राष्ट्रिय तथ्याङ्क कार्यालयले पायो पहिलो विशिष्ट श्रेणीको प्रमुख – Nepal Press

राष्ट्रिय तथ्याङ्क कार्यालयले पायो पहिलो विशिष्ट श्रेणीको प्रमुख

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले लामो समयपछि सचिव सरहको प्रमुख तथ्याङ्क अधिकारी पाएको छ । साबिक केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नतिबाट सचिवको दरबन्दी कायम गरिएसँगै नेपालको पहिलो प्रमुख तथ्याङ्क अधिकारीको रूपमा नेपाल सरकारका सचिव रामप्रसाद थपलियाले जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार पद बहाली गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

तथ्याङ्क ऐन २०७९ को कार्यान्वयनसँगै केन्द्रीय तथ्याङ्क विभागबाट ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’रूपान्तरण भएको निकाय राष्ट्रिय योजना आयोग मातहतबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएको थियो ।

तथ्याङ्क ऐन २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐन अनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद् बैठकबाट स्वीकृत दरबन्दी विवरण अनुसार ४ जना राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव सरहका उपप्रमुख तथ्याङ्क अधिकारी रहनेछन् ।

उनीहरूले विभिन्न ४ वटा महाशाखाको नेतृत्व गनेछन् । जसमा एक जनाले आर्थिक तथ्याङ्क महाशाखा, एक जनाले सामाजिक तथ्याङ्क महाशाखा, एक जनाले राष्ट्रिय लेखा तथा तथ्याङ्क महाशाखा र एक जनाले योजना तथा जनशक्ति व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाल्नेछन् ।

तथ्यांक विभागबाट कार्यालय भएको ४ महिना बितिसक्दा पनि प्रमुख तथ्यांक अधिकारी नहुँदा ऐनअनुसार तथ्यांक नियमावली, निर्देशिका, कार्यविधि निर्माणलगायतका कार्य प्रभावित हुँदै आएको थियो ।

कार्यालय प्रमुख नभएकै कारण राष्ट्रिय तथ्यांक कार्यालयले पुस १५ भित्र राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन सार्वजनिक गरिसक्नुपर्ने भए पनि कार्यालयले अहिलेसम्म अन्तिम प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन ।

गएको भदौ २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको तथ्यांक ऐन २०७९ मा कार्यालयले सचिवस्तरको प्रमुख तथ्यांक अधिकारी रहने व्यवस्था गरेको थियो ।

तत्कालीन केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नै प्रधानमन्त्री कार्यालयको परामर्शमा प्रशासनिक कामको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सचिव थपलिया ४ महिनापछि आगामी असारमा ५ वर्षे सचिवको सेवा अवधिबाट अनिवार्य अवकाश पाउने भएकाले उनले ४ महिना प्रमुख तथ्यांक अधिकारीको जिम्मेवारी सम्हाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर