चार वर्षदेखि रोकिएको तिलोत्तमा गोल्डकप हुने, ११ लाख ११ हजार नगद पुरस्कारका लागि ८ राष्ट्रिय टीम भिड्ने – Nepal Press

चार वर्षदेखि रोकिएको तिलोत्तमा गोल्डकप हुने, ११ लाख ११ हजार नगद पुरस्कारका लागि ८ राष्ट्रिय टीम भिड्ने

रुपन्देही । चार वर्षयता रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गते हुने भएको छ । मोफसलकै ठूलो राशिको फुटबल प्रतियोगिताको २२औं संस्करणमा चैत ४ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगितामा ८ वटा टीम खेल्ने भएका छन् ।

एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसीले प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मर्स्याङदी, रुपन्देही ११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूरपश्चिम ११ ले प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउनेछन् । उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोच गरी ५ वटा विधामा उत्कृष्ट खेलाडीले ३० हजारका दरले नगद पुरस्कार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले ११ हजार १११ रुपैयाँ पाउनेछन् ।

रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनका अनुसार २०७५ मा २१औं संस्करणको प्रतियोगितापछि कोरोना महामारीलगायत कारणले २२औं संस्करण हुन सकेको थिएन ।

२१ औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार जितेका थिए । २०औं संस्करणको विजेताले ७ लाख ७७ हजार ७७७ रुपैयाँ नगद पुरस्कार पाएको थियो ।

यसअघि विदेशी क्लबहरु पनि सहभागी हुने यस प्रतियोगितामा अहिले पुरस्कार राशि बढे पनि विदेशी क्लबहरु भने सहभागी हुने छैनन् ।

प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ दिने सहमति जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा यशोदा फुड्स प्रालि र त्रिमूर्ति इण्डष्ट्रिज प्रालि रहेका छन् । प्रतियोगितामा एक करोडभन्दा बढी खर्च अनुमान गरिएको छ ।

तत्कालीन बुटवल नगर पञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरु भएको प्रतियोगिताको २२औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा विगत २३ वर्षदेखि जिल्ला फुटबल संघ रुपन्देहीले प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

२०३३ देखि २०३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेन । त्यसपछि २०४३ सालदेखि २०५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता २०५६ सालमा फेरि रोकिएको थियो । २०५७ र २०५८ मा दुई वर्ष लगातार सञ्चालन भए पनि २०६४ सालसम्म फेरि सञ्चालन हुन सकेन ।

त्यसपछि २०६५ सालमा सञ्चालन भएर २०६६ मा रोकियो र २०६७ सालमा पुनः प्रतियोगिता सञ्चालन भएको थियो । २०६८ देखि २०७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप २०७१ सालमा सञ्चालन भए पनि पछिल्लो पटक २०७२ सालमा सञ्चालन हुन सकेन । त्यसपछि लगातार तीन वर्ष प्रतियोगिता सञ्चालन भएको थियो ।

यी हुन् हालसम्मका विजेता

२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो । दोस्रोमा बम्बई फर्टिलाइजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौंमा महेन्द्र पुलिस क्लब विजेता बन्यो ।

चौथो, पाँचौं र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौंमा जनकपुर चुरोट कारखाना विजयी भएका थिए । आठौंमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौंमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौंमा फ्रेन्ड्स क्लब, सत्रौंमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सीएमसी संकटा क्लवले जितेका थिए ।

२०औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रीस्टार क्लव काठमाडौं र २१ औं क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर