ओस्कर जितेका के ह्यु क्वान: ७ वर्षमै शरणार्थी बने, काम नपाएपछि अभिनय छोडे – Nepal Press

ओस्कर जितेका के ह्यु क्वान: ७ वर्षमै शरणार्थी बने, काम नपाएपछि अभिनय छोडे

काठमाडौं । सिनेमा क्षेत्रमा आवद्ध जो कसैका लागि ओस्कर अवार्ड प्राप्त गर्नु एक सपना र सबैभन्दा ठूलो उपलब्धिको रुपमा रहने गरेको छ । विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेसँगै धेरै चलचित्रकर्मीहरु भावविह्वल हुनुलाई आममानिसले सामान्य रुपमा ग्रहण गर्ने गर्छन् ।

यद्यपि यति बेला भर्खरै सम्पन्न ९५औं एकाडेमी अवार्डमा सर्वश्रेष्ठ सहायक अभिनेताको रुपमा अवार्ड हासिल गरेसँगै अभिनेता के ह्यु क्वानले गरेको सम्बोधनले विश्व समुदायको ध्यानाकर्षण गरेको छ । फिल्म ‘एभ्री थिङ एभ्री व्हेर अल एट वन्स’मार्फत सर्वश्रेष्ठ सहायक अभिनेताको रुपमा अवार्ड ग्रहण गरेसँगै के ह्यु क्वानले भावुक हुँदै सदैव आफ्नो सपनालाई जिवन्त राख्नुपर्ने सुझाव दिएका छन् ।

अवार्ड हातमा लिएसँगै भावुक भएका क्वानले सर्वप्रथम आफ्नो ८४ वर्षीया आमालाई सम्झिँदै भने, ‘मेरी आमा अहिले ८४ वर्षकी हुनुभयो । उहाँले यति बेला घरबाट हामीलाई हेरिरहनु भएको छ । आमा हेर्नुहोस्, मैले ओस्कर जितें ।’

सन् १९७१ मा जन्मिएका क्वान चिनियाँ मूलका भियतनामी हुन् । बुवा आमा र दिदीभाइसहित नौ सदस्यीय परिवारमा जन्मिएका उनले ७ वर्षको उमेरमै परिवारसँग विछोड सहनुपरेको थियो । सन् १९७८ मा उनको परिवार भियतनामबाट भाग्न बाध्य भएको थियो । जुन समयमा उनका बुवा र ५ जना सन्तान हङकङको शरणार्थी क्याम्प पुगे भने आमा र अन्य सदस्य मलेशिया ।

सोही समयको स्मरण गर्दै क्वानले भने, ‘मेरो यात्रा एउटा डुङ्गाबाट सुरु भएको हो । मैले एक वर्ष शरणार्थी क्याम्पमा बिताएँ र आज संयोगवश म हलिउडको सबैभन्दा ठूलो मञ्चमा उभिएको छु ।’

उनी थप्छन्, ‘हुन त यस किसिमको संयोग चलचित्रमा मात्र सम्भव छ भन्ने गरिन्छ । तर, आज म स्वयं यो कुराको भुक्तभोगी बनेको छु । यो नै अमेरिकन ड्रिम हो ।’

कुनै समय शरणार्थीको रुपमा रेफ्युजी क्याम्प पुगेका क्वान सन् १९७९ मा शरणार्थी पुनर्वास कार्यक्रममार्फत अमेरिका पुगे । उनको पालनपोषण एवं शिक्षादीक्षा सबै अमेरिकामै भएको हो ।

क्वानले १२ वर्षको उमेरमै अभिनय यात्रा सुरु गरेका थिए । ह्यारिसन फोर्डको साइडकिकको रूपमा इन्डियाना जोन्स एण्ड टेम्पल अफ डुमबाट अभिनय सुरु गरेका उनले द गुनिज, जापानी चलचित्र प्यासेन्जर, टीभी सिरिज ‘टुगेदर वि स्ट्याण्ड’, ‘हेड अफ द क्लास’लगायतमा पनि अभिनय गरे ।

यद्यपि उमेर बढ्दै जाँदा भने उनले हलिउडमा काम पाउन छोडे र अन्ततः उनले अभिनय छोडे र दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयमा फिल्म अध्ययनको लागि पुगे । अध्ययनपश्चात उनले सन् २००० को हलिउड चलचित्र एक्समेनमा फाइटिङ सिइक्वुएन्स सहायक कोरियोग्राफरको रुपमा काम गरे । तत्पश्चातको एक दशक उनले पर्दा पछाडि रहेर कहिले असिस्टेन्ट डाइरेक्टर त कहिले स्टन्ट कोरियोग्राफरको रुपमा काम गरे ।

झण्डै २० वर्षसम्म अभिनयबाट टाढा रहेका उनले सन् २०१८ मा क्रेजी रिच एसियनको सफलतापछि अभिनयमा फर्किने मन बनाए । सोही समयमा ‘एभ्री थिङ एभ्री व्हेर अल एट वन्स’का निर्देशकद्वय ड्यानियल क्वान, ड्यानियल शिनर्टले यस चलचित्रको लागि अडिसन लिइरहेका थिए ।

यतिका वर्ष अभिनयबाट टाढा रहेका क्वानले भनेका छन्, ‘म मेरो सफलताको श्रेय मेरी श्रीमती एकोलाई दिन चाहन्छु । उनले हरेक दिन, हरेक महिना, हरेक वर्ष मलाई एकदिन मेरो समय आउनेछ भनेर प्रेरित गरिरहिन् र आज २० वर्षपछि त्यो दिन आएको छ । सपनामा सदैव विश्वास गर्नुपर्छ मैले झण्डै मेरो सपनालाई तिलाञ्जली दिएको थिएँ । मलाई सुनिरहेका सबै जनालाई म भन्न चाहन्छु, कृपया आफ्नो सपनालाई जीवन्त राख्नुहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर