महिला कर्मचारीलाई एक महिने प्रसूति तयारी बिदा दिन कर्मचारी संगठनको माग – Nepal Press

महिला कर्मचारीलाई एक महिने प्रसूति तयारी बिदा दिन कर्मचारी संगठनको माग

काठमाडौँ । नेकपा एसको कर्मचारी संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालले सरकारी कर्मचारी महिलाहरूलाई प्रसूति तयारीको एक महिने बिदाको माग गरेको छ ।

अहिले सरकारले दिँदै आएको बिदामा त्यो बिदा अतिरिक्त हुनुपर्ने संगठनले माग गरेको छ ।

कार्यालयमा स्तनपान कक्षको उचित प्रबन्ध गर्न तथा टेस्ट ट्युब बच्चा जन्माउने आमाहरूलाई लामो समय निगरानीमा हुँदा तलबी बिदाको व्यवस्था गर्न समेत संगठनले माग गरेको छ ।

अस्थायी–करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोड्न माग गरेको छ । संगठनको फागुन २६ र २७ मा सम्पन्न भएको प्रथम केन्द्रीय अधिवेशनपछि चयन भएका महासचिव प्रकाश राईले एक सार्वजनिक अपिल गर्दै यस्तो माग गरेका हुन् ।

हुलाकमा कार्यरत करारका कर्मचारीलाई विभेद नगर्न पनि संगठनले माग गरेको छ भने सरकारी कर्मचारीलाई स्थायी सेवाबाट मात्रै चलाउन पनि माग गरिएको छ ।

कर्मचारी समायोजनले कर्मचारीहरू संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको भन्दै सबैलाई समेट्न एकीकृत संगठन संरचनाको व्यवस्था, संघीय निजामती सेवा ऐनको व्यवस्था, वैज्ञानिक सरुवा प्रणाली सञ्चालन देखी क्षतिपूर्ति सहितको सार्वजनिक सेवाको माग समेत संगठनले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *