इटहरी उपमहानगरद्वारा कर्मचारीलाई दिँदै आएको खाजा खर्च कटौती – Nepal Press

इटहरी उपमहानगरद्वारा कर्मचारीलाई दिँदै आएको खाजा खर्च कटौती

विराटनगर । इटहरी उप-महानगरपालिकाले कर्मचारीलाई दिँदै आएको खाजा खर्च र प्रोत्साहन भत्ता कटौती गरेको छ । उपमहानगरले कर्मचारीलाई तलब बाहेक मासिक ५ हजार खाजा खर्च दिँदै आएको थियो ।

उपमहानगरले गाडी सुविधा नपाएका कर्मचारीलाई पनि इन्धन सुविधा दिँदै आएकोमा सो सुविधा समेत कटौती गर्ने निर्णय गरेको हो ।

उपमहानगरले अघिल्लो आर्थिक वर्षमा खाजा खर्च ३ करोड रुपैयाँ भन्दा बढी कर्मचारीलाई दिएको छ । यसरी दिएको खर्च महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ ।

उपमहानगरको कार्यपालिका बैठकले उपमहानगरपालिका कार्यालयले आर्थिक रूपमा मितव्ययिता अपनाउनु पर्ने भन्दै विभिन्न खाले भत्तामा हुने खर्चलाई कटौती गरेको हो ।

सरकारको खर्च मितव्ययी सम्बन्धी नीति, अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुधार सम्बन्धी सुझाव आधार मानेर हामी खर्च कटौती गर्ने निर्णयमा पुगेका छौ इटहरीका मेयर हेम कर्ण पौडेलले भने ।

उपमहानगरपालिकाले करिब पाँच सय कर्मचारीले मासिक पाँच हजार रुपैयाँ लिँदै आएको भत्ता सहित प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको निर्णय गरेको पौडेलले बताए ।

उनले इन्धन , टिएडिए भत्ता लगायतमा पनि कटौती गर्न उपमहानगरपालिका लागि परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *