कमजोर विम्ब भत्काएर राष्ट्रपति बने रामचन्द्र – Nepal Press

कमजोर विम्ब भत्काएर राष्ट्रपति बने रामचन्द्र

कृषि क्रान्तिका लेखकदेखि जापानी अवार्ड विजेतासम्म

काठमाडौं । बिहीबार राष्ट्रपति चुनाव । बुधबारै रामचन्द्र पौडेलले टेलरिङ गएर कोटको नापो लिएको तस्विर आयो । फागुन १३ गतेको राष्ट्रपति चुनावको मनोनयनकै दिन जीतको मतभार बोकेका पौडेलको कोट नापोको तस्विर पुरानै भए पनि धेरैले नयाँ भन्ने माने । पौडेलको चुनावी आत्मबलको विम्ब बन्यो त्यो तस्विर ।

बिहीबार संघीय संसद भवनमा चुनावी सुरसार हुँदै गर्दा पौडेल मैदानमा पुगिसकेर हात जोड्न व्यस्त थिए । चुनावी परिणाम आफ्नो पक्षमा भएका पौडेलले सांसदहरुलाई भोट माग्न सबैभन्दा पहिले सुरु गरे । मतदान प्रक्रियामा पनि पौडेलले नै पहिलो मतदान गरे ।

नेपाली कांग्रेस पार्टीबाट दोस्रो राष्ट्रपति भएका पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए । पौडेलले दश दलको विशाल संसदीय म्यान्डेट पाएर राष्ट्रपति बन्न पाए । पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे ।

राष्ट्रपति बनेसँगै पौडेलले आफ्नो कमजोर विम्ब पनि भत्काएका छन् । १२ वर्ष अगाडि १७ पटक देशको कार्यकारी प्रधानमन्त्री बन्ने दौडमा असफल पौडेल देशको आलंकारिक प्रमुख बन्ने दौडमा भने एकैपटकमा सफल भए ।

अझ रोचक १२ वर्ष अगाडिको प्रधानमन्त्री बन्ने प्रयासमा आफूसँग लडेका प्रचण्ड र झलनाथ खनाल दुवैको साथमा उनी राष्ट्रपति बन्न सफल भए । राजनीतिमा सबैभन्दा धेरै असफल प्रयास गरेको विम्ब बनेका पौडेलले राष्ट्रपति बनेर त्यो कमजोर विम्ब भत्काएका छन् । २०६७ साउन ५ देखि माघ २० गतेसम्मको प्रधानमन्त्रीमा असफल भएको चोट र विम्ब दुवै पौडेलले बिहीबारको चुनावी गणितबाट बिर्साउन सफल भएका छन् ।

पौडेल अब प्रधानमन्त्रीको असफल उम्मेदवारको कमजोर विम्ब नभएर राष्ट्रपति उम्मेदवारको बलियो विम्ब बन्न सफल भएका छन् । तीन दशक संसदीय चुनावमा खरो उत्रिएका पौडेलले सांसदहरुको मतबाट बन्ने राष्ट्रपतिमा पनि खरो उत्रन सफल भएका छन् ।

राजनीतिक राजमार्ग : छात्र संघदेखि उपसभापति अनि संसदीय दलको नेतासम्म

२००१ असोज २९ गते तनहुँको व्यास नरपालिका ८ बेलथुम्कीमा जन्मेका पौडेलले संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तर गरेका छन् । अहिले काठमाडौं १६ बोहोराटारका स्थायी बासिन्दा पौडेलको चुनाव क्षेत्र चाहिं तनहुँ नै हो । २०१६ सालमा पोखरामा हिमालय छात्र संघ स्थापनामा सक्रिय पौडेल २०१७ जेठ/असारको नेपाल छात्र संघको काठमाडौंको महाधिवशेन प्रतिनिधि भएका थिए । उनको कांग्रेससँगको खरो आबद्धता चै २०१७ पुस १ गतेको महेन्द्रको टेकओभरपछि भएको हो ।

२०३४ सालमा नेपाली कांग्रेस तनहुँको सदस्य भएका पौडेल २०३६ सालमा उपसभापति बने । २०४० सालमा उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य र प्रचार विभाग प्रमुख भए । २०६२ देखि २०६४ सालसम्म पौडेल नेपाली कांग्रेसको महामन्त्री बने । २०६४ देखि २०७२ सालसम्म कांग्रेसको उपसभापति बनेका उनी २०६४ देखि २०७० सालसम्म कांग्रेस संसदीय दलको नेता भए ।

पौडेल आफ्नो राजनीतिक जीवनमा बीपीले जेलबाट छुटेपछि सुन्दरीजल जेलमा भेटेको क्षणलाई सुन्दर क्षण मान्छन् । पछिल्लो संसदीय चुनावी प्रचारमा पनि पौडेलको यही प्रसंगको गीत बनाइएको थियो ।

कृषि क्रान्तिका लेखक एवं कवि रामचन्द्र

धेरैले रामचन्द्र पौडेललाई नेताको रुपमा चिन्छन् । उनी पूर्वसभामुख, पूर्वमन्त्रीदेखि कांग्रेसका पूर्वउपसभापतिको रुपमा चिन्छन् । पौडेलको लेखकीय व्यक्तित्व पनि छ । जुन धेरै चर्चा हुन्न । उनले २०६९ साल मंसिरमा आफ्नो पुस्तक सार्वजनिक गरेका थिए । ‘कृषि क्रान्ति र समाजवाद’ नामक पुस्तक उनले तत्कालीन राष्ट्रपति रामवरण यादवको हातबाट लोकार्पण गरेका थिए ।

दश वर्ष अगाडि शीतल निवासमा पुस्तकका लेखकको रुपमा प्रवेश गरेका पौडेल दश वर्षपछि राष्ट्रपतिकै रुपमा प्रवेश गर्ने भएका छन् । पुस्तकका रुपमा पौडेलको योमात्रै पहिलो र अन्तिम पुस्तक होइन । उनले दर्जन बढी पुस्तक लेखेका छन् । नेपाली कांग्रेसको संक्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद: एक अध्ययन, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा, नेपाली कांग्रेस: अबको प्रजातान्त्रिक समाजवाद, राजनीतिक राजमार्ग, नेपाली कांग्रेस रुपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास आदि उनका प्रकाशित पुस्तकहरु हुन् ।

उनको महेन्द्रको पञ्चायत कालदेखि ज्ञानेन्द्रको संकटकालसम्मका किस्ता किस्ताका जेल जीवनका अनुभूति, निबन्धहरु पनि प्रकाशित छन् । उनी कवि पनि हुन् । उनका कविताहरु पनि प्रकाशित छन् ।

जापान सरकारको विश्वस्तरीय अवार्ड विजेता

तीन महिना अगाडि रामचन्द्र पौडेलले जापान सरकारले दिने विश्वस्तरीय अवार्ड प्राप्त गरे । २०७९ मंसिर २९ गते पौडेललाई जापानको नेपालस्थित दूतावासले अवार्ड हस्तान्तरण गरेको थियो । तीन वर्ष अगाडि घोषणा गरिएको जापान सरकारको ‘अर्डर अफ द राइजिङ सन’ नामक अवार्ड पौडेललाई दिने घोषणा सन् २०२० अप्रिल २९ मा (२०७७ वैशाख १७) मा भएको थियो ।

विल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले समेत पाएको यो अवार्ड जापान सरकारले हरेक दुई वर्षमा प्रदान गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर