्साहित थिए । आफ्नो टीमले उपाधि जित्दा पक्कै पनि उनी खुशी छन् । तर, यो खुशी दोब्बर हुने थियो यदि मैदानमा पर्फम पनि गर्न पाएको भए ।

एसियन टीमको नेतृत्व पाकिस्तानी अलराउन्डर शहिद अफ्रिदीले गरेका थिए, भने प्रशिक्षक डेव वाटमोर थिए । वाटमोर नेपालको राष्ट्रिय टीम सम्हालिसकेका प्रशिक्षक हुन् ।  टीममा अधिकांश पाकिस्तानी र श्रीलंकन खेलाडीको वर्चश्व थियो । पारसले अफ्रिदीसहित पाकिस्तान र श्रीलंकाका तिलकरत्ने दिलशान, मिसवाह उलहक, अब्दुल रज्जाक, मोहम्मद हाफिज, थिसरा परेरा, मोहम्मद आमिर जस्ता खेलाडीहरूसँग ड्रेसिङ रुम सेयर गर्न पाएकोमै चित्त बुझाउनु परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर