‘कर्णालीमा सरकार फेरबदल नहुन पनि सक्छ’ – Nepal Press
नेपाल टक

‘कर्णालीमा सरकार फेरबदल नहुन पनि सक्छ’

कर्णालीका कांग्रेस संसदीय नेता जीवनबहादुर शाही भन्छन्- मलाई मुख्यमन्त्री दिने भनेरै हुम्लामा माओवादीलाई संघ र प्रदेशको दुई सीट दिन बाध्य पारियो

सुर्खेत । कर्णाली प्रदेशमा सरकार परिवर्तन गर्नेबारे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा अन्योल छन् । तर केन्द्रीय समीकरणअनुसार प्रदेशमा पनि सरकार फरिने आकलन गरिएको छ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाली कांग्रेसले  विश्वासको दिन अस्वीकार गरेको थियो ।

कर्णालीमा तत्कालीन गठबन्धनको सहमतिअनुसार माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, हाल १० दलीय नयाँ गठबन्धन बनेसँगै कर्णालीमा के हुन्छ ? सबैको चासो छ । यसै विषयवस्तुमा रहेर नेपाल प्रेसकर्मी अप्सरा विष्टले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीसँग गरेको कुराकानीकाे सम्पादित अंशः

– केन्द्रमा त नयाँ गठबन्धन बनेर अघि बढेको छ । कर्णालीमा कस्तो सुरसार चल्दैछ ? 

राष्ट्रपति निर्वाचनको हकमा नयाँ गठबन्धन बन्यो । आज उपराष्ट्रपति निर्वाचन छ । त्यसपछि प्रदेश सरकारहरू कसरी जाने, गठबन्धन कसरी हुने अथवा पुरानो यथावत रहने हो या नयाँ हुने हो ? त्यो कुरामा छलफल हुन्छ । अहिले यस्तै हो भनेर भनिरहेको अवस्था भने छैन ।

– यो अवस्था कहिलेसम्ममा फेरबदल हुन्छ ?

अब सरकार फेरबदल नहुन पनि सक्छ । सामान्यतया संघीय व्यवस्थामा दल, केन्द्र र प्रदेशको आआफ्नो अधिकारको कुरा हुन्छ । अहिलेको व्यवस्थालाई संघीयता भन्ने या केन्द्र शासित संघीयता के भन्ने हो ? यद्यपि अहिले प्रदेशको विषयमा छलफल भएको छैन । संघमा पनि राष्ट्रपतिको सन्दर्भमा गठबन्धन भयो । तर सरकार परिवर्तन गर्ने र सरकारमा जाने कुराहरू अहिले भएको छैन । प्रदेशको सरकार परिवर्तन गर्न पहिला संघमा सरकारको व्यवस्थापन गर्नुपर्‍यो । त्यसपछि त्यही ढङ्गले प्रदेशमा अगाडि बढ्छ ।

– कणालीमा कांग्रेस पहिलो दल छ । मुख्यमन्त्रीमा तपाईंहरूको दावी स्वाभाविक होला, होइन र ? 

हिजो एक जना प्रत्यक्ष जितेको नेपाली कांग्रेस र समानुपातिक गरेर ६ सीट भएकोमा अहिले ९ जना प्रत्यक्षमा निर्वाचित छन् । हामी सबै गरेर १४ जना सांसद छौं । म २०७४ मा आउँदा संघको मन्त्री भइसकेको व्यक्ति थिएँ । त्यो बेला हामी कर्णाली बनाउन लाग्यौं । त्यसवेला सिनियर नेता कोही पनि कर्णाली आउन नमानेको हुँदा म राजीखुशी भएर यहाँ आएको हुँ ।

अहिलेको अवस्था भन्ने हो भने म हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्दछु । मेरो जिल्लामा कांग्रेस पहिलो पार्टी हुँदाहुँदै पनि हामीले नेकपा माओवादी केन्द्रलाई संघ र प्रदेशमा २ सीट दियौं । हामीले एक सीटमात्रै लिएको हो । शीर्ष नेताहरुले जीवनबहादुर शाही मुख्यमन्त्री हुने भएकाले हामीलाई दुई सीट चाहियो भने । त्यही बाध्यात्मक परिस्थितिले म यहाँ आएको हुँ । मेरो जिल्लामा त संघ र प्रदेशमा मेरो एकल नाम सिफारिस भएको हो । दुई वटा सीट हामीले पाउँछौं भन्ने थियो । पछि परिवर्तन भयो । त्यसले गर्दा स्वाभाविक हो ।

अब सरकार फेरबदल नहुन पनि सक्छ । सामान्यतया संघीय व्यवस्थामा दल, केन्द्र र प्रदेशको आआफ्नो अधिकारको कुरा हुन्छ । अहिलेको व्यवस्थालाई संघीयता भन्ने या केन्द्र शासित संघीयता के भन्ने हो ?

तर पनि राज्य संयन्त्रको कुरा छ । राज्यको गठबन्धनको कुरा छ । अहिले नयाँ गठबन्धन बनिरहेको छ । अब त मुख्यमन्त्री हुन्छु भनेरै यहाँ आएको हुँ । मैले प्लानिङ गरेका कुराहरू अगाडि बढाउँला, अबको ५ वर्षसम्म केही न केही कर्णालीमा परिवर्तन होला भन्ने सोचले आएको हँु । त्यो दाबी नहोला भन्ने त भएन । तर, प्रदेशलाई स्वतन्त्र रूपले छोडेको भए त आफ्नो दाबी आफैंले गर्ने कुरा हुन्थ्यो । तर, हामी अहिले पनि केन्द्र शासित नै छौं ।

– यसको मतलब मुख्यमन्त्रीमा तपाईंको फेरि दाबी रहनेछ नै ? 

दाबी भएर त यहाँ आइयो । यहाँ आएर मैले पाउनुपर्छ भन्ने कुरा हैन । यदि गठबन्धनले तपाईं मुख्यमन्त्री हुनुपर्छ भन्यो भने मैले खुट्टा कमाएर हुन्न । मैले आफूले दाबी गर्नुभन्दा पनि दुइटै दलले आवश्यक सम्झिनुभयो भने त्यो जिम्मेवारी लिएर कर्णालीलाई अगाडि बढाउन म तयार छु ।

– तर, यहाँ त माओवादी र एमालेले आलोपालोको सहमति गरेका छन् नि ? माओवादी आउला त तपाईंहरूसँग ?

उहाँहरू सँगै जाओस्, आलोपालो गरोस् । हामी प्रमुख प्रतिपक्षी दलकै भूमिकामा बस्छौं । उहाँहरू मिल्नुपर्‍यो, राम्रो काम गरी दिनुपर्‍यो । करिब करिब २ महिना भइसक्यो । सरकार चल्न सकिरहेको छैन । यस्तो कुरा नहोस् भन्ने हो । मुख्य कुरा को सरकारमा छ, को छैन भन्ने कुरा होइन । मुख्यमन्त्री हुने मेरो कुनै रहर पनि होइन । म दोस्रो पटक भए पनि पूर्वमुख्यमन्त्री नै हो । एक पटक भए पनि पूर्वमुख्यमन्त्री भन्ने हो ।

सिस्टममा हिँडाउन लागिएको थियो जस्तो लाग्थ्यो । सारा कर्णालीवासीले पनि बुझ्नुभएको थियो । यसलाई फुलफिल गर्न सकिन्थ्यो र  केही परिवर्तन गर्न सकिन्थ्यो कि भन्ने कुरा हो । त्यस्तो ठूलो अपेक्षा केही होइन । आलोपालो गरोस्, राम्रो गरोस् । म त उहाँहरूलाई शुभकामना नै दिन्छु । तर, नेकपा एमाले हामी बस्दैनौं, हामी जान्छौं भन्ने कुरा आयो भने कांग्रेसको सपोर्ट मागे भने त्यो बेला विचार गर्ने छँदैछ ।

– कतिपय नेताहरूले स्थानीय सापेक्षतामा चल्ने कुरा पनि चलाइरहेका छन् । कर्णालीको मात्र छुट्टै तालमेलको सम्भावना कतिको देख्नुहुन्छ ?

अहिलेको अवस्थामा त्यस्तो देखिएको छैन । म स्थानीय सापेक्षतामा चल्नुपर्छ भन्ने मान्यता राख्छु । संसदीय व्यवस्था भइसकेपछि विपक्षी नभइकन कहाँ हुन्छ ? यो त गलत कुरा हो । हामीले सरकार ढल्न लाग्यो, अवस्था नाजुक आयो र फेरि मध्यावधि निर्वाचन गर्नुपर्ने अवस्था आयो भने विश्वासको मत दिने भनेका थियौं । होइन भने मत पुगेको छ । सबैले दिनुपर्छ भन्ने होइन । केन्द्रमा पार्टीले जुन निर्णय गर्‍यो त्यसको विपरीत हामीले निर्णय गरेकै हो नि !

मेरो जिल्लामा कांग्रेस पहिलो पार्टी हुँदाहुँदै पनि हामीले नेकपा माओवादी केन्द्रलाई संघ र प्रदेशमा २ सीट दियौं । हामीले एक सीटमात्रै लिएको हो । शीर्ष नेताहरुले जीवनबहादुर शाही मुख्यमन्त्री हुने भएकाले हामीलाई दुई सीट चाहियो भने । त्यही बाध्यात्मक परिस्थितिले म यहाँ आएको हुँ ।

विश्वासको मत लिन २१ जनाले पुग्ने ठाउँमा २६ जना पुग्यो ।  हामी नहुँदा पनि केही बिग्रँदैन थियो । हामी मुख्य प्रतिपक्षी हौं, प्रतिपक्षमै बस्छौं भनेर हामीले त्यो गरेर देखायौं । मैले सीधै भनेको थिएँ, त्यो आँट भएका मान्छेहरू होला जस्तो मलाई लाग्दैन । नेकपा माओवादीले के भन्छ उहाँहरू पनि त्यही नै हुन्छ होला । स्थानीय सापेक्षताअनुसार मेरो भनाइ के हो भने उहाँहरू सँगै गयो भने झनै राम्रो कुरा हो । तर, अब उहाँहरु बस्न सक्नुभएन भने सोच्नुपर्‍यो नि !

– नेकपा माओवादीको सरकारलाई विश्वास मत दिनुभएन । त्यसले गर्दा अहिले केही अप्ठ्यारो भएको हो त ? 

नेकपा एमाले बाहिरिएपछि कांग्रेसको सहयोग चाहिन्छ होला नि त ? यदि नेकपा एमाले बाहिरियो भने उहाँको विश्वासको मत पुग्छ ? त्यसकारण हामीले त्यो बेला के भनेका थियौं भने तपाईंहरुलाई पुगेको छ, हामी प्रतिपक्ष हो । हामी अहिले पनि प्रतिपक्षमा बस्न तयार छौं । सरकारमा जाने हो भने ठूलो दलको नेतृत्व जानुपर्‍यो नि होइन ? उहाँले मन दुःखाउनु नै पर्दैन ।

उहाँहरू मिलेर सरकार राम्रो चलाओस् । तर अहिले कर्णाली रोग भोकबाट पछाडि परेको भन्ने आरोप छ । उहाँहरूका शब्द नै छन् हामी मूर्ति कुद्छौं । कुद्नुस् । म खुशी नै छु । कुनै अन्टसन्ट गरेर सरकार ढालेर अगाडि जाने भन्ने कुरै छैन । राम्रो होस् शुभकामना छ भनेको छु । उहाँलाई भोलि मुख्यमन्त्री हुनुपर्‍यो नेकपा एमालेले साथ दिएन भनेपछि हाम्रो साथ चाहिने होला नि ! त्यसैले राजनीतिमा हाम्रो मन कति कुँडियो होला ?

उहाँहरू सँगै जाओस्, आलोपालो गरोस् । हामी प्रमुख प्रतिपक्षी दलकै भूमिकामा बस्छौं । उहाँहरू मिल्नुपर्‍यो, राम्रो काम गरी दिनुपर्‍यो । करिब करिब २ महिना भइसक्यो । सरकार चल्न सकिरहेको छैन ।

हिजो नेकपा माओवादीका उम्मेदवारलाई जिताउनका दुःखका साथ लागियो । यहाँ आइसकेपछि कहीं न कहीं बेइमानी भयो । निर्वाचनभन्दा अगाडि माओवादी र कांग्रेसको गठबन्धन होइन ? गठबन्धनले हामी १० वर्षसम्म जान्छौं भनेको होइन र ? उहाँ स्थानीय सापेक्षता गर्न सक्छु भन्ने मान्छे, होइन तपाईं र हामी हुनसक्छौं भन्न सक्नु भएन त ! हामीले विश्वासको मत दिएर उहाँ फेल भएको भए, स्वाभाविक मान्नुहुन्थ्यो । कांग्रेसले देख्न चाहेको कर्णालीको प्रगति होस्, उन्नति होस् । हिजो हामीले के गरेका थियौं, त्यो भन्दा राम्रो होस् । शुभकामना दिने विपक्षी नेता उहाँहरूले कहाँ पाउनुहुन्छ ?

– सरकारमा सहभागी हुँदा तपाईंहरूको दाबी कुन कुन मन्त्रालय रहन्छ त ?

अहिले हाम्रो कुनै दाबी छैन । उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि माथि के छलफल हुन्छ र माथि कसरी जाने निर्णय हुन्छ त्यो परिस्थितिअनुसार हाम्रो दाबी के हो हुने ? त्यै बेला कुरा गरौंला । अहिले हाम्रो कल्पनाको कुरामात्रै हो । उहाँहरूको सोच के हो ? त्यहीअनुसार जाओस भन्ने छ ।

– सरकार यसरी २-२ महिनामा फेरबदल भइरहने, कुर्सीको खेल भइरहने हो भने जनताले राहत चाहिँ कहिले पाउने ?

पाउँदैनन् । यसरी २-२ महिनामा खेल खेलिनु हुँदैन । २-२ महिनामा मन्त्री फेरिनु हुँदैन । जनताको कुरामात्रै होइन, हामीले हाम्रो प्रदेशलाई कसरी बनाउन सक्छौं ? त्यतातिर उहाँहरूको सद्बुद्वि आओस्, मिलेर जाओस्, राम्रो गरोस् । तर, आज एउटा हुने, भोलि फेरि अर्को गठबन्धन हुने, पर्सि अर्को भनेर जानु भनेको लज्जास्पद हुन जान्छ । यो अहिले परिवर्तन हुने हो भने पनि समयमै परिवर्तन गरेर लामो समयसम्म नै जानुपर्छ । नेपाली जनता र कर्णालीवासीप्रति अन्याय हुन्छ । जनतामा नेताप्रति वितृष्णा हुने भनेको नेताले बोलेका कुरा पुरा नगर्नाले हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर