गठबन्धनमा नेकपा एसको अडान- सबै छाडिसक्यौं, रोजेकै चार मन्त्रालय चाहिन्छ – Nepal Press

गठबन्धनमा नेकपा एसको अडान- सबै छाडिसक्यौं, रोजेकै चार मन्त्रालय चाहिन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिनेगरी गृहकार्य थालेका छन् । चैत ६ गते विश्वासको मत लिएलगत्तै प्रचण्डले सरकारलाई पूर्णता दिनेगरी आन्तरिक रुपमा शीर्ष तहमा छलफल गरिरहेका छन् ।

अहिले सत्ता गठबन्धनमा १० दल छन् । गठबन्धनमा सामेल भएका कति मन्त्रालय सरकारमा जान्छन् भन्ने कुरा अहिल्यै टुंगिएको छैन । तर, सरकारमा सहभागी हुँदा माधव नेपाल नेतृत्वको नेकपा एसले चार मन्त्रालयको दाबी गर्ने भएको छ ।

अब गठबन्धनमा दाबी गर्ने पहिलो पालो आफूहरूकै भएका नेकपा एसका नेता प्रकाश ज्वालाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख सबै छाडिसक्यौं । हामीले कडै दाबी गर्छौँ । अब कति मन्त्रालय दाबी गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौं ।’

अहिलेसम्म गठबन्धनभित्र मन्त्रालयका भागबन्डाको विषयमा छलफलले प्रवेश नपाएको उनले बताए ।

‘पहिला राष्ट्रपतिको निर्वाचनमा केन्द्रित थियौं । अब उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । अनिमात्रै भागबन्डाको विषयमा प्रवेश गर्छौं’, उनले भने, ‘मन्त्रालयको भागबन्डामा सहमति भइसकेपछि मात्रै हामी सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढ्छ ।’

अर्का एक नेताले कम्तीमा महत्वपूर्ण आफूहरूले रोजेकै मन्त्रालय पाउनुपर्ने बताए ।

ती नेताले भने, ‘पहिला छलफलमा हामीलाई चार मन्त्रालयको कुरा भएको थियो । अहिले पनि त्यही अडानमै छौं । तर, अब गठबन्धनमा रहेका कति पार्टीहरू सरकारमा जान्छन् । त्यसमा पछि भर पर्छ ।’

गृह, अर्थ, भौतिक, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयमा आफूहरूको पहिलो प्राथकिता रहने उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “गठबन्धनमा नेकपा एसको अडान- सबै छाडिसक्यौं, रोजेकै चार मन्त्रालय चाहिन्छ

  1. एस पार्टीले मागे अनुसार मन्त्रालय दिनुपर्छ। पार्टी पनि बनाइदिएकै हौ। अब पोषण युक्त खाना खुवाएर पाल। माकु नेपालको इच्छा पुर्‍याउन पर्‍यो। पैसा पाउन पर्‍यो। बेदुराम भन्ने लाई मन्त्री दिनु पर्‍यो। यिनको खुबी पनि देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर