नेपालका ३ प्रमुख ब्याट्सम्यान यूएईमा फ्लप : रोहित, ज्ञानेन्द्र र दीपेन्द्रको चलेन ब्याट – Nepal Press

नेपालका ३ प्रमुख ब्याट्सम्यान यूएईमा फ्लप : रोहित, ज्ञानेन्द्र र दीपेन्द्रको चलेन ब्याट

तीन ब्याट्सम्यानले भन्दा बढी रन सन्दीप एक्लैले हाने

काठमाडौं । आफ्नो अन्तिम ‘अवे’ शृङ्खलाका लागि यूएई प्रस्थान गर्दै गर्दा नेपाली टिमको सबैभन्दा ठूलो चासो थियो– त्यहाँको पीच । घरेलु मैदानमा शानदार ब्याटिङ गर्ने नेपालका ब्याट्सम्यानहरू विदेशी मैदानमा भने संघर्ष गर्ने गरेका छन् ।

यूएईको पीचले बलरहरूलाई बढी सहयोग गर्ने भएकाले त्यहाँ रन बटुल्न त्रिवि मैदानमा जस्तो सजिलो हुँदैन । यस्तोमा प्राविधिक रूपमा चुस्त र मानसिक रूपमा सबल ब्याट्सम्यानहरू मात्रै चल्न सक्छन् । यस हिसाबले यूएई टुरमा नेपालको मध्य क्रमका तीन ब्याट्सम्यानहरूबाट बढी आशा राखिएको थियो । यी तीन ब्याट्सम्यानहरू थिए– ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेल । तर, उनीहरू तीनै जना यूएईका पीचमा एकमुष्ट फ्लप भएका छन् ।

टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् ज्ञानेन्द्र मल्ल । पारस खड्कापछि उनी छोटो समय कप्तान पनि बने । अहिले टिमभित्र सिनियर खेलाडीका रूपमा छन् । तर, पछिल्ला म्याचहरूमा उनको खराब फर्म नेपालका लागि चिन्ताको विषय बनेको छ ।

घरेलु मैदानमा आयोजित त्रिकोणात्मक शृङ्खलामा पनि ज्ञानेन्द्रको प्रदर्शन अपेक्षाकृत कमजोर थियो । यूएईमा त उनी पूरै असफल भए । ब्याटिङ पंक्तिमा सबैभन्दा महत्त्वपूर्ण मानिने तेस्रो नम्बरमा खेल्दै आएका उनले अन्तिम म्याचमा कुशल भुर्तेलको अनुपस्थितिमा नेपालको ओपनिङ गरेका थिए । तर, प्रतियोगिताका चार वटै खेलमा उनको ब्याट चलेन । यूएईको शृङ्खलामा ज्ञानेन्द्रको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो, ११ रन ।

पीएनजीविरुद्धको पहिलो म्याचमा ज्ञानेन्द्र १० बलको सामना गर्दै ४ रनमा बोल्ड भएका थिए । दोस्रोमा यूएईविरुद्ध ६ बल खेलेर रनको खाता नखोली आउट भए । तेस्रोमा पीएनजीविरुद्ध २० बल खेल्दा ६ रन मात्रै जोड्न सके । चौथोमा आसिफ शेखको ओपनिङ जोडीका रूपमा आएका उनले २६ बलमा ११ रन बनाए । यसरी ज्ञानेन्द्रले चार खेलमा जम्माजम्मी २१ रन जोड्न सकेका छन् । उनको स्कोरिङ रेट पनि कमजोर छ । यूएईमा खराब प्रदर्शनका कारण अब हुने घरेलु शृङ्खलामा उनले टिममा स्थान गुमाउन सक्ने खतरा देखिएको छ ।

रोहित पौडेलको कुरा गर्दा उनको पनि व्यक्तिगत प्रदर्शन दयनीय नै रह्यो । पहिलो खेलमा उनले पीएनजीविरुद्ध राम्रो सुरुवात गरेका थिए । २१ बलमा २० रन जोडेका रोहितलाई पीएनजीका समकक्षी असाद भालाले आउट गरे । त्यसपछिका तीन म्याचमा उनको ब्याट थचक्कै बस्यो ।

यूएईविरुद्धको दोस्रो खेलमा रोहित जुनैद सिद्धकीबाट शून्यमै बोल्ड भए । यद्यपि, यसमा रोहितलाई धेरै दोष दिन सकिँदैन, किनकि त्यो बल जोसुकै ब्याट्सम्यानलाई पनि झेल्न कठिन हुने खालको थियो । पीएनजीविरुद्धको दोस्रो म्याचमा पनि रोहितले ८ बल खेल्दा १ रन मात्रै जोड्न सके । हिजो यूएईविरुद्धको म्याचमा पनि उनी एक रनमै आउट भए । यसरी कुल मिलाएर रोहितले ४ म्याचमा २२ रन मात्रै जोड्न सफल भए । नेपाली टिमको भविष्यका रूपमा हेरिएका रोहितका लागि यो शृङ्खला ठूलो सेटब्याक बनेको छ ।

नेपाली समर्थकलाई निराश बनाउने अर्का ब्याट्सम्यान हुन् दीपेन्द्र सिंह ऐरी । बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका ऐरीले ब्याटिङ गर्न भने बिर्सिएझैँ भएको छ । पहिलो म्याचमा दीपेन्द्रले पीएनजीविरुद्ध ४३ बलमा २२ रन बनाएका थिए, जसमा एउटा छक्का समावेश थियो । दोस्रोमा यूएईविरुद्ध २३ बलमा ७ रन मात्रै जोड्न सके । तेस्रोमा पनि १६ बलमा आठ रन बनाएर आउट भए । हिजो यूएईविरुद्धको चौथो म्याचमा ११ बल खेल्दा चार रन बनाए । कुल मिलाएर उनले ४ खेलमा ४१ रन बनाएका छन् ।

यस प्रकार नेपालको मध्य क्रमका यी तीनजना ब्याट्सम्यानले संयुक्तरुपमा चार खेलमा ८४ रन जोडे । उनीहरू तीन जनाले चार म्याचमा बनाएको कुल रनभन्दा बलर सन्दीप लामिछानेले एक्लै बनाएको रन बेसी छ । तीन वटा मात्र म्याचमा खेलेका सन्दीपले कुल ८८ रन बनाएका छन् ।

प्रमुख ब्याट्सम्यानहरू फ्लप हुँदा पनि नेपालले चारमध्ये ३ म्याचमा जित निकाल्न सक्नु चाहिँ सुखद पक्ष हो । यसले नेपाली टिम कोही पनि ब्याट्सम्यानमा निर्भर नरहेको र आवश्यकता पर्दा जसले पनि म्याच जिताउन सक्ने देखियो । नेपालको ब्याटिङ पनि असाध्यै लामो भएको फाइदा पनि यूएईको पीचमा मिलेको थियो । नेपाली टिममा ११ नम्बरसम्म नै ब्याटिङ क्षमता थियो । त्यसैले टप अर्डर धराशायी हुँदा मिडल अर्डरले र त्यो पनि नचल्दा लो अर्डरले नेपाललाई खेल जिताए । अब घरेलु मैदानमा हुने शृङ्खलामा भने नेपालले टप र मिडल अर्डरबाटै बढी आशा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर