सुदूरपश्चिम एमाले अध्यक्ष भण्डारीको आरोप- सरकार बाह्य शक्तिबाट चल्दैछ, गठबन्धन आदेश पालक हो – Nepal Press

सुदूरपश्चिम एमाले अध्यक्ष भण्डारीको आरोप- सरकार बाह्य शक्तिबाट चल्दैछ, गठबन्धन आदेश पालक हो

कैलाली । नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार बाह्य शक्तिबाट परिचालित भएको आरोप लगाएका छन् ।

एमालेको ग्रासरुट अभियानको क्रममा कैलालीस्थित गोदावरीको एक कार्यक्रममा बोल्दै भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अन्तैबाट चलिरहेको र सरकारलाई समर्थन गर्ने दश दलीय गठबन्धन परिचालित रहेको आरोप लगाए ।

उनले भने, ‘अन्तकै आदेश र इसाराबाट अहिलेको सरकार चलिरहेको छ । अहिले अन्तैबाट कोही आउने एकै पटक सबैलाई भेटेर निर्देशन जारी गर्ने र त्योलाई अक्षरशः पालना गर्ने प्रवृत्ति देखिएको छ । उताबाट आदेश आउँछ, यता दश दलीय गठबन्धन आदेश पालना गर्छ । आज नेपालको राज्य सत्ता बाहिरबाट चलिरहेको छ । यस्ता कारणले यो सरकारप्रति सबै क्षेत्रमा निराशा पैदा भएको छ ।’

यस्तै उनले अहिलेको सरकार राष्ट्रिय समस्याबाट भागिरहेको र समस्या समाधान गर्न छाडेर आदेश पालनामा लागेको आरोप लगाए ।

उनले एमालेलाई चौतर्फी घेराबन्दी गरिएको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बनाउन खोजेको तर नेपालले दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिहरूलाई राज्य सत्ता बुझाएको भण्डारीको आरोप थियो ।

‘अहिले एमाले र कम्युनिस्ट आन्दोलनलाई टुटफुट बनाउन खोजिएको छ,’ उनले भने, ‘यसअघि हाम्रो एमालेले ३२ सिटको नेता प्रचण्डलाई प्रधानमन्त्री बनायो। त्यसपछि १० सिटको मान्छेलाई राष्ट्रपति बनाउन खोज्यो । तर तिनै मान्छेले दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिहरूलाई राज्य सत्ता बुझाएर उनीहरुको सरणमा गए ।’

 


प्रतिक्रिया

One thought on “सुदूरपश्चिम एमाले अध्यक्ष भण्डारीको आरोप- सरकार बाह्य शक्तिबाट चल्दैछ, गठबन्धन आदेश पालक हो

  1. नागरिक उन्मुक्ति भन्ने दिल्लीको दलाल पार्टीले सुदुरपश्चिममा एमालेको मुख्यमन्त्रीलाई विश्वासको मत दिने बेलामा र काँग्रेसकोलाई दिने बेलामा देखाएको रवैयाले नै प्रमाणित हुन्छ कि त्यो पार्टी दिल्लीको टट्टु हो । सोझा थारूहरूलाई जातीय नारा दिएर , हिंसाबाट जन्मेको पार्टी हो त्यो र त्यो जन्माएकोनै दिल्लीले हो । माओवादी नामको दिल्लीको एजेण्टले पनि यस्तैगरी रूकुम रोल्पाका सोझा मगरहरूलाई लडाएर प्रचण्डले अहिले मोज गरेको छ । आम जनता जस्ताको तस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर