नेकपाका नेता अनिल शर्मा भन्छन्- प्रचण्डले धोका दिएपछि माओवादी आन्दोलन तितरबितर भयो – Nepal Press

नेकपाका नेता अनिल शर्मा भन्छन्- प्रचण्डले धोका दिएपछि माओवादी आन्दोलन तितरबितर भयो

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले आवश्यक परे बालुवाटारमा रगत बगाउँछु भन्ने प्रचण्डले धोका दिएकोले माओवादी आन्दोलन तितरबितर भएको बताएका छन् ।

जनयुद्धको समयमा बदलिएको परिस्थिति अनुसार विचार र कार्यदिशाको विकास गर्न नसकेपछि प्रचण्डले संसदीय पुँजीवादी बाटो लिएको शर्माको दाबी थियो । शनिवार रुपन्देहीको बुटवलमा आयोजित ‘स्मृतिमा वीरजङ्ग’ कृतिको परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै नेता विरहीले यस्तो टिप्पणी गरेका हुन्।

‘जनयुद्धको बेला राज्यले विदेशी सहयोगमा हवाई सेना परिचालन गर्‍यो, सरकारी सेनाले बाहिर क्रान्तिकारीहरूलाई छोडेर आफ्ना किल्लाहरू मजबुत बनाउने र युद्ध लम्ब्याउने रणनीति बनायो, त्यसलाई कसरी तोड्ने भन्ने चुनौती माओवादी आन्दोलनमा पैदा भयो, यस्तो स्थितिमा विचारलाई, कार्यदिशालाई र संयुक्त मोर्चालाई विकास गर्न नसकेपछि प्रचण्डहरूले आत्मसमर्पणको बाटो लिएका हुन्’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टी पूर्वी लुम्बिनी ब्युरोद्वारा आयोजना गरिएको कार्यक्रममा नेता शर्माले देशको राजनीतिक आर्थिक अवस्थाबारे बोल्दै उनले भने, ‘एकातिर दक्षिणपन्थी अवसरवादीहरूको ध्रुवीकरण र अर्कोतिर क्रान्तिकारीहरूको ध्रुवीकरणको प्रक्रिया अगाडि बढिरहेको र गणतन्त्र आइसकेपछि सबै प्रयोगहरू भए, सबै पार्टी र नेताहरूले पालैपालो सरकार चलाए तर देश झनझन संकटको दिशामा अगाडि बढ्दै गएको भन्दैअहिलेको संकटलाई क्रान्तिकारी दिशामा बदल्न सकिएन भने देश भयङ्कर ठुलो प्रतिगमनतिर जाने खतरा छ ।’

नेकपाका पोलिटब्युरो सदस्य ध्रुव सी, साहित्यकारहरू रामचन्द्र भट्टराई, ऋषिराम भुसाल, घनश्याम भुसाल, ब्युरो इन्चार्ज प्रज्वलन सी, रुपन्देही इन्चार्ज शरद सी, ग्रन्थ प्रकाशन समितिका सदस्य प्रकाश डुम्रे, खोमा तरामु,शेर बहादुर विक लगायतले वीरजंगले आन्दोलनमा गरेको योगदानको चर्चा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर