रिसर्चमा अब्बल विष्ट त्रिवि केन्द्रीय क्याम्पसका सभापति उम्मेदवार, स्ववियुलाई खोज केन्द्र बनाउने योजना – Nepal Press

रिसर्चमा अब्बल विष्ट त्रिवि केन्द्रीय क्याम्पसका सभापति उम्मेदवार, स्ववियुलाई खोज केन्द्र बनाउने योजना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार प्रकाश विष्टले अबको स्ववियुलाई खोज केन्द्र बनाउने बताएका छन् ।

अनेरास्ववियुका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहेका विष्टले स्ववियुलाई खोज केन्द्र बनाउनै पर्ने बाध्यता र आवश्यकता दुवै भएको बताए ।

‘स्ववियु भन्नासाथ विद्यार्थी राजनीतिको वैधानिक थलो भन्ने सबैको बुझाइ छ । र, विद्यार्थी राजनीतिमा खोज अनुसन्धानका कामहरूलाई भन्दा सडक आन्दोलनका मुद्दा आउने धेरैको बुझाइ छ’, नेपाल प्रेससँग बोल्दै बिस्टले भने, ‘विश्व बजारमा प्रतिस्पर्धा गर्न र विश्वको अनुसन्धानको लय समातेर विद्यार्थी राजनीति र विश्वविद्यालयको इज्जत दुवै जोगाउन खोज अनुसन्धानका कामहरू आवश्यक छन् ।’

त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र कानुनका विद्यार्थी विष्ट रिसर्चमा अब्बल छन् । मलेसिया, दुबई, थाइल्याण्ड, सिंगापुर, इन्डोनेशियादेखि फिलिपिन्ससम्ममा यात्रा गरेका विष्टले विभिन्न देशका रिसर्च जर्नलहरुमा आफ्नो बौद्धिक उपस्थिति देखाइसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयका नियमित विद्यार्थी तथा चीनको सिचुआन विश्वविद्यालयको इन्टिट्युट अफ साउथ एसियन स्टडीजमा एक्सचेन्ज स्टुडेन्टका रूपमा अध्ययन गरेका छन् ।

विष्टले स्ववियुलाई नयाँ ढंगले लानको लागी नै आफ्नो उम्मेदवारी सभापतिमा भएको बताए । बदलिँदो विद्यार्थी राजनीति र बदलिँदो विश्वविद्यालयको स्वरूपमा आफ्नो उम्मेदवारी धेरै अर्थ राख्ने विष्टले बताए ।

उनले भने, ‘हाम्रो सिंगो टीम यसमा सक्षम र सबल छ ।’ विष्टको प्यानलबाट सचिवमा सिद्धान्त भट्ट, कोषाध्यक्षमा जनकराज कार्की छन् । सन्चमान सुब्बा, रचना अधिकारी, दिनेश कुमार सिंह, पुरन खरेल, चेतनारायण गिरी, शिखर राई, सिकेन्द्र रोकाया, हिकमत बुढा सदस्यका उम्मेदवार रहेका छन् ।

समानुपातिक तर्फबाट भने अर्जुन रेग्मी, सुदर्शन गौतम, राम सिंह नायक, विष्णु बस्याल, सुरेन्द्र शाही, प्रज्जवल खत्री, कल्पना खतिवडा, सागर पाण्डे, विकास पटेल, बालकृष्ण ओली, टंक प्रसाद कँडेल, सृष्टि भट्टराई, सफल चापागाइँ, दीपक सिंह ठकुरी, विवेक जिसी र संगम थापाहरू विष्टको प्यानमा छन् ।

शिव रात्रीको अघिल्लो दिन सेनाले सार्वजनिक गरेको सामरिक रिसर्च जर्नलको चौथौँ संस्करणमा विष्ट प्रथम भएका थिए । नेपाली सेनाको २६० औँ वर्षगाँठको अवसरमा सार्वजनिक भएको जर्नलमा १९२ जनाले सहभागिता जनाएका थिए ।

विष्टले सबैलाई उछिन्दै प्रथम भएर दुई लाख नगद, प्रमाणपत्र र मेडल प्रधानसेनापति प्रभुराम शर्माबाट पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर