बुटवल उपमहानगरले थाल्यो सेवा र विकासबारे विज्ञहरुसँग छलफल – Nepal Press

बुटवल उपमहानगरले थाल्यो सेवा र विकासबारे विज्ञहरुसँग छलफल

रुपन्देही । बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले विज्ञ तथा सरोकारवालाहरुसँग छलफल थालेको छ ।

बुटवललाई देशकै अगुवा शहर बनाउन विज्ञहरुको रायसुझाव लिन थालिएको हो । सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धी कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने मेयर खेलराज पाण्डेयले जानकारी दिए ।

जसअनुसार सोमबार कानून व्यवसायी, इन्जिनियर र चिकित्सकहरुसँग छलफल गरिएको छ । चैत १ मा धार्मिक संघसंस्थाका प्रमुखहरुसँग, २ गते महिला स्वयंसेविका र सामुदायिक वन तथा पार्कका अध्यक्षहरुसँग छलफल गरिने बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

यस्तै चैत ३ मा सहकारी, व्यवसायिक संघसंस्था, यातायात, निर्माण र हाटबजार व्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोल विकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाले जनाएको छ ।

चैत ७ मा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र प्रमुखहरुसँग छलफल गरिनेछ ।

सोमबार आयोजित छलफलमा बोल्ने विज्ञ तथा सरोकारवालाहरुले बुटवलवासीको आवश्यकता र प्राथमिकताअनुसार योजना निर्माण गर्न सुझाएका छन् । उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिएको, दोहोरो योजनाका कारण जनतामा अलमल भएकाले स्थानीय सरकारका रुपमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए ।

मेयर पाण्डेयले बुटवललाई साझा शहरका रुपमा अगाडि बढाउने प्रयास गरिरहेकाले सबै क्षेत्रका बुद्धिजीवीहरुबाट रचनात्मक सुझावको अपेक्षा राखेको बताए ।

उपमेयर सावित्रादेवी अर्यालले बुटवलको विकासमा सबै क्षेत्रको उत्तिकै साथ जरुरी रहेकाले सबैका सुझाव सल्लाहलाई समेट्दै नगरको विकासमा जुट्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *