महासंघ प्रतिनिधिलाई दोहोर्याएर भेट्दै सभामुखले भने- अस्तिको अभिव्यक्ति फिर्ता लिएँ


काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग दोस्रोपटक भेटेका छन् । यसअघिको भेटमा उनले दिएको अभिव्यक्ति विवादित भएपछि आज फेरि उनले महासंघलाई भेट्न बोलाएका थिए ।
भेटमा सहभागी महासंघका महासचिव रोसन पुरीले आजको कुराकानीका क्रममा सभामुखले यसअघिको अभिव्यक्ति फिर्ता लिएको बताए ।
उनले भने, ‘सभामुखज्यूले प्रेस स्वतन्त्रताप्रति आफू प्रतिवद्ध रहेको भन्दै दुई दिनअघि राखेका अभिव्यक्ति फिर्ता लिनुभएको छ । नेपाली प्रेसले नेपालको लोकतन्त्रका लागि खेलेको भूमिकाप्रति सम्मान पनि जनाउनुभएको छ ।’
पुरीका अनुसार कुराकानीका क्रममा महासंघले या त अभिव्यक्ति पुष्टि गर्नुपर्ने या फिर्ता लिनुपर्ने माग गरेको थियो । सभामुखले दोस्रो विकल्प रोजेका हुन् । उनले आजको वार्तालापपछि यो विवादलाई यहीँ अन्त्य गर्न आग्रह गरेको थियो भने यसमा महासंघ पदाधिकारीले पनि सहमति जनाएका छन् ।
महासंघको एक प्रतिनिधिमण्डल गत शुक्रबार नवनिर्वाचित सभामुखलाई बधाइ दिन पुगेको थियो । त्यस क्रममा सभामुखले नेपाली पत्रकारहरु पैसामा बिक्ने गरेको दाबी गरेका थिए ।
सभामुखले पत्रकारको आलोचना गरिरहँदा चुपचाप सुनिरहे पनि प्रतिनिधिमण्डले पछि सभामुखको सचिवालयसँग उक्त अभिव्यक्तिमा गुनासो गरेको थियो । विज्ञप्ति मार्फत पनि भत्र्सना गरिएको थियो ।
विवाद बढेपछि सभामुखले नै सुलहका लागि महासंघलाई प्रस्ताव गरेको बुझिएको छ । उनले फेरि महासंघ प्रतिनिधिसँग भेट्न प्रस्ताव गरेपछि आज अध्यक्ष महासचिव लगायतको टिमले उनलाई भेटेको हो ।
सभामुखको कार्यकक्षमा भएको भेटमा पत्रकार महासंघ र संघीय संसदको नेतृत्वले प्रस्तावित सञ्चार सम्वद्ध कानूनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमैत्री बनाउन सहकार्य गर्ने कुराकानी भएको छ ।
जति दलाली गरे पनि भयो अब। मेडिया हाउसले १०,००० तलव दिएको छ । तर बसाइ छ महिनामा ५ लाख खानेको जस्तो ।कहाँबाट आयो ? लेखिदिउँ ? भन्यो । असुल्यो खायो । सुध्रिनतिर होईन खायौ भन्नेलाई झम्टिनतिर लागेपछि पत्रकारिताको हालत के होला ?