ए डिभिजन लिगः पाँचौ चरणको खेल सकिँदा पुलिसले पहिलो अंक जोड्यो, मनाङको अपराजित यात्रा कायमै – Nepal Press

ए डिभिजन लिगः पाँचौ चरणको खेल सकिँदा पुलिसले पहिलो अंक जोड्यो, मनाङको अपराजित यात्रा कायमै

काठमाडौं । नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं चरणको खेल सकिँदा पहिलो अंक जोडेको छ ।

दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) सँग १–१ गोलको बराबरी खेल्दै पुलिसले पाँच खेलमा पहिलो अंक जोडेको हो ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा एनआरटीका सन्जिव बिष्टले ६४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पुलिसका प्रताप तामाङले ७५औं मिनेटमा गोल बराबरी गोल फर्काउँदा एनआरटीले अंक बाँड्नु परेको थियो ।

लिगमा पहिलो अंक जोडेको पुलिस तालिकाको पुछारमा छ । भने, एनआरटीपनि ५ खेलमा जितबिहिन रहँदै रेलिगेशन जोनमा छ ।

आजै, च्यासल रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोलको नतिजामा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले लिगमा दोस्रो जित निकालेको छ । आर्मीको जितमा जिलेस्पिजंग कार्की र दिपक गुरुङले गोल गरे । भने, फ्रेन्डसका राफिक अमिनुले एक गोल गरे ।

जारी लिगमा आर्मी ५ खेलमा २ जित दुई बराबरी र एक हारको नतिजासहित ८ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । पराजित फ्रेन्ड्स ४ अंकसहित १२औं स्थानमा छ । दशरथ रंगशालामा भएको दोस्रो खेलमा एपिएफ क्लबलाई २–१ गोलको नतिजामा पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

खेलको ३५औं मिनेटमा अर्मान्ड बियाडोमको गोलमा एपीएफले अग्रता लिएको थियो । पहिलो हाफमा लिएको अग्रतालाई बचाउँन नसक्दा एपीएफले जारि लिगमा दोस्रो हार बोहोरेको हो ।

मनाङका कमल थापाले ५२औं मिनेटमा बराबरी गोल फर्काएका थिए । सब्सिट्युट खेलाडी सायीजामोल गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाएका थिए । सायीजामोलको गोलमा लिएको अग्रतालाई खेलको अन्तिम मिनेटसम्म कायम राख्दै मनाङले शानदार जित निकालेको थियो । जितसँगै मनाङ ११ अंकजोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित एपीएफ ७ अंकसहित छ्रटौं स्थानमा छ । पाँचौं चरण सकिँदा सातदोबाटो युथ क्लब १२ अंकसहित शिर्ष स्थानमा छ । नवप्रवेशी चर्च ब्वाइज यूनाइटेड ११ अंकसहित तेस्रो स्थानमा रहँदा, जावलाखेल १०अंकसहित चौथो स्थानमा छ ।

थ्री स्टार क्लब ७ अंकसहित सातौं स्थानमा छ । समान ६ अंक भएका संकटा क्लब र नव प्रवेशी खुमल्टार युथ क्ल्ब गोल अन्तरका आधारमा क्रमश आठौं र नवौं स्थानमा रहेका छन् । उत्कृष्ट सुरुआत गर्न नसकेको साविक विजेता मछिन्द्र फुटबल क्ल्ब पाँच अंकसहित ११औं स्थानमा रहेको छ ।

छैठौं चरणका खेलको तालिका भने, अखिल नेपाल फुटबल संघ(एन्फा)ले सर्वजानिक गरेको छैन । फिफा ब्रेकको अवसरमा नेपाली राष्ट्रिय फुटबल टिमले चैत्र ८ गतेदेखी १७ गतेसम्म भुटान र लाओस सम्मिलित थ्रि नेसन्स कप प्रतियोगिता खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *