त्रिविमा ठूला संगठनलाई चुनौती बन्दै स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार दीपक जोशी – Nepal Press

त्रिविमा ठूला संगठनलाई चुनौती बन्दै स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार दीपक जोशी

काठमाडौं । चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको रौनक केन्द्रीय क्याम्पस कीर्तिपुरमा बढेको छ । विश्वविद्यालय क्याम्पस भएका कारण प्रमुख विद्यार्थी संगठनहरूले प्रतिष्ठानको विषय बनाएको यहाँको स्ववियु सभापति पदमा सबैको चासो छ ।

त्रिविमा विद्यार्थी संगठनहरुलाई चुनौति दिने उम्मेदवार बनेका छन् दीपकराज जोशी । नेविसंघमा आबद्ध रहेका जोशी स्ववियु निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार बनेका छन् । उनलाई समर्थन गर्ने विद्यार्थीहरूले जोशीको प्रचार प्रसार गरिरहेका छन् ।

भूगर्भशास्त्रका विद्यार्थी जोशीले स्वतन्त्र अभियान सञ्चालन गरेपछि राजनीतिक दल आबद्ध संगठनहरू दबाबमा छन् । राजनीतिक हस्तक्षेप नरुचाउने विद्यार्थीहरूको ठूलो तप्का आफ्नो साथमा रहेको र उनीहरूकै साथबाट चुनाव जित्ने दाबी जोशीको छ ।

उनले राजनीतिक हस्तक्षेपमुक्त त्रिविको एजेण्डालाई अघि सारेका छन् भने विद्यार्थीको समस्या समाधानका लागि आफ्ना २ वर्षे योजना पनि लिएर मत मागिरहेका छन् । उनले आफू कुनै संगठनको बागी नभएर स्वतन्त्र उम्मेदवार भएको बताए ।

त्रिविमा अनेरास्ववियुबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा जर्नल लेखिसकेका बौद्धिक विद्यार्थी नेता प्रकाश विष्ट सभापति उम्मेदवार छन् भने नेविसंघबाट श्यामराज जोशी र नेविसंघबाटै अलग भएर स्वतन्त्र विद्यार्थी समाजका बिष्णु बडैला र अखिल क्रान्तिकारीका विपिन विक प्रतिस्पर्धामा रहेका छन् ।

जोशीको पक्षमा विद्यार्थीहरु स्वस्तफूर्त रूपमा उभिएकाले उनी एकाएक ठूला संगठनको लागि चुनौती बनेको विद्यार्थी नेताहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर