पूर्वमन्त्री बद्री न्यौपानेले रुँदै भने- ममाथि पूर्वाग्रह साँधियो, जरिबाना तिर्न सक्दिनँ (भिडिओ) – Nepal Press

पूर्वमन्त्री बद्री न्यौपानेले रुँदै भने- ममाथि पूर्वाग्रह साँधियो, जरिबाना तिर्न सक्दिनँ (भिडिओ)

'मेरो राजनिति ड्यामेज पारियो, आरोप तथ्यहीन र निराधार छन्'

काठमाडौं । पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको गुनासो गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले देशभर कतै जग्गा नरहेको र बैंक ब्यालेन्स पनि नरहेकाले आफूले अदालतको जरिबाना तिर्न नसक्ने बताए ।

भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट उनलाई ९ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ । भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिइनु तर आफूलाई कैद सजाय गरिनु पूर्णरूपमा पूर्वाग्रही भएको उनको जिकिर थियो । पत्रकार सम्मेलनमा न्यौपाने पटक–पटक रोएका थिए ।

पूर्वमन्त्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन वाह्य र भित्रि शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको दाबीसमेत गरे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएका कारण एकै व्यक्तिलाई ३ वटा सजाय गरिएको बताए । समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भएपनि आफूले फुल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको उनकाे भनाइ थियाे ।

न्यौपानेले थपे, ‘विशेष अदालतले मलाई न्याय दिन्छ भन्ने लागेको थियो । थुनछेक बहसमा साधारण तारिखमा २ लाखसम्मको पैसामा छोड्ने भनेको थियो । विशेष अदालतले एकै व्यक्तिलाई ३ वटा सजाय बिगो २० करोड जरिबाना ९ वर्ष ६ महिना कैदसहित पूर्वाग्रही ढंगले विशेष अदालतले निर्णय गरेको छ । मेरो राजनीति मार्ने किसिमले, ड्यामेज गर्ने किसिमले आएको छ । मेरो देशभरमा कुनै जग्गा छैन, आजसम्म बैंकमा ब्यालेन्स छैन, म मेरो गाउँको भाइकोमा शरणार्थीका रूपमा बसेको छु । भाडामा बस्छु अझै म, भाडा तिर्न सकेको छैन ।’

उनले आफू धरौटी राख्न र जरिबाना तिर्नसक्ने अवस्थामा नरहेको जानकारी गराए । आफ्नो राजनीति ‘ड्यामेज’ गर्ने किसिमले फैसला आएको भन्दै सर्वोच्चमा पुनरावेदन गर्ने हैसियतसम्म नभएको न्यौपानेले बताएका छन् ।

हेर्नुस् बद्री न्यौपानेको विज्ञप्ति


प्रतिक्रिया

One thought on “पूर्वमन्त्री बद्री न्यौपानेले रुँदै भने- ममाथि पूर्वाग्रह साँधियो, जरिबाना तिर्न सक्दिनँ (भिडिओ)

  1. मन्त्री भईसकेको मान्छे बैंक व्यालेन्स छैन, घरघडेरी छैन, अर्काको घरमा बसेको भाडा तिर्न सकेको छैन भन्ने मान्छे मुर्ख नै हो । । यस्तो मौकामा पनि कमाउन नसक्नेले के राजनीति गर्नु ? यस्ता मान्छेलाई जेल त हाल्नुपर्छ /

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर