‘भष्मे डन’मा वर्षा पनि अटाइन्- अफर आउँदा आफैं ‘सरप्राइज्ड’ – Nepal Press

‘भष्मे डन’मा वर्षा पनि अटाइन्- अफर आउँदा आफैं ‘सरप्राइज्ड’

काठमाडौं । ‘पशुपतिप्रसाद २-भष्मे डन’ मा नदेखिने भनिएकी नायिका वर्षा सिवाकोटी चलचित्रमा पुनः ब्याक भएकी छन् । केही समयअघि राजधानीमा आयोजित ‘पशुपति प्रसाद २’को औपचारिक घोषणा कार्यक्रममा वर्षा नहुने बताइएको थियो ।

‘पशुपतिप्रसाद’को पहिलो संस्करणमा देखिएकी नायिका दोस्रो संस्करणमा गयल हुने भएपछि वर्षाले आफूलाई दुःख लागेको अभिव्यक्तिसमेत दिएकी थिइन् ।

चलचित्रमा आफ्नो प्रवेश आफैंलाई सरप्राइज भएको वर्षाको भनाइ छ । ‘मलाई नै सरप्राइज भएको छ । केही सरप्राइज छ है भनिरहनुभएको छ । के छ त्यो अहिलेसम्म मलाई पनि थाहा छैन’, उनले भनिन् ।

हाल डिभोर्सका कारण चर्चामा रहेकी नायिका सिवाकोटीले आफ्नो सम्बन्ध बिच्छेदबारे मिडियामा आएका प्रतिक्रियाबारे पनि आफ्नो धारणा राखेकी छन् । ‘कसैलाई केही भनिराख्नुपर्छ जस्तो नै लाग्दैन । आफ्नो व्यक्तिगत कुरा के हो भन्ने त आफैंलाई थाहा हुन्छ । मिडिया अनि दर्शकले त आ-आफ्नो धारणा राख्नुहुने न हो । त्यसैले केही भन्नु छैन’, उनले भनिन् ।

‘पशुपति प्रसाद २-भष्मे डन’ सात वर्षअघि सुपरहिट भएको चलचित्र ‘पशुपतिप्रसाद’ को दोस्रो संस्करण हो । ‘पशुपतिप्रसाद’ मा वर्षा छोटो रोलमा देखिएकी थिइन् । छोटो भूमिका भए पनि उनलाई दर्शकले रुचाएका थिए ।

सो चलचित्रमा नायक विपीन कार्कीले निभाएको भष्मे डनको पात्र चर्चित भएपछि दोस्रो संस्करणलाई ‘पशुपति प्रसाद २-भष्मे डन’ नाम दिइएको हो । दोस्रो स्रंस्करणमा भने नायिका स्वस्तिमा खड्का र नायक सौगात मल्लको इन्ट्री भएको छ ।

चलचित्रमा वर्षाको जोडीको रुपमा नायक तथा लेखक खगेन्द्र लामिछाने देखिने भएका छन् । चलचित्रका लेखक तथा निर्माता पनि उनी स्वयं नै हुन् । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘पशुपति प्रसाद २-भष्मे डन’को आज शुभमुर्हूत गरिएको छ ।

चलचित्र आगामी बडा दशैंको फूलपातीबाट प्रदर्शनमा आउने घोषणा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर