कांग्रेस-माओवादीबीच लेनदेन नटुंगिएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित – Nepal Press

कांग्रेस-माओवादीबीच लेनदेन नटुंगिएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

रुपन्देही । लुम्बिनी प्रदेश सभाको मंगलबारका लागि आह्वान गरिएको बैठक सोमबार साँझ सूचना प्रकाशन गरेर स्थगित गरिएको छ ।

मंगलबारको बैठकमा सत्ता समीकरण परिवर्तनका लागि माओवादीसहितका साना दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरेका थिए । सोही तयारीका लागि सोमबार गठबन्धन दलको बैठक पनि बसेको थियो । नयाँ गठबन्धन दलको बैठकपछि सदन स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले सोमबार साँझ सूचना प्रकाशित गर्दै बैठक स्थगित गरिएको जनाएको हो । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले मंगलबारका लागि आह्वान भएको बैठक सभामुख तुलाराम घर्तीको निर्देशानुसार स्थगित गरिएको जनाएका छन् । अर्को बैठकको सूचना पछि प्रकाशित हुने उनले बताए ।

यसअघि फागुन १७ गते पनि सरकारमा सहभागी साना दलले विश्वासको मत फिर्ता लिनका लागि बैठक आह्वान गरिएको थियो । तर, त्यो दिन पनि राष्ट्रपतिको निर्वाचनपछि सबै दलले एकैसाथ समर्थन फिर्ता लिने भन्दै लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई रोकिएको थियो ।

माओवादीनिकट स्रोतका अनुसार मुख्यमन्त्री लिला गिरी र सभामुख घर्तीबीच सरकारकै विषयमा कुराकानी भएपछि बैठक स्थगित गरिएको हो । लुम्बिनी प्रदेशमा नयाँ समीकरणअनुसारको मुख्यमन्त्री कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीको प्रतिस्पर्धा चलिरहेको छ ।

कांग्रेसले निर्वाचनअघिकै एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठन गर्ने बेला भएको सहमति कार्यान्वयन नगरी पुरै समय माओवादी नेतृत्वमा सरकार चलेकाले अबको पहिलो नेतृत्व कांग्रेसले पाउनु पर्ने दाबी गर्दै आएको छ ।

माओवादीले लुम्बिनीमा आफ्नो आधार क्षेत्र र सहमतिका लागि सजिलो हुने भन्दै पहिलो पटकमै नेतृत्व लिने गरी केन्द्रमा दबाब बढाएको छ । ‘नेतृत्वकै विषयमा कुनै टुंगो नलागेकाले म)गलबारको बैठक स्थगित गरिएको हो, यो कांग्रेसलाई पनि दबाब पार्ने योजनामा आएको हो’ माओवादीका एक नेताले भने ।

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नयाँ सरकारको नेतृत्व लिने तयारीमा छन् । माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महराले दाबी गरिरहेका छन् । महरा पुष्पकमल दाहालको सचिवालयमा बसेर लामो समय काम गरेका नेता हुन् । उनी मुख्यमन्त्री बन्ने सहमतिमै रोल्पाबाट प्रदेशसभा निर्वाचन लडेका थिए ।

कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले माओवादीले यसअघिकै सरकार सहमतिमा नेपाली कांग्रेसलाई नदिएकाले अहिले स्वभाविक रुपमा कांग्रेसले पाउने बताएका छन् । माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले कांग्रेसको दावी स्वभाविक भएपनि आफूहरुको आधार इलाका भएकाले केन्द्रमा दावी गरिरहेको जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर