आजदेखि तिलोत्तमा गोल्ड कप, ८ टिम भिड्दै – Nepal Press

आजदेखि तिलोत्तमा गोल्ड कप, ८ टिम भिड्दै

रुपन्देही । मोफसलकै प्रतिष्ठित तिलोत्तमा गोल्ड कप प्रतियोगिता २०७९ आज शनिवारदेखि बुटवलमा सुरु हुँदै छ । दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक रुपन्देही–११ र सुदूर पश्चिमाञ्चल फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको हो । रुपन्देही जिल्ला फुटबल संघले आयोजना गर्ने यो प्रतियोगिता २२ औँ संस्करण हो ।

२२ औँ संस्करणमा दुई विभागीयसहित ८ टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गोल्ड कपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रूपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कृत गरिने छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व रहेको प्रतियोगिताका लागि यशोदा फुड्स प्रालि, त्रिमूर्ति ईण्डष्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेको छ ।

प्रतियोगितामा करेन्ट रुपन्देही –११ सहित मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, थ्री स्टार क्लब ललितपुर, नेपाल पुलिस क्लब काठमाडौँ, एपीएफ क्लब काठमाडौँ, हिमालयन शेर्पा क्लब काठमाडौँ, फ्रेन्ड्स क्लब काठमाडौं र सुदूरपश्चिम ११ गरी आठ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसीले कोभिड संक्रमण र राजनीतिक अस्थिरताकै कारण प्रतियोगितालाई निरन्तरता दिन नसकिएको बताए ।

बुटवल उपमहानगरबाट ३५ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट सहयोग प्राप्त भएको हुँदा प्रतियोगिता आयोजना गर्न सहजता आएको उनले बताए । गोल्ड कपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुनेछ ।

२१ औँ संस्करणको उपाधि क्यामरुनको दाफिन्स क्लबले जितेको थियो ।

आयोजक रुपन्देही–११ मा को को खेल्दैछन् ?

चार वर्षअघि तयारी सकेको भएपनि विश्वभर कोभिड संक्रमण र विविध कारणले रोकिएको गोल्डकपमा आयोजक रुपन्देही ११ को टिम छोटो समयमा तयार भएको छ । यशोदा फुड्स प्रालि, त्रिमूर्ति ईण्डष्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेकाले टिम करेन्ट रुपन्देही–११ नामकरण गरिएको छ ।

यसअघि रुपन्देहीको प्रशिक्षण सम्हाल्दै आएको याम प्रसाद गुरुङ नेपालको राष्ट्रिय महिला टिम र काठमाडौँमा खुमलटार एफसी सम्हालेका छन् । एन्फाका प्रशिक्षक पुकार गहतराजले रुपन्देही टिमलाई प्रशिक्षण दिएका छन् ।

टिम व्यवस्थापन पूर्व खेलाडी तथा संघका उपाध्यक्ष मुकेश कुवरले सम्हालेका छन् । जितेश गुरुङको कप्तानीमा ‘ए’ डिभिजन खेल्ने र युवा स्थानीय खेलाडीहरू मिश्रित गरी रुपन्देही ११ तयार भएको पूर्व खेलाडीसमेत रहेका संघका उपाध्यक्ष मुकेश कुवरले बताए ।

क्लोज क्याम्प राखेर खेलाडीहरू छनौट र आवश्यक तयारी गरेको उनले बताए । यसपालि रुपन्देहीको गोलपोष्टमा दीपेश थापा रहने छन् । उनको विकल्पमा सुभाङर जिसीसमेत छन् ।

२१ औ संस्करणमा सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग रुपन्देही पराजित भएको थियो । यस पटक युवाहरू समेटेर राम्रो टिम बनेको उनी बताउँछन् ।

सुदूरपश्चिम टिमलाई कम आँकलन गर्न नहुने विश्लेषकहरू बताउँछन् । प्रत्येक टिममा ३ जना विदेशी र एकजना एशियन मूलका गरी ४ जना विदेशी खेलाउन पाउने एन्फाको मापदण्डअनुसार नै खेलाडी खेल्न पाउने प्रावधान छ ।

प्रतियोगिताको पूर्व सन्ध्यामा टिमको जर्सी र खेलाडीहरूको नामावली सार्वजनिक कार्यक्रमसमेत आयोजकले गरेको छैन ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरु भएको थियो ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

विसं २०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौँ, दसौँ र तेह्रौँमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौँमा कालिका स्पोर्टिङ क्लब, सातौँ जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।

त्यस्तै, आठौँमा आरएनएसी, एघारौँमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौँ र सोह्रौँमा त्रिभुवन आर्मी क्लब, चौधौँ र अठारौँमा रुपन्देही ११, पन्ध्रौँमा फ्रेन्ड्स क्लब, सत्रमा जावलाखेल युथ क्लब र १९ औँ संस्करणको उपाधि सिएमसी संकटा क्लबले जितेका थिए । २० औँ तिलोत्तमा गोल्ड कपको उपाधि थ्रिस्टार क्लब काठमाडौंले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *