प्रधानमन्त्रीलाई भेटेर सोविताले भनिन्- मूलपानी क्रिकेट रंगशाला छिटो सकौँ – Nepal Press

प्रधानमन्त्रीलाई भेटेर सोविताले भनिन्- मूलपानी क्रिकेट रंगशाला छिटो सकौँ

काठमाडौं । काठमाडौं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो निर्वाचन क्षेत्रका विभिन्न सरोकारहरूमा छलफल गरेकी छन् ।

खासगरी मूलपानीमा निर्माणाधीन क्रिकेट रंगशालालाई पूर्णता दिनुपर्ने विषयलाई उनले विशेष जोड दिइन् ।

सांसद गौतम प्रधानमन्त्रीको समय लिएर आज बिहान बालुवाटार पुगेकी थिइन् । करिब ४५ मिनेट भएको छलफलका क्रममा काठमाडौं २ का विभिन्न विषयवस्तु उनले प्रस्तुत गरिन् ।

वर्षौँदेखि अलपत्र बनेको मूलपानी रंगशालालाई चाँडो सिद्ध्याएर अन्तर्राष्ट्रिय म्याच खेल्न योग्य बनाउनुपर्नेमा उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले यसमा सकारात्मक जवाफ दिएका छन् । उनले अस्ति आफू क्रिकेट हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान पुग्दा रंगशालाको आवश्यकता झन् बढी महसुस भएको बताएका थिए ।

‘तपाईँले उठाउनुभएको विषय एकदमै सान्दर्भिक छ । मूलपानी रंगशालालाई पूर्णता दिन सरकारले आवश्यक पहल गर्नेछ,’ दाहालले भने ।

गौतमले प्रधानमन्त्रीलाई एकपटक मूलपानी रंगशालामै पुगेर प्रत्यक्ष अवलोकन गर्नपनि आग्रह गरेकी थिइन् ।

प्रचण्डले आफू आउन तयार रहेको भन्दै यसका लागि संयोजन गर्न गौतमलाई भनेका छन् ।

२० वर्षदेखि निर्माण सुरू भएको मूलपानी रंगशाला जग्गाको मुआब्जा, बजेट लगायतका समस्याले अहिलेसम्म सम्पन्न हुन सकेको छैन । अहिले सबै विवादहरू सल्टिएर कन्स्ट्रक्सनको काम मात्रै बाँकी छ ।

प्रधानमन्त्रीले मूलपानी र चितवनका दुई रंगशाला सफल पार्न सरकार प्रतिबद्ध रहेको बताए ।

भेटमा गौतमले कोटेश्वरको जाम, एयरपोर्टको खहरे, मनोहरा कोरिडोर लगायतका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरूप्रति संवेदनशीलता देखाएकोमा गौतमलाई धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *