एमालेसँग विकासमा प्रतिस्पर्धा गर्न कांग्रेस-माओवादीलाई विष्णु रिजालको चुनौती – Nepal Press

एमालेसँग विकासमा प्रतिस्पर्धा गर्न कांग्रेस-माओवादीलाई विष्णु रिजालको चुनौती

जुम्ला । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु विकास निर्माणका काममा प्रतिस्पर्धा गर्न कांग्रेस र माओवादीलाई चुनौती दिएका छन् ।

मिसन ग्रासरुटअन्तर्गत जुम्लाको तातोपानी-४, हाकुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हिम्मत छ भने हामीसँग विकास निर्माणका एजेन्डामा प्रतिस्पर्धा गर्नुस् । हामीले अघि सारेका विकास र समृद्धिलाई पछि पार्ने गरी कुनै कार्यक्रम ल्याउनुस्, त्यसपछि हामी पनि मानौँला ।’

आफ्नो पार्टी सरकारमा हुँदा गाउँगाउँमा पठाउन थालेको बजेटकै निरन्तर गाउँमा रकम आउन थालेको र अहिले गाउँगाउँमा सिंहदबारको अवधारणा अघि बढेको चर्चा गर्दै केन्द्रीय सदस्य रिजालले भने, ‘गाउँलाई प्राथमिकता दिने, पिछडिएको क्षेत्रलाई मूल प्रवाहमा समावेश गर्ने वातावरण बनाउने, सबै क्षेत्रको समुचित विकासका लागि कदम चाल्ने र जनतालाई मजबुत बनाउने पार्टी एमाले मात्र हो ।’

नेपाल र नेपालीलाई बलियो बनाउन लागेकोमा चिन्तित भएका शक्तिहरुले एमालेलाई कमजोर बनाउन घेराबन्दी गरेको उल्लेख गर्दै रिजालले भने, ‘हामीलाई यसमा धेरै चिन्ता छैन । किनभने, एमालेलाई जनताको समर्थन छ, हामीसँग विशाल कार्यकर्ता पंक्ति छ । यसैको बलमा हामी आगामी निर्वाचनबाट शानदार बहुमतका साथ सत्तामा पुग्नेछौँ । हामीलाई कुनै विदेशीले दिएको कलो खानु छैन, बरु भोकै बस्छौँ ।’

तातोपानी गाउँपालिका-६ का हाकु, गौतमबाडा, गिडीखोला, नियापानी, पायाँबाडा र पत्थेनीका अगुवा कार्यकर्ता सहभागी रहेको उक्त कार्यक्रममा जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्यद्वय शान्ता शाही र मेनका पछाई, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, सचिव धनकृष्ण पाण्डे, प्रदेश प्रतिनिधि नारायणी चौलागाईं, सदस्यहरू पदम खत्री, चन्द्रलाल न्यौपाने, गुम्ब डॉगी, प्रदेश सल्लाहकार कमिटी सदस्य मोतिराम नेपाली, वडाध्यक्ष अमर रोकाय, पालिका कमिटी अध्यक्ष पूर्ण पाण्डेलगायतले बोलेका थिए ।

कार्यक्रम वडा कमिटीका अध्यक्ष धर्मराज खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा माओवादी परित्याग गरी लछु सार्की र मन्सुरे सार्की एमालेमा प्रवेश गरेका थिए ।

सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई अभियानकै रुपमा अघि बढाउन टोलटोलमा जिम्मेवारी बाँडफाँट गरिएको छ । आठवटा वडा रहेको तातोपानीमा केन्द्रीय प्रतिनिधि रिजालको उपस्थितिमा चारवटा वडामा कार्यक्रम सम्पन्न भएको छ भने चारवटा वडा बाँकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर