आज विश्व उपभोक्ता दिवस : बर्दिबासमा चेतनामूलक प्रभातफेरी – Nepal Press

आज विश्व उपभोक्ता दिवस : बर्दिबासमा चेतनामूलक प्रभातफेरी

बर्दिबास । आज मार्च १५ अर्थात विश्वभर विश्व उपभोक्ता अधिकार दिवस मनाइँदैछ । यस वर्षको यस दिवसको नारा ‘स्वच्छ ऊर्जा संक्रमणहरुमार्फत उपभोक्ताहरुलाई सशक्त बनाऔं’ रहेको छ ।

अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीले सन् १९६२ मार्च १५ मा अमेरिकी कांग्रेसमा अधिकारीसहितको उपभोक्ता बिल अफ राइटको घोषण गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालेको हो ।

उपभोक्ता अधिकार दिवसकै अवसरमा महोत्तरीस्थित राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार चेतनामूलक प्रभातफेरी गरेको छ । बर्दिबास नगरपालिकाको सहयोगमा भएको उक्त प्रभातफेरी उपभोक्तालाई सचेत बनाउने उद्देश्यले गरिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष दीपेन्द्र पराजुलीले जानकारी दिए ।

प्रभातफेरीका सहभागीहरुले ‘अखाद्य वस्तु विक्री गरेको पाइएमा राष्ट्रिय उपभोक्ता मञ्च, स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालयमा खबर गरौं’, ‘सामान खरिद गर्दा अनिवार्य रुपमा बिलबिजक लिने र दिने बानी बसालौं’, ‘अधिकतम मूल्यभन्दा बढीमा बिक्री गर्न खोजेमा सम्बन्धित निकायलाई जानकारी गराऔं’, ‘सबै नागरिक उपभोक्ता, सबै उपभोक्ता नागरिक’, ‘गुणस्तरहीन सामान खरिद बिक्री नगरौं’, ‘खाद्य पदार्थ खरिद गर्दा उत्पादन मिति, डेट एक्स्पाएर मिति र मूल्य अनिवार्य हेरौं’ लगायतका नारा लेखिएका प्लेकार्डसहित बोकेका थिए ।

बर्दिबास नगरपालिकाको कार्यालयबाट सुरु भएको प्रभातफेरी यातायात व्यवस्था कार्यालय हुँदै बीपी राजमार्ग तीनकुने चौकमा कोणसभा गरिएको थियो । प्रभातफेरी बर्दिबासमा रहेको सरकारी तथा निजी विद्यालयका विद्यार्थी तथा शिक्षक, गौरीबास सेवा समिति, नागरिक समाज, प्रहरी, पत्रकार, जनप्रतिनितिलगायतको सहभागिता रहेको मञ्चकी महासचिव निशा थापाले बताइन् ।

उक्त अवसरमा बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले उपभोक्ताको हकहितका लागि नगरले सदैव पहरेदारी गर्ने प्रतिबद्धता जनाए । उनलेले खाद्य पदार्थ तथा सामानहरु बुझेरमात्र खरिद तथा उपभोग गर्न उपभोक्ताहरुमा आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर