आसिफ खानको आँधीबाट जोगिँदै नेपालले काट्यो जिम्वाबेको टिकट, चार ब्याट्सम्यानको अर्धशतक – Nepal Press

आसिफ खानको आँधीबाट जोगिँदै नेपालले काट्यो जिम्वाबेको टिकट, चार ब्याट्सम्यानको अर्धशतक

काठमाडौं । नेपालले विश्वकप लिग २ मा अभूतपूर्व प्रदर्शन गर्दैं जिम्वाबेमा हुने विश्वकप लिग २ क्वालिफायर्समा स्थान बनाएको छ । लिग २ मा नेपालको कुनै ‘रोमाञ्चकारी परिकथा’ भन्दा कम छैन ।

एक महिना मात्रै अगाडि फर्केर हेर्ने हो भने नेपालले विश्वकप क्वालिफायरमा पुग्ने कुनै सम्भावना देखिएको थिएन । त्यसका लागि बाँकी १२ खेलमा ११ खेल जित्नुपर्ने थियो, जुन एउटा औसत स्तरको टीमका लागि असम्भव झैं प्रतित हुन्थ्यो । तर, नेपाली खेलाडीहरुले लडाकु शैलीमा खेल्दै असम्भवलाई सम्भव तुल्याइदिएका छन् ।

गत फेबु्रअरीमा घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलादेखि नेपालको भाग्य फेरिएको हो । यो श्रृंखलामा नेपालले चारवटै म्याच जितेर क्लीन स्वीप गरेको थियो । त्यसलगत्तै यूएईमा भएको अर्को त्रिकोणात्मक श्रृंखलामा नेपालले चारमध्ये तीन म्याच जित्यो । त्यसपछि नेपाललाई बाँकी चार खेलमा सतप्रतिशत जित चाहिएको थियो ।

घरेलु मैदानमा यूएई र पपुवा न्यूगिनीसँग भएको श्रृंखलामा नेपालले शतप्रतिशत जित निकाल्न सफल भयो । यसअघि तीन म्याचमा सहज जित हासिल गरेको नेपालले आज यूएईलाई बहादुरीपूर्वक पराजित गरेको हो ।

यूएईले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले अहिलेसम्म एक दिवसीयमा ३०० रन कटाएको छैन । त्यसैले नेपाल दोस्रो इनिङमा ब्याटिङ गर्न नआउँदै समर्थकहरु निराश भइसकेका थिए ।

नेपालको सुरुवात खराब रह्यो । पहिलो र दोस्रो ओभरमा दुई विकेट गुमाएको नेपालले क्राइसिसम्यानका रुपमा रहेका कप्तान रोहित कुमार पौडेललाई पनि चाँडै गुमाउन पुग्यो । तर, अर्को इन्डबाट कुशल भुर्तेलले ब्लाइन्डर इनिङ खेले । अर्को इन्डमा लगातार विकेट खसिरहँदा कुशलले यूएईमा बलरहरुमाथि कडा काउन्टर अट्याक गरे । ३० बलमा अर्धशतक लगाउँदै उनले नेपालको आशा जीवित तुल्याएका थिए ।

कुशललाई साथ दिए भिम सार्कीले । यो जोडीबीच ६१ रनको साझेदारी भयो, जसले नेपालको आशा जगायो । तर, कुशल आउट भएपछि खेलमा फेरि यूएई हावी भयो । भीम सार्कीलाई साथ दिन आरिफ शेख आए । यो जोडीबीच अर्को महत्वपूर्ण साझेदारी भयो, जसले नेपाललाई खेल नेपालको पकडबाहिर जान दिएन ।

६७ रनमा भिम आउट भएपछि नेपाललाई ठूलो झट्का लाग्यो । पाँचौं विकेटका रुपमा भिमलाई गुमाउँदा नेपालले १६१ रन बनाएको थियो र जितका लागि १५० रन चाहिएको थियो । दिपेन्द्र सिंह ऐरीलाई पछाडि राखेर नेपालले सातौं नम्बरमा १७ वर्षीय युवा ब्याट्सम्यान गुल्शन झालाई क्रिजमा पठायो । गुल्शनले आफूलाई दिइएको जिम्मेवारीमा खरो उत्रिए । उनले नेपाललाई जितसम्म डोहोर्याए ।

आजको खेलमा नेपालका चार ब्याट्सम्यानले अर्धशतक बनाएका छन् । सम्भवत नेपालका लागि यो पहिलो रेकर्ड हुन सक्छ ।

त्यो टर्निङ प्वाइन्ट

दिउँसैदेखि मौसम बदलि भएको हुँदा कुनै पनि बेला खेल रोकिन सक्ने सम्भावना थियो । नेपालले २० ओभर ब्याटिङ गरिसकेपछि खेल रोकिएको खण्डमा डीएल मेथडका आधारमा निर्णय हुन्थ्यो । २० देखि ४० ओभरसम्मको खेलमा डीएल मेथडमा यूएई अगाडि थियो । खेलको ४१ औं ओभरमा निर्णायक ट्वीस्ट आयो ।

यूएईका कप्तान मुहम्मद वसिम आफैं बलिङमा उत्रिए । त्यतिबेलासम्म क्रिजमा गुल्शनले खासै हात खेल्न सकिरहेका थिएनन् । तर, पार्ट टाइम बलर वसिमलाई गुल्शनले आफ्नो निशाना बनाए ।

४१ ओभरको अन्तिम चार बलमा गुल्शनले लगातार चार बाउन्ड्री निकाले । तेस्रो बलमा छक्का हानेका उनले त्यसपछिका तीन बलमा लगातार चौका लगाएका थिए । यही ओभर नेपालका लागि निर्णायक बन्यो । नेपाल डीएल मेथडमा यूएईभन्दा अगाडि बढ्यो ।

त्यसो त आजको खेल छिट्टै सकिनुमा यूएई आफैं पनि जिम्मवार छ । डीएल मेथडमा आफू अगाडि रहँदासम्म यूएईका खेलाडीहरुले आलटाल गर्दै समय कटाउने विभिन्न बहाना गरेका थिए ।

५ः३० बजेसम्म खेल सक्नुपर्ने थियो तर यूएईका खेलाडीको ढिलासुस्तीले खेल लम्बियो । यो अवस्थामा प्रकाशले पनि साथ दिइरहेको थिएन । कुनै पनि क्षण अम्पायरले खेल रोक्न सक्थे र त्यही भयो । खेल रोकिँदा नेपाल डीएल मेथडअनुसार ९ रनले अगाडि थियो ।

आसिफको आँधी

नेपालले यूएईविरुद्ध बलिङमा खराब प्रदर्शन गरेको थियो । खासगरी डेथ ओभरमा नेपालको बलिङलाई युएईका आसिफ खानले धज्जी उडाइदिए । अविश्वसनीय रुपमा ४० बलमै शतक पूरा गरेका आसिफको ब्याटिङ आँधीभन्दा कम थिएन ।

उनले पछिल्ला १९ बलमा ११ छक्काहित ७८ रन जोडका थिए । नेपालका स्टार बलर सन्दीप लामिछानेलाई खानले लगातार चार छक्का हिर्काउँदा त्रिवि मैदानमा खचाखच दर्शकमा स्तब्धता छाएको थियो ।

आसिफको आँधीले आज नेपालको सपना बढार्ला जस्तो देखिएको थियो । तर, आज ब्याटिङले नेपाललाई जोगायो । घरेलु मैदानमा नेपाल फेरि एकपटक ‘बाघ’ सावित भएको छ । कुनै समय नेपालका लागि हाउगुजीका रुपमा रहेको यूएई अब नेपाललाई हाउगुजी मान्नुपर्ने अवस्थामा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर