पुरुषलाई रुन दिऔं ! – Nepal Press

पुरुषलाई रुन दिऔं !

कतारमा विश्वकप फुटबल चलिरहेको थियो । खेल नहेरे पनि प्रतिभावान खेलाडी स्वारेज रोएको सामाजिक सञ्जालभरि भाइरल फोटो र भिडियो सायद कसैले हेर्न छुटाउनुभएन होला । खेलाडीको बेन्चमा बसेर खेल हेरिरहेका उनी उरुग्वेको आफ्नो टीम समूह चरणबाटै बाहिरिएपछि घुक्कघुक्क रोएको कारुणिक दृश्य थियो त्यो । स्वारेज रोएको समाचार विश्वकपको धेरै हेरिएको समाचारमध्येएक हो । स्वारेजमात्र होइन, यसैपटक खेल जीवनबाट अवकाश लिन रोनाल्डो र अर्का खेलाडी नेइमार पनि आफ्नो टीमलाई फाइनलमा पुर्‍याउन नसकेकाले फुटबल मैदानमै रोएका थिए । जुन समाचार जीतहारको समाचारभन्दा धेरै फैलिएको थियो । उनीहरुको रुवाइमा प्रतिक्रिया दिने धेरैले केटी जस्तो रोएको सुहाएन भनेर खिज्याएका थिए । कसैले ‘हार्दैमा इज्जत नफाल’ भनेका थिए भने कतिले त ‘रुँदा खेलाडी जस्तो लागेन’ सम्म भन्न भ्याएका थिए ।

केटा मान्छे रुँदा हाँसोको पात्र बन्ने उनीहरु पहिलो व्यक्ति भने होइनन् । रुँदा हाँसोको पात्र बनेका अर्का व्यक्ति हुन् अमेरिकन बिजनेस म्यान तथा बास्केटबल प्लेयर माइकल जोर्डन (सन् १९६३) । जो एकपटक कार्यक्रममा भाषण गर्दागर्दै रोएका थिए । उनीहरु रोएको समाचार यसरी फैलियो कि केही दिनमा नै संसारभर थाहा भयो । उनको रुवाइ उनलाई यति भार भयो कि नाम नै माइकल जोर्डनबाट क्राइङ जे, विपी (रुन्चे) जे बनाइदिए । नभन्दै माइकल जोर्डन खोजी गर्न उनको नामको ठाउँमा क्राइङ जे या विपी जे लेखे पनि गुगलले उनकोे तस्विर दिन्छ । मतलब उनले सार्वजनिक ठाउँमा रुनु मिम्स(जोक) नै बन्न पुग्यो । यसरी चर्चामा आउने अरु केही नेता पनि छन् ।

नेता र खेलाडीमात्र हैन, हरेक घरघरमा छोरा मान्छे रोए भने छोरी मान्छे जस्तो रोएको, छोरा भएर रुनुहुन्न भनेर गाली गरिन्छ । मतलब संसारभरका पुरुषमा छोरा मान्छेले रुन हुन्न भन्ने भावनात्मक भार छ । यसै मान्यता कायम राख्न समाजले बनाएको नारा हो- ‘मर्दको दर्द नहीं होता’ । पुरुष हुँदैमा दर्द नहुने हो र ? तर, किन दर्द दबाउन उत्प्रेरित गरिन्छ ? के रुनु नराम्रो भएकाले रुनुलाई यति ठूलो विषय बनाइएको हो ? त्यसमा पनि पुरुष रुँदा यति धेरै निगरानी किन ? के पुरुषमा भावनात्मक उद्वेग हुँदैन ? कि पुरुषमा आँसु निकाल्ने ग्रन्थी छैन ? आखिर किन समाजले पुरुषलाई रुन दिँदैन ? आउनुस् यस आलेखमा पुरुषको रुवाइमाथिको मनोविज्ञान केलाऔं ।

के स्त्री र पुरुषमा आँसु निकाल्ने ग्रन्थी नै फरक भएर हो ? त्यो पनि होइन । किनकि अनुसन्धान भन्छ- मान्छेको आँखामा आँसु निकाल्ने काम ल्याक्रिमल नामको ग्रन्थीले गर्छ । यो ग्रन्थी स्त्री र पुरुष दुवैमा एकएक वटा हुन्छ र समान आकारको हुन्छ ।

पुरुष वा स्त्री रुनुलाई समाजले मात्रै फरक मानक पैदा गरेको हो कि प्रकृतिले नै यस्तो रचना गरेको हो भनेर जान्नु आवश्यक छ । त्यसको लागि नवजात शिशु जन्मँदादेखिको रुवाइको अवस्था हेरौं । जन्मेको ६ महिनासम्म रुँदा कुनै पनि बच्चाको आँसु आउँदैन । किनकि जन्मेको ६ महिनासम्म त उसले आमा को हो भन्ने पनि छुट्याउन सक्दैन । जब आमा छुट्याउन सक्ने हुन्छ तब उसको रुवाइमा आँसु आउन थाल्छ । त्यसपछि पनि १०-११ वर्षको उमेरसम्म स्त्री पुरुष दुबै बराबरी रुन्छन् । तर उमेर त्योभन्दा माथि हुँदै गएपछि क्रमशः पुरुषमा रुवाइ कम हुन थाल्छ ।

यसो हुनमा के स्त्री र पुरुषमा आँसु निकाल्ने ग्रन्थी नै फरक भएर हो ? त्यो पनि होइन । किनकि अनुसन्धान भन्छ- मान्छेको आँखामा आँसु निकाल्ने काम ल्याक्रिमल नामको ग्रन्थीले गर्छ । यो ग्रन्थी स्त्री र पुरुष दुवैमा एकएक वटा हुन्छ र समान आकारको हुन्छ । यो ग्रन्थी आँखाको ठीक माथि हुन्छ । जसले हर दिन २४३ मिलिलिटर आँसु बनाउँछ ।

अनि आँसु पनि तीन तरिकाले बन्छ । पहिलो, आँखाको सुरक्षाको लागि बन्छ । यो नियमित हुन्छ । त्यसरी निस्कने आँसुलाई बेसल टियर्स भनिन्छ । अर्को, आँखालाई असर गर्ने केमिकल पर्दा आँसु बन्छ । जस्तैः प्याज काट्दा आँसु आउँछ । यस्तो आँसुलाई रिफ्लेक्ट टियर्स भनिन्छ । प्याज काट्दा प्याजबाट निस्किएको केमिकलले आँखाको कोर्नियामा धक्का दिन्छ । केमिकलले असर भएको कुरा कोर्नियाले दिमागलाई संकेत गर्छ र दिमागले ल्याक्रिमल ग्लाण्डमा खतराको संकेत दिन्छ । अनि ल्याक्रिमल ग्रन्थीले आँसु बगाउँछ ।

अर्को हो, इमोसनल टियर्स । जब मान्छेले पीडा, दुःख र खुशी महसुस गर्छ तब दिमागको लिम्बिक सिस्टम एक्टिभ हुन्छ । जसले आँसु निकाल्ने ग्रन्थी ल्याक्रिमललाई संकेत गर्छ र आँसु आउँछ । यसको अर्थ विज्ञान भन्छ- स्त्री र पुरुषमा आँसु निकाल्ने ग्रन्थी बनाउनमा प्रकृतिले कुनै भेद गरेको छैन । यसो हुँदाहुँदै पुरुष किन कम रुन्छ त ? प्राकृतिक भेद छैन भनेपछि के यो समाजले तयार गरेको मनोवैज्ञानिक मानकको कारण हो ? यसलाई बुझ्न समाज विकासको जरोमा पुग्नुपर्छ ।

स्त्री र पुरुषमा आँसु निकाल्ने ग्रन्थी बनाउनमा प्रकृतिले कुनै भेद गरेको छैन । यसो हुँदाहुँदै पुरुष किन कम रुन्छ त ? प्राकृतिक भेद छैन भनेपछि के यो समाजले तयार गरेको मनोवैज्ञानिक मानकको कारण हो ?

मानिस सामाजिक प्राणी हुन लाग्दासम्म खाद्यान्न उब्जाउन सुरु भएको थिएन । त्यसैले मान्छेले जनावर मारेरै भोक मेटाउँथे । त्यस बेला एउटा बच्चा काखमा हुँदै अर्को गर्भ बस्ने, त्यो खेर जाने, फेरि अर्को गर्भ बस्ने गर्दा स्त्रीहरु बाहिर निस्कन सक्दैनथे । त्यसैले जनावरसँग लड्ने, भिड्ने र मारेर ल्याउने काम सबै पुरुषको हुन्थ्यो । त्यस बेला कुनै पुरुषले म सक्दिनँ, डर लाग्छ या म चाहिं जान्न भन्न पाउँदैनथ्यो । किनकि बच्चा जन्माउने र हुर्काउने प्राकृतिक काम स्त्रीको छँदै थियो । अनि पुरुषले लडभिड गर्ने काम नगरेर के गर्ने ? त्यसैले पुरुष आफ्नो आँसु र डरलाई दबाएर समूहको निर्णयको पछि लाग्थ्यो ।

यही कुरा पुस्तौंपुस्तादेखि हजारौं पटक दोहोर्‍याउँदा दोहोर्‍याउँदा यस्तो भो कि डर र आँसु चाहिं पुरुषका लागि बर्जित भयो । आँसु देखाउनु भनेको स्त्री जस्तै हुनु हो भन्ने पुरुषको चित्तमा गहिरो भएर बस्यो । समाज विकास भएर आजसम्म आइपुग्दा पनि त्यो सामाजिक डर अनुवांशिक रुपमा सर्दै आयो । आज पनि परिवार पाल्ने, पोषण गर्ने मान्छे हुँ, म ठूलो हुँ, रुन हुन्न भनेर रुन मनलाग्दा पनि पुरुष रुँदैनन् । किनकि आजको पुरुषभित्र पुरुषको पुरानो अनुवांशिक गुण लुकेको छ । त्यसैले पुरुष भन्छ कि रुनु स्त्री जस्तै हुनु हो । कमजोर हुने कुरा स्त्रीसँग हुन्छ, मसँग होइन । अनि रुने पुरुषलाई उनीभित्रै लुकेको पुरुषले गिज्याउँछ हियाउँछ । यस्तो सोचमा आज कतिपय स्त्री पनि पुगेका छन् । जो आफूलाई शक्तिशाली ठान्छन् र आँसु झार्नु कमजोरी मान्छन् ।

एक अध्यन भन्छ- स्त्री महिनामा औसत पाँच पटकभन्दा धेरै रुन्छिन् भने पुरुष दुई पटकभन्दा केही बढी मात्र रुन्छ । अनि स्त्री पाँच मिनेटसम्म रुन्छिन् भने पुरुष दुई मिनेटभन्दा धेरै रुन सक्दैनन् । आखिर पुरुष कहिलेदेखि यसरी आँसु लुकाउने बन्छ ? तथ्य भन्छ- जबजब टेस्टेटेरोन हार्मोन बन्न थाल्छ तब पुरुष रुन कम गर्न थाल्छ । मतलब उसमा म मर्द हुँ भन्ने सामाजिक मान्यता मानसपटलमा नघुसुञ्जेलसम्म । टेस्टेटेरोनको मात्रा कम भएको बेला त पुरुष पनि रुन्छ । टेस्टेटेरोनको मात्रा त्यो वेला कम हुन्छ जुन बेला पुरुष प्रेममा हुन्छ, सानो हुन्छ या बुढो हुन्छ । भनिएको छ कि केटीहरु रुँदा प्रोल्याटिन हार्मोन बढ्दै जान्छ । यता टेस्टेटेरोन हार्मोनको वृद्धिसँगै पुरुष रुन छोड्छ । अनि पुरुष र स्त्रीमा भिन्नता बढ्दै जान्छ । स्त्री कोमल प्रेमिल बन्दै जान्छिन् भने पुरुष आक्रामक बन्दै जान्छन् ।

आँसु देखाउनु भनेको स्त्री जस्तै हुनु हो भन्ने पुरुषको चित्तमा गहिरो भएर बस्यो । समाज विकास भएर आजसम्म आइपुग्दा पनि त्यो सामाजिक डर अनुवांशिक रुपमा सर्दै आयो ।

यो त भयो आँसु बन्ने वैज्ञानिक प्रक्रिया । यसको आध्यात्मिक र आत्यन्तिक पक्षलाई भने विज्ञानले अध्ययन गर्न सक्दैन । मानिसको शारीरिक, मानसिक र ऊर्जा शरीर हुन्छ । भौतिक शरीर बाहिरी तह हो, विचार त्योभन्दा भित्रको हो र भावना त्योभन्दा पनि भित्र हुन्छ । भावना मानिसको शरीर र विचारभन्दा शक्तिशाली हुन्छ । जब विचार प्रक्रिया केही समयका लागि बन्द हुन्छ, शब्दमा केही बोल्न नसक्ने हुन्छ तब आँसुमार्फत भावना बाहिर आउँछ । मानिसमा भावनात्मक विकास चाहिँ संस्कृतिले गर्छ र त्यो परम्पराले दिएको हुन्छ । त्यसैले विज्ञानले जति अध्ययन गरेर पुरुष र स्त्रीको आँसुको ग्रन्थी समान हुन्छ भने पनि पुरुष आँसु दबाउन छोड्दैन ।

सदियौंदेखि पुरुष समाजले भिराएको यही मर्दको भारी बोकेर हिंडेको छ । जसले उसलाई मान्छे नभएर समाजको भार उठाउने यन्त्र बनाएको छ । तर, ऊ बोल्न सक्ने अवस्थामा छैन । बरु उल्टो आँसु झर्छ कि, म नामर्द हुन्छु कि भनेर आँसु दबाउँछ । तैं होस् गर्ने, तैंले नै परिवारको बोझ उठाउनुपर्छ, तैंले आँसु झार्न पाउँदैनस् भन्नेर उसलाई समाजको सर्तले बाँधेको छ । एकातिर आफ्नो आँसुको पीडा र अर्काेतिर आँसु लुकाउँदाको पीडा । यसरी सामाजिक नियमको बोझ बोकेर पुरुषले समाजको दोहोरो हिंसा खोपिरहेको छ ।

खासमा आँसुमात्र आँसु नभएर हामीभित्रको दुःखाइ, आक्रोश र घृणा जस्ता भावहरुको निकास हो । त्यसैले आँसु आफ्नो संवेदना बाहिर प्रकट गर्ने प्रकृति हो भने यसलाई रोक्नु प्रकृतिविरुद्ध हो ।

यसरी बुझ्दा अझ सहज होला कि जसरी हाम्रो शारीरिक शरीर, मानसिक शरीर र ऊर्जा शरीरका लागि आहार जति अनिवार्य छ, आहारबाट तयार विकार निष्कासन पनि उत्तिकै जरुरी छ । जस्तै भोजन लिएपछि शारीरिक शरीरले पोषक तत्व लिएर बाँकी विकार दिसापिसाब या पसिनामार्फत बाहिर फ्याक्छ । त्यस्तै मानसिक शरीरमा तयार भएको विकार रिस, आक्रोशमार्फत बाहिर आउँछ । अनि ऊर्जा शरीरमा तयार विकार पनि आँसुमार्फत बाहिर आउँछ । जसरी शरीरबाट दिसा रोकिनु घातक छ, त्यसरी नै ऊर्जा शरीरबाट भावनात्मक उद्वेगले पैदा गर्ने आँसु रोकिनु या आँसुलाई उसैको बाटो भएर सहजै बाहिर जान नदिनु पनि त्यतिकै घातक हुन्छ । जसरी दिसा बाहिर निस्किएर जाँदा शरीरलाई एकदमै हल्का महसुस हुन्छ, त्यसरी नै मानसिक वा ऊर्जा शरीरमा तयार विकार पनि निष्कासन हुँदा आनन्द महसुस हुन्छ । रोएपछि मान्छेले हल्का महसुस गर्नुको कारण यही हो ।

रुने पुरुषलाई उनीभित्रै लुकेको पुरुषले गिज्याउँछ हियाउँछ । यस्तो सोचमा आज कतिपय स्त्री पनि पुगेका छन् । जो आफूलाई शक्तिशाली ठान्छन् र आँसु झार्नु कमजोरी मान्छन् ।

त्यसैले स्त्रीहरुले आफूलाई आँसुले पखाल्छन् र सफा अनि प्रेमिल हुने अवसर पाउँछन् । उनीहरु प्रेमिल भएका कारण विनम्र र शान्त हुन्छन् । जसले उनीहरुलाई पुरुषभन्दा लामो समय जिउने बनाएको छ ।

माथि उल्लेखित कुरामा आधुनिक विज्ञान पनि सहमत छ । तथ्य भन्छ- इमोसनबाट निस्कने आँसुमा अन्य आँसुमा जस्तो पानीको मात्रामात्र हुँदैन । यसमा धेरै खालका इलेक्ट्रोन एट्स, स्ट्रेस हार्मोन र एन्केफलिनको मात्रा पनि हुन्छ । यसको मतलब ईष्र्या, घृणा, सन्ताप या पीडा हुँदा (स्ट्रेसमा) निस्कने आँसु आफैंमा दुःखाइ कम गर्ने औषधि (पेनकिलर)सरह हुन्छ । त्यसैले रोएपछि मान्छे हल्का महसुस गर्छन् । किनकि रोएपछि ऊर्जा शरीरमा भएको विकार निस्कन्छ र प्रोलाक्टिन हार्मोन बन्छ । जसले आनन्द प्रदान गर्छ ।

प्रोलाक्टिन हार्मोन रुवाइबाट प्राप्त उपहार हो । जुन उपहार आँसु दबाएका कारण पुरुषले पाएको हुँदैन । किनभने आँसु नझार्ने कारण उनीहरुमा विषाद्, घृणा, ईर्ष्या पखालिएर जाँदैन र त्यो हार्मोन बन्न पाउँदैन । आँसु भनेको त्यस्तो अवस्था हो, जसले अर्को नयाँ विचार, नयाँ उद्वेग, नयाँ जुनुन तयार गर्छ । त्यसैले आनन्द दिने यो हार्माेन पुरुषहरुमा भन्दा स्त्रीमा अधिक पाइएको छ ।

उसो भए के पुरुष त्यो आनन्दको खोजीमा भित्रभित्रै तड्पिएको छैन होला त ? अवश्य छ । बाहिर भन्न नसके पनि मर्दको भारी बिसाएर पुरुष मान्छेमात्र भएर जीवन जिउन चाहन्छ । भारी बिसाएर ऊ प्रेमिका या श्रीमतीको काखमा टाउको बिसाउन चाहन्छ । स्तनमा मुख लगाएर अरु सबै भुल्न चाहन्छ । किनकि मर्दको नकाब ओढ्नुभन्दा पहिला उससँग आमाको काखमा बसेर दूध चुसेको अझ गहिरो र आनन्दमय महसुस छ । जुन पहिलो र गहिरो सुखको महसुस गर्न ऊ हरपल तड्पिरहेको हुन्छ ।

सदियौंदेखि पुरुष समाजले भिराएको यही मर्दको भारी बोकेर हिंडेको छ । जसले उसलाई मान्छे नभएर समाजको भार उठाउने यन्त्र बनाएको छ । तर, ऊ बोल्न सक्ने अवस्थामा छैन । बरु उल्टो आँसु झर्छ कि, म नामर्द हुन्छु कि भनेर आँसु दबाउँछ ।

त्यसैले प्रेमिल श्रीमतीको काख पाउँदा पुरुष मान्छेबाट पनि निस्किएर फगत एक बच्चा बनिदिन्छ । रुन मनलाग्दा रोइदिन्छ, अनि तत्कालै हाँस्छ । जुन आनन्द संसारको सबैभन्दा ठूलो पदमा रहँदा पनि उसले पाउन सकेको हुँदैन । त्यसैले पुरुष जति ठूलो पदमा पुगे पनि एक प्रेमिल स्त्रीको अगाडि शून्य हुन्छ । यही कारण ऊ आफूलाई काखमा आमा जस्तै लुकाउने स्त्रीको खोजीमा हुन्छ । मतलब पुरुष त्यतिबेला रुन्छ या रुनसक्छ जतिबेला ऊ समाजले भिराइदिएकोे मर्दको सिङ जुरो फुकालेर जान्छ ।

उसो भए, के नरोएको पुरुषबाट समाजले नोक्सान त खेपिरहेको छैन ? हामी सबैले यसलाई महसुस गरेका छौं कि स्त्री र पुरुषमा स्त्रीहरु अधिक प्रेमिल र पुरुषहरु कम प्रेमिल हुन्छन् । अधिकांश स्त्रीहरु शान्त र पुरुषहरु आक्रामक हुन्छन् । यो भेद पुरुषलाई आँसु झार्न गरिएको बन्देजका कारण भएको हो । आँसु रोक्नु परेका कारण नै आज स्त्रीहरुले भन्दा पुरुषहरुले धेरै पागलपन र आत्महत्या व्यहोरेका छन् । पुरुषहरुभन्दा स्त्रीहरु धेरै पटक मर्ने प्रयास गर्छन् । तर, उनीहरु रुनसक्ने कारण मर्ने प्रयास गर्दागर्दै पनि फर्कन्छन् । तर, पुरुषहरु जति आत्महत्याको प्रयास गर्छन् त्यति नै मर्छन् । त्यसैले स्त्रीभन्दा पुरुषहरुको आत्महत्यादर चार गुणा अधिक छ । यो तथ्य हेर्नुस ।

पुरुष सामाजिक विधिका नाममा प्राकृतिक विधि (आँसु) लाई रोकिरहेको छ र त्यसकै परिणाम आज हामी रोगी (हिंस्रक) समाज भोगिरहेका छौं । आज हामी युद्ध, युद्ध फेरि पनि युद्धको तयारी गरिरहेको जुन समाजमा छौं, त्यो आँसु दबाउनुको परिणाम हो ।

रुनु भनेको कोमल हुनु हो । कोमलता हरेक युद्धविरुद्धको शक्ति हो । यसले मान्छेलाई जीवन्त, स्वतन्त्र र स्वर्गीय बनाउन साथ दिन्छ । त्यसैले पुरुषलाई परम्पराको बोझबाट मुक्त गरौं, उनीहरुलाई रुन दिऔं । जहाँबाट शान्तिको बिज रोपिनेछ ।


प्रतिक्रिया

2 thoughts on “पुरुषलाई रुन दिऔं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *