अनमोलको स्टाटसले ‘छड्के २’ का जापान वितरक क्रुद्ध, सामाजिक सञ्जालबाटै दिए यस्तो चेतावनी – Nepal Press

अनमोलको स्टाटसले ‘छड्के २’ का जापान वितरक क्रुद्ध, सामाजिक सञ्जालबाटै दिए यस्तो चेतावनी

काठमाडौं । नायक अनमोल केसीले आफू अभिनीत चलचित्र ‘छड्के २.०’ बाट दर्शकलाई निराश बनाएको बताउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि सो चलचित्रका जापानका वितरक सचिन आचार्यले आक्रोश व्यक्त गरेका छन्। जापानमा ‘छड्के २.०’ लाग्दालाग्दै अनमोलको स्टाटस आएपछि आफ्नो लगानी डुबेको उनको गुनासो छ ।

माफी मागेर दर्शक भड्काएको भन्दै आचार्य अनमोलमाथि खनिएका हुन्। उनले लेखेका छन्, ‘उता मेघा स्टारलाई सहानुभूति कमाउनु थियो। पुरै आत्मसमर्पण गरिबक्स्यो। आफ्नो यता अझै शो हुँदै छ।’

आफ्नो शोका लागि भिडियो सन्देश पठाउन भन्दा अनमोलले नाानेको आचार्यको दाबी छ ।

उनले अनमोललाई चेतावनी दिँदै भनेका छन्, ‘मेरो शो राम्रो बनाउन १० सेकेन्डको भिडियो पठाउन भन्दा नमान्ने तिमीलाई मेरो शो बिगार्ने पनि कुनै अधिकार थिएन। याद गर्नु महँगो पर्छ यो हर्कत तिमीलाई।’

जापानमा प्रदर्शनमा आउने अधिकांश नेपाली चलचित्रहरूमा जोडिइरहने सचिनले पहिलो पटक छड्के जापानमा वितरण गर्न लागेका थिए। आफूले चलचित्रको राईट्स लिँदा नगद तिरेर निर्माता प्रशान्त गिरीसँग सम्झौता गरेको उनको भनाइ छ।

‘दर्शकले गाली गरून् या ताली मारून् त्यो मलाई मञ्जुर छ। तर मेरो शो नै बरबाद पार्ने गरी अनमोल केसीलगायत अन्य टिमले आफ्नो जुन भनाई दिएका छन्, त्यो खेदजनक छ। ख्याल होस म मुर्गा होइन र कदापि हुँदिन,’ उनी थप्छन्।

यस वर्षको बहुप्रतिक्षित मानिएको चलचित्र ‘छड्के २.०’ रिलिज पूर्व नेपाल तथा बाहिरका तर्कहरुले लिएका थिए। अनमोलको क्रेजले दर्शकहरू हलसम्म आउने र हाउस फुल हुनेमा सबै विश्वस्त देखिन्थे। अनमोलकै मुख हेरेर नेपालका वितरक सुनिल मानन्धरले डेढ करोडमा चलचित्रको राईट्स किनेका थिए। तर चलचित्रले सोचेजस्तो व्यापार नगरेपछि सबै निराश भए।

चलचित्रको कथावस्तु नै राम्रो नभएका कारण केही दिनमै चलचित्र हलबाट उत्रिएको थियो। अनमोलको स्टारडमले मात्रै दर्शक हलसम्म तान्न सकेन।

चारैतिर आलोचना हुन थालेपछि दर्शकले सोचेजस्तो काम गर्न नसकेकोमा बताउँदै अनमोलले दुख व्यक्त गरेका थिए । यसबाट चलचित्र नहेरेका दर्शकहरूमा समेत चलचित्र राम्रो नभएको छाप बस्यो। यता दर्शकहरूमा यस्तो छाप बसिदिँदा उता लाखौँ करोडौँ तिरेर राईट्स किनेका वितरक भने मारमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर