भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन शीर्ष नेताहरूको सुझाव, शीतल निवासमा पुटिनदेखि राजापाक्षेको चर्चा – Nepal Press

भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन शीर्ष नेताहरूको सुझाव, शीतल निवासमा पुटिनदेखि राजापाक्षेको चर्चा

के एमालेमै फर्किएलिन् निवर्तमान राष्ट्रपति ?

काठमाडौं । आफ्नो कार्यकालको अन्तिम दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख नेताहरूलाई शीतल निवास डाकेर चियापनसहितको सामूहिक भेटवार्ता गरेकी थिइन् । करिब दुई घण्टा चलेको उक्त भेटवार्तामा नेताहरू खुलस्त र अनौपचारिक तवरबाट पेश भएका थिए ।

राष्ट्रपति भण्डारीको कार्यकाल र आगामी राष्ट्रपतिको कार्यभारका विषयमा कुराकानी केन्द्रित थियो । साथै, भण्डारीको अबको राजनीतिक यात्राबारे पनि नेताहरूले आ-आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भण्डारीलाई राष्ट्रपतिबाट अवकाशपछि सक्रिय राजनीतिमा फर्किन निकै जोड दिए । उमेरका हिसाबले पनि भण्डारीसँग प्रशस्त समय रहेकाले कुनै हालतमा सक्रिय राजनीति गर्नुपर्ने उनको सुझाव थियो ।

प्रचण्डले भने, ‘यहाँले प्रथम महिला राष्ट्रपतिको रूपमा एउटा मुलुकको गौरव राख्नुभयो । आफ्नो लागि पनि इतिहास निर्माण गर्नुभयो । अब कार्यकारी अधिकारको अभ्यास गर्ने बाटोमा जाँदा राम्रो होला जस्तो लाग्छ । भोलि पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पनि यहाँले प्राप्त गर्न सक्नुहुन्छ नि ।’

प्रचण्डले राष्ट्रपतिको कार्यकालको पनि प्रशंसा गरेका थिए ।

‘निश्चितरूपमा केही विषयहरूमा हाम्रा असन्तुष्टि थिए होलान् । तर, समग्रतामा उहाँको कार्यकाल सफल र उपलब्धीपूर्ण नै भयो भन्ने लाग्छ,’ उनले भने ।

एमालेलाई भने भण्डारीको प्रतीक्षा छ । पार्टी अध्यक्षका रूपमा ओलीको यो अन्तिम कार्यकाल हो । उनीपछिको उत्तराधिकारीका रूपमा कसैले पनि आफूलाई उभ्याउन सकिरहेको छैन ।

यतिमात्र होइन, प्रचण्डले भण्डारीलाई आफूहरूले फेरि पाँच वर्ष राष्ट्रपतिमा निरन्तरता दिन प्रस्ताव गरेको पनि दाबी गरे ।

‘संविधानमा दुईपटक मात्रै राष्ट्रपति बन्न पाउने व्यवस्था छ । तर, उहाँ पहिलो कार्यकालमा अन्तरिम तवरबाट राष्ट्रपति हुनुभएकाले त्यसको गणना हुँदैन । त्यसबेला राष्ट्रिय सभा, प्रदेशसभा बनेकै थिएनन् । त्यसैले अब फेरि पाँच खानुस्, हामी मिलाउँला, सबै कुरा गरौंला भनेको हो । तर, निवर्तमान राष्ट्रपतिले मान्नुभएन । म अर्को टर्म खान्न भन्नुभयो,’ प्रचण्डले खुलाए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले थोरै तर सटिक बोलेका थिए । उनले सक्रिय राजनीतिमा आउने/नआउने विषयमा निर्णय भण्डारी आफैंले लिनुपर्ने बताए ।

फाइल तस्बिर ।

देउवाले भने, ‘साथीहरूले भन्देखुनलाई आ-आफ्नो धारणा राख्नुभएको छ । उहाँहरूले दिएको सुझाव आफ्नो ठाउँमा ठीक छ । म चाहीँ (सक्रिय राजनीतिमा) आउनुस् पनि भन्दिनँ, नआउनुस् पनि भन्दिनँ । उहाँलाई संविधानले छेकेको छैन । मलाई सिनियर भनिहाल्नुभयो । उमेरको हिसाबले मभन्दा २० वर्ष नै कम हुनुहुन्छ होला । तर, जेसुकै भए पनि निर्णय उहाँ आफैंले लिने हो । त्यसो हुँदाखेरि उहाँले राजनीतिमा आउने निर्णय गर्नुभयो भने सबैभन्दा ठूलो सहयोग मेरो हुन्छ ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि राष्ट्रपति भण्डारी सक्रिय राजनीतमा आउँदा नै उचित हुने सुझाव दिए ।

‘मेरो त मदन भण्डारीजीसँग पनि निकटता थियो,’ यादवले थपे, ‘तपाईंहरू काठमाडौं आइसकेपछि तपाईंहरू बसेको विराटनगरको कोठामा म बसेको हुँ । मदन भण्डारी भन्नेवित्तिकै मनैदेखि सम्मानको भावना जागृत हुन्छ । उहाँको धर्मपत्नी भएको हिसाबले पनि राजनीतिमा आउँदा हाम्रो सहयोग नरहने कुरै छैन ’, यादवले भने ।

अन्त्यमा सबैलाई पञ्चलाइन चाहीँ एमाले अध्यक्ष केपी शर्मा ओलीले दिए ।

उनले भने, ‘राष्ट्रपतिज्यू राजनीतिमा फर्किनुभयो भने तपाईंहरू चाहीँ के गर्नुहुन्छ ?’

ओलीको यस्तो प्रश्नले हाँसो गुञ्जेको थियो । त्यसो त ओलीले पनि भण्डारी राजनीतिमा सक्रिय हुनुपर्ने नै भाव प्रकट गरे ।

प्रचण्डले राष्ट्रपतिको कार्यकालको पनि प्रशंसा गरेका थिए ।

बैठकमा नेताहरूले अन्य देशहरूको दृष्टान्त पनि सुनाएका थिए । रुसमा भ्लादमिर पुटिन र श्रीलंकाका महिन्दा राजापाक्ष राष्ट्रपति र प्रधानमन्त्री दुवै बनेको भन्दै भण्डारीसँग पनि त्यो अवसर रहेको उनीहरूले बताए । एकजनाले त मात्रिकाप्रसाद कोइरालाको समेत उदाहरण दिएका थिए ।

‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेको मान्छे अमेरिकाको राजदूत बन्न तयार हुनुभयो । राष्ट्रपति बनेको मान्छे प्रधानमन्त्री बन्दा कुनै अपमानजनक हुँदैन,’ ती नेताले भने ।

नेताहरूका कुरा सुनेर राष्ट्रपति भण्डारी मुसुमुसु हाँसेकी थिइन् । उनले सक्रिय राजनीतिमा फर्किनेबारे स्पष्ट केही बताइनन् । यद्यपि, राष्ट्रपतिबाट हटेपछि पनि देश र समाजका लागि निरन्तर योगदान दिने चाहना रहेको उनको भनाइ थियो । सबै नेताहरूको सुझावहरूलाई सकारात्मकरूपमा लिएको र केही समय सोचेर निर्णय लिने भण्डारीले बताइन् ।

एमालेमा फर्केलिन् ?

दुईपटक गरी सात वर्ष शीतल निवासमा बिताएकी भण्डारी हिजोबाट फुर्सदिलो भएकी छन् । उनले आफ्नो बाँकी जीवनका लागि कुन बाटो रोज्लिन् भन्ने जिज्ञासा छ ।

भण्डारीअघिका प्रथम राष्ट्रपति डा. रामवरण यादव शीतलनिवासबाट निस्किएपछि निष्क्रिय बने । उनी न पार्टी राजनीतिमा फर्किए न आफ्नो चिकित्सकीय पेशामा । आक्कलझुक्कल मिडियामा अन्तरवार्ता दिने र एकाध कार्यक्रममा उपस्थिति जनाउनेबाहेक उनी सार्वजनिक जीवनमा देखिँदैनन् । अघिल्ला उपराष्ट्रपति परमानन्द झा त झन् गुमनाम नै छन् ।

अन्य देशहरूमा हेर्ने हो भने सर्वोच्च पदबाट अवकाशपछि राजनीतिमा सक्रिय भएको, आफ्नो पुरानो पेशामा फर्केको वा समाजसेवामा लागेका दृष्टान्तहरू भेटिन्छन् । राष्ट्रपति भण्डारी आफ्नो पुरानो पार्टी एमालेमा नै फर्किएर सक्रिय राजनीति गर्न सक्ने अनुमान धेरैको छ । तर, शीतल निवास स्रोत भने यस विषयमा भण्डारीले कुनै निर्णय लिइनसकेको बताउँछ । देशकै अभिभावक भइसकेको व्यक्ति फेरि एउटा दलको नेताको भूमिकामा खुम्चिनु कति गरिमापूर्ण होला भन्ने कोणबाट पनि राष्ट्रपतिले विचार गरिरहेको स्रोतको भनाई छ ।

अन्त्यमा सबैलाई पञ्चलाइन चाहीँ एमाले अध्यक्ष केपी शर्मा ओलीले दिए ।

तर, एमालेलाई भने भण्डारीको प्रतीक्षा छ । पार्टी अध्यक्षका रूपमा ओलीको यो अन्तिम कार्यकाल हो । उनीपछिको उत्तराधिकारीका रूपमा कसैले पनि आफूलाई उभ्याउन सकिरहेको छैन । ईश्वर पोखरेललगायतका केही सिनियर नेताहरू उमेरहदका कारणको अर्को महाधिवेशनबाट रिटायर्ड हुनेछन् । त्यसपछि नेतृत्वको प्रतिस्पर्धामा विष्णु पौडेल र शंकर पोखरेल अगाडि छन् ।

राजनीतिक उचाइ र अनुभवका आधारमा ओलीको तुलनामा पौडेल-पोखरेल धेरै पछाडि छन् । त्यसैले यो रिक्तता पूर्ति गर्दै एमालेमा ओलीपछिको सर्वस्वीकार्य नेतृत्वका रूपमा स्थापित हुनसक्ने अवसर भण्डारीसँग देखिन्छ । उनलाई एमालेमा स्वागत गर्न ओली पनि सकारात्मक रहेको बताइन्छ भने यदि उनले पार्टीमा कार्यकारी भूमिका चाहिन् भने कसैले पनि अवरोध गर्ने सम्भावना छैन ।

कतिपयले भण्डारी चितवनमा हुने उपनिर्वाचनमा लड्नसक्ने चर्चा चलाए पनि त्यो सम्भावना नरहेको पार्टी स्रोतको भनाई छ ।

‘उहाँ केही समय मौन नै बस्नु हुन्छ, उपनिर्वाचन लड्ने कुरा हावादारी हो,’ स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर