कर्मचारीलाई मन्त्री मोदीको निर्देशन- केही न केही सुधार्नु छ, सकारात्मक सोचले अघि बढ्नुस् – Nepal Press

कर्मचारीलाई मन्त्री मोदीको निर्देशन- केही न केही सुधार्नु छ, सकारात्मक सोचले अघि बढ्नुस्

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सकारात्मक दृष्ट्रिकोण र सोच राखेर काम गर्न सहसचिवलाई निर्देशन दिएका छन् । नेपाल सरकारका सहसचिवका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको ४४ औँ वरिष्ठ कार्यकारी विकास तालिमको दीक्षित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो निर्देशन दिएका हुन् ।

सकारात्मक दृष्ट्रिकोण र सोच राखेर कार्यसम्पादन गर्दा परिणाम निस्किने बताउँदै मन्त्री मोदीले भने, ‘मुल रुपमा अहिले निजामती कर्मचारीहरुले सकारात्मक सोच र दृष्ट्रिकोण राखेर काम गर्नुपर्ने अवस्था छ ।’ मन्त्री मोदीले प्रविधिको उच्चतम विकासलाई ख्याल गरेर कार्यसम्पादनमा सुधार गर्न समेत निर्देशन दिए । समयअनुसारको निर्णय र आचरणमा सुधार गर्नुपर्ने पनि मन्त्री मोदीको भनाई थियो ।

व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न पनि मन्त्री मोदीले निर्देशन दिए । ‘केही न केही परिवर्तन गर्नैपर्ने छ, तपाईहरुले पनि नयाँ पुस्ताले सिक्न सक्ने कामहरु गर्न मेरो सुझाव छ, हामीबाट केही न केही सुधार गर्नुपर्ने भएकाले व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न म विशेष निर्देशन दिन चाहन्छु ।’

कर्मचारीहरुमाथि सेवाग्राहीको सकारात्मक दृष्ट्रिकोण नरहेकाले उनीहरुको दृष्ट्रिकोण बदल्ने गरी काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो ।

‘कर्मचारीहरुमाथि सेवाग्राहीको आक्रोश मात्रै छ, समयमा काम भएन ? सरल ढंगमा सेवा प्रवाह भएन, भन्नेजस्ता गुनासा प्रशस्तै सुनिन्छन्, यस्तो किन भइरहेको छ ? यस्ता गुनासा सदाको लागि अन्त्य हुनेगरी कार्यसम्पादन गर्ने जिम्मेवारी तपाइहरुको हो ? मन्त्री मोदीले भने । उनले सरुवामा व्यवस्थित प्रणालीको जरुरी भएकाले आफ्नो पालामा व्यवस्थित सरुवा प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

मुख्यसचिव शंकरदास बैरागीले मुलुक बदलिँदो परिवेशमा रहेको बताउँदै देशभित्र र बाहिरका असल अभ्यासबाट सिकेर काम गर्नुपर्ने बताए । सरकारको नीति तथा कार्यक्रमलाई घरदैलोमा पुर्याउने काम कर्मचारीहरुको भएकाले जनतामा खस्किँदो दृष्टिकोणलाई बदल्ने चुनौती रहेको बताए । कार्यकारी निर्देशक डा. राजन खनालले आआफ्नो कार्यक्षेत्रमा अब्बलता सावित गर्न निर्देशन दिए ।

भदौ २३ गतेबाट सुरु भएको तालिमको बिहीबार समापन भएको हो । तालिमबाट २५ जना सहसचिव दीक्षित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर