तनहुँ १ मा एमालेबाट को-को छन् सम्भावित उम्मेदवारहरु ? – Nepal Press

तनहुँ १ मा एमालेबाट को-को छन् सम्भावित उम्मेदवारहरु ?

पोखरा । गत मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उनको निर्वाचिन क्षेत्र रिक्त जनप्रतिनिधिविहीन भएको छ । रिक्त तनहुँ १ मा अब उपनिर्वाचन हुनेछ । उपनिर्वाचन कहिले हुन्छ ? टुंगो नलागिसकेको भएपनि उक्त क्षेत्रमा चुनावी चर्चा सुरु भएको छ ।

सो क्षेत्रमा चुनाव लड्न नेताहरुले लबिइङ सुरु गरिसकेका छन् । नेपाली कांग्रेसमा कृष्णप्रसाद सिटौलालाई झापाबाट तनहुँ ल्याउने चर्चा चलिरहँदा नेकपा एमालेबाट पनि पूर्व आईजीपीदेखि गत मंसिरमा पराजित उम्मेदवारसम्मलाई सम्भावित उम्मेदवारको रुपमा हेरिन थालेको छ ।

गत निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित एकबहादुर राना मुख्य दावेदार देखिन्छन् । गत मंसिरको निर्वाचनसहित ४ पटक पराजित राना पनि टिकटको लाइनमा छन् । ‘रानाप्रति अध्यक्षज्यूको सहानभूति छ, त्यसैले उहाँको सम्भावना अलि बढी छ,’ एमालेनिकट स्रोतले भन्यो ।

एकबहादुर रानाले भने आफू हुनैपर्छ भन्ने नभएपनि पार्टीले निर्णय गरे निर्वाचन लड्न तयार रहेको प्रतिक्रिया दिए । ‘मैले पहिले पनि आकांक्षा व्यक्त गरेको थिएन, अहिले पनि म नै हुनुपर्छ भन्नेमा छैन, पार्टीले निर्णय गरे म निर्वाचन लड्न तयार छु,’ रानाले भने ।

गत निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका सर्वेन्द्र खनाल गृहजिल्ला फर्किन चाहेका कतिपय नेता बताउँछन् । एमालेनिकटका अनुसार उपनिर्वाचनमा खनाल पनि टिकट पाउने सम्भावितमध्ये एक हुन् ।

‘उनलाई अघिल्लो निर्वाचनमा तनहुँबाट लड्न भनिएको थियो । तनहुँमा लडेको भए जित्थे पनि । तर, उनी अन्तिम समयमा काठमाडौं रोज्दिए, त्यसकारण अस्ति भर्खरै हारेका छन्, संगठन केही छैन । त्यो कारणले के गर्ने भन्ने कुरा फिक्स छैन,’ स्रोतले भन्यो ।

सर्वेन्द्रले भने पार्टीले टिकट दिए चुनाव लड्न तयार रहेको प्रतिक्रिया दिए । ‘मैले मात्रै भनेर पनि भएन, पार्टीले टिकट दिए म चुनाव लड्न तयार छु,’ उनले भने । सर्वेन्द्र गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनालले ०७६ फागुन १ गते अवकास लिएका थिए । अवकासको केही समयपछि उनी राजनीतिमा लागेका हुन् ।

किरण गुरूङ, रामबहादुर गुरूङ र पूर्णबहादुर गुरुङ पनि सम्भावित उम्मेदवार देखिएका छन् । तिनैजना गत निर्वाचनमा पराजित उम्मेदवार हुन् । किरण तनहुँ २, रामबहादुर तनहुँ १ ‘१’ र पूर्णबहादुर २ ‘१’ बाट पराजित भएका थिए । रामबहादुर एक कार्यकाल गण्डकी प्रदेश सभा सदस्य भइसकेका छन् ।

‘किरण पराजित भएका हुन् तर पार्टीका ठूला नेता हुन् । उनको सम्भावना पनि छैन भन्ने होइन,’ एमालेका एक नेताले भने, ‘रामबहादुर पनि अध्यक्षज्युको नजिकको मान्छे हो । उहाँको पनि उत्तिकै सम्भावना छ ।’ किरणले भने पार्टीमा छलफलपछि नै कसले टिकट पाउने थाहा हुने बताए ।

‘पार्टीमा छलफल भएको छैन, हामी पार्टीमा छलफल गर्छाैं, त्यसपछि कसले टिकट पाउने टुंगो लाग्छ,’ उनले भने ।

अर्काे उम्मेदवारको सम्भावना रहेका पूर्णबहादुर केही समयअघि मात्रै एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेर प्रदेश सभा सदस्य टिकट पाएका गुरुङ गत मंसिरमा भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका थिए । पार्टीका एक नेताले भने, ‘भर्खरै पार्टीमा प्रवेश गरेका पूर्णबहादुर पार्टीमा घुलमिल नभसकेकाले थोरै मतले पराजित भए । उनको पनि सम्भावना छ ।’

निर्णय नहुँदासम्म कसले टिकट पाउँछ भन्न नसकिने एमाले प्रदेश कमिटी सदस्य विष्णु भक्त सिग्देल बताउँछन् । ‘आकांक्षी चाहिँ धेरै नै हुनुहुन्छ, छलफल चलाउँदैछौं, निर्णय नहुँदासम्म भन्न सक्ने स्थिति छैन,’ सिग्देलले भने, ‘चुनावको तयारी गर्दैछौं, गत चुनावमा थोरै मतले एमाले गठबन्धनसँग पराजित भएको हो, तर, अबको चुनाव जितिन्छ भन्ने निष्कर्ष छ हाम्रो पार्टीको ।’

एमालेको राजनीतिक स्थिति बलियो भएकाले उपनिर्वाचनमा उक्त क्षेत्रमा एमालेले जित्ने प्रदेश कमिटी सदस्य सिग्देलले दाबी गरे ।

‘प्रधानमन्त्रीका लागि भनेर प्रचण्ड र रामचन्द्रले मत पाएको कारण अलिअलि मत थप प्लस भएको थियो, उहाँ प्रधानमन्त्रीको साटो राष्ट्रपति भइसक्नुभो, अब हुने मान्छे प्रधानमन्त्री हुँदैन भन्ने कुरा निश्चित भयो,’ उनले भने, ‘अर्काे कुरा एमालेको राजनीतिक स्थिति पहिलोभन्दा बलियो भएको कारण एमालेले चुनाव जित्छ भन्ने कुरा छ ।’

गत मंसिरको निर्वाचनमा रामचन्द्र पौडेलले २५ हजार ३६१ मतसहित विजय हासिल गर्दा एकबहादुर रानाले १९ हजार ९९१ मत ल्याएका थिए भने गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर