विश्वकप लिग २: यी हुन् धेरै रन बनाउने र विकेट लिने नेपालका ५-५ खेलाडी – Nepal Press

विश्वकप लिग २: यी हुन् धेरै रन बनाउने र विकेट लिने नेपालका ५-५ खेलाडी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत सबै खेल सकिएको छ । एक समय एक दिवसीय मान्यता नै जोगाउन कठिन अवस्थामा रहेको नेपालले १२ मध्ये ११ वटा खेलमा जीत निकालेर सानदार कमब्याक गर्‍यो ।

घरेलु मैदानमा भएको अन्तिम श्रृंखला क्लीन स्वीप गर्दै नेपालले ओडीआई मान्यता जोगाएकोमात्र छैन, लिग- २ को शीर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्लालिफायरमा स्थान पनि पक्का गरेको छ ।

नेपालको सफलतामा खेलाडीहरुको टीमवर्क सबैभन्दा महत्वपूर्ण रह्यो । चाहिएको बेला हरेक खेलाडीले योगदान दिएका छन् । कुनै एक वा दुई खेलाडीमा नेपाली टीम निर्भर रहेन, चाहे ब्याटिङमा होस् या बलिङमा । ब्याटिङमा टप अर्डर असफल हुँदा मध्यक्रमले त मध्यक्रम पनि असफल हुँदा तल्लो क्रमले नेपाललाई जोगायो । अनि बलिङमा पनि कहिले फास्ट बलर त कहिले स्पिनरले जीतको आधारशीला बनाए ।

लिग- २ को सबै खेल खेलिसक्दा नेपालका आसिफ शेखले सबैभन्दा धेरै रन बनाएका छन् । बलिङतर्फ सन्दीप लामिछानेले सबैभन्दा धेरै विकेट लिएका छन् । उनी लिग- २ मा सबैभन्दा धेरै विकेट लिने बलरको सूचीमा नै दोस्रो स्थानमा छन् ।

नेपालका लागि लिग- २ मा सबैभन्दा धेरै रन बनाउने र सर्वाधिक विकेट लिने पाँच खेलाडी को-को हुन् त ? आउनुस्, चर्चा गरौं ।

सर्वाधिक रन बनाउने पाँच बलर

आसिफ शेख

नेपालका ओपनर आसिफ लिग- २ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा १२औं नम्बरमा छन् । तर, उनी नेपालका लागि लिग- २ मा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । आसिफले ३० खेल खेल्दै ९३४ रन जोडे । यस क्रममा उनले एक शतक र सात अर्धशतक बनाए । आसिफ नेपालका लागि एक दिवसीय क्रिकेटमा हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । पहिलोमा कप्तान रोहित पौडेल रहेका छन् ।

रोहित पौडेल

राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेल नेपालका लागि लिग- २ मा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनी समग्रमा लिग- २ मा सर्वाधिक रन बनाउने खेलाडीको १३औं नम्बरमा छन् । रोहितले लिग- २ का ३३ खेलमा ९०९ रन जोड्दा सबैभन्दा धेरै अविजित ९५ रनको इनिङ खेलेका छन् । उनको नाममा सात अर्धशतक सामेल छन् ।

रोहित नेपालका लागि एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । यस्तै हजार रन पूरा गर्ने पनि रोहित पहिलो खेलाडी हुन् ।

कुशल भुर्तेल

ओपनर कुशल लिग- २ मा नेपालका लागि सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् । सन् २०२१ सेप्टेम्बर ७ मा पपुवा न्यूगिनीविरुद्धको खेलबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका कुशलले लिग- २ श्रृंखलामा २९ खेल खेल्दै नेपालका लागि ६१८ रन बनाएका छन् । जहाँ उनले बनाएको सर्वाधिक रन ११५ हो ।

लिग- २ मा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने तेस्रो खेलाडी बनिरहँदा उनले २९ खेलमा एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन् ।

आरिफ शेख

मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख लिग- २ मा २९ खेलमा ५९५ रन बनाउँदै नेपालका लागि सर्वाधिक रन बनाउने चौथो खेलाडी बनेका छन् । आरिफको नाममा पाँच अर्धशतक छन् । उनले सर्वाधिक रन ६६ बनाएका छन् ।

यूएईमाथि लिग- २ श्रृंखलाको अन्तिम खेलमा नाटकीय जीत निकाल्दै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्दा आरिफले महत्वपूर्ण इनिङ खेलेका थिए ।

ज्ञानेन्द्र मल्ल

शीर्ष क्रमका ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल लिग- २ मा सबैभन्दा धेरै रन बनाउने नेपालका पाँचौं ब्याट्सम्यान हुन् । उनले २४ खेलमा ५ अर्धशतकसहित ५७२ रन बनाएका छन् । उनले एउटै म्याचमा बनाएको सर्वाधिक रन ७५ हो ।

ज्ञानेन्द्रले पछिल्लो समयमा आफ्नो फर्म गुमाएका थिए । यूएईमा भएको श्रृंखला र नेपालमा नै भएको पहिलो म्याचमा रन बनाउन नसकेपछि बाँकी तीन खेलमा उनी प्लेइङ सेटमै परेनन् ।

सर्वाधिक विकेट लिने पाँच बलर

सन्दीप लामिछाने

नेपालका लेगस्पिनर सन्दीप लामिछाने लिग- २ मा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । नेपालका लागि भने उनी सबैभन्दा धेरै विकेट लिने पहिलो खेलाडीमा पर्छन् । सन्दीपले लिग- २ अन्तर्गत ३१ खेल खेल्दै ४.०४ को इकोनोमीमा ७२ विकेट लिएका छन् ।

लिग- २ मा सबैभन्दा धेरै ओमनका बिलाल खानको ७६ विकेट रहेको छ । सन्दीपले मुद्दा खेप्नुपर्दा लिग- २ का पाँच खेल गुमाएका थिए । यदि उनले सबै खेल खेलेका भए सर्वाधिक विकेट लिने खेलाडी बन्ने सम्भावना थियो । सन्दीपले एक दिवसीय क्रिकेटमा ९९ विकेट लिएका छन् ।

करण केसी

तीव्र गतिका बलर करण केसी नेपालका लागि लिग- २ मा सबैभन्दा धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । सबै देशका खेलाडीको सूचीमा छैटौं नम्बरमा रहेका करणले ३० खेल खेल्दै ५.११ को इकोनोमीमा ५० विकेट लिएका हुन् ।

करणको प्रदर्शनमा स्थिरता भने छैन । पछिल्ला खेलहरुमा चल्न नसक्दा उनी यूएईविरुद्धको अन्तिम प्रतिस्पर्धामा टीममा पर्न सकेनन् ।

सोमपाल कामी

तीव्र गतिका बलर सोमपाल कामी नेपालका लागि लिग- २ मा सबैभन्दा धेरै विकेट लिने तेस्रो खेलाडी हुन् । उनले लिग- २ मा ३१ खेल खेल्दै ४.८६ को इकोनोमीमा ३६ विकेट लिएका छन् । सोमपाल लिग- २ मा समग्रमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको १७औं स्थानमा छन् ।

दीपेन्द्रसिंह ऐरी

स्पिनर दीपेन्द्रसिंह ऐरी नेपालका लागि लिग- २ मा सबैभन्दा धेरै विकेट लिने चौथो खेलाडी हुन् । दीपेन्द्रले लिग- २ का ३२ खेल खेल्दै ३.७७ को इकोनोमीमा २३ विकेट लिएका छन् । दीपेन्द्र नेपालका लागि तल्लो क्रममा ब्याटिङ गर्ने गर्छन् ।

कुशल मल्ल

ब्याटिङ अलराउन्डर कुशल मल्ल नेपालका लागि लिग- २ मा सबैभन्दा धेरै विकेट लिने पाँचौं खेलाडी हुन् । १८ खेल खेलेका कुशलले ४.५६ को इकोनोमीमा १६ विकेट लिएका छन् ।


प्रतिक्रिया

One thought on “विश्वकप लिग २: यी हुन् धेरै रन बनाउने र विकेट लिने नेपालका ५-५ खेलाडी

  1. Aarif shekih Aasif sheikh future ma birat kholi jasto khel chha Nepal ko lagi touper players ho jai nepal 🏏🇳🇵🇳🇵👌

Leave a Reply

Your email address will not be published. Required fields are marked *