रामचन्द्रमाथि ओलीको प्रहार- सभामुख हुँदा उनले गरेका गल्तीको तिथिमिति गोकुल बाँस्कोटाले टिपेर राखेका छन् – Nepal Press

रामचन्द्रमाथि ओलीको प्रहार- सभामुख हुँदा उनले गरेका गल्तीको तिथिमिति गोकुल बाँस्कोटाले टिपेर राखेका छन्

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष शर्मा ओलीले रामचन्द्र पौडेललाई संसदीय प्रणालीमा बेठीक अभ्यासको सुरुवात गर्ने व्यक्ति भएको भनी आलोचना गरेका छन् । एमाले मुख्यालयमा राष्ट्रपतिको निर्वाचनको लागि नेकपा (एमाले) का प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षणमा पौडेलले सभामुख हुँदा गरेका गल्ती टिपेर राखिएको बताए ।

‘नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रजातन्त्रका लागि लामो समयदेखि लाग्दै आउनु भएको छ । तर, उहाँले सभामुख हुँदा के गर्नुभयो हामीले देखेका छैनौँ ?,’ ओलीले भने, ‘गोकुल बास्कोटाले तिथिमिति टिपेर राख्नुभएको छ । गोकुल बास्कोटालाई तिथिमिति सबै थाहा छ । मैले संसदमा २०५५ साल साउनमा कालापानी क्षेत्रमा भारतीय सेना छ । नेपालको भू–भागमा भारतीय सेना रहेको विषयमा छलफल गरौँ भन्दा उहाँले छलफलको विषय नै होइन भनेर सभामुखको अधिकार प्रयोग गरेर सांसदहरुको अधिकार खोस्नु भएको थियो ।’

त्यतिबेला पौडेलले बहुमतको अहंकार देखाएर राष्ट्रियताको त्यस्तो गम्भीर विषयको प्रस्तावमा छलफल हुन नदिएर पदको दुरुपयोग गरेको इतिहास साक्षी रहेको ओलीले स्मरण गराए ।

‘त्यति मात्रै होइन, ०५४ सालमा एमालेका सांसद बोलाइबोलाई सही गर्न लगाएर एमाले फुटाउन महत्वपूर्ण भूमिका खेल्ने मान्छे रामचन्द्र पौडेल हुन्’, ओलीले भने, ‘संसदीय बेठीक अभ्यासको सुरुवात गर्ने उहाँ नै हो । केही पनि पालना गर्नु नपर्ने जे पनि कुल्चिन मिल्ने व्यक्ति हो । व्यक्तिगत रुपमा उहाँ मेरो साथी हो । तर, सभामुखको रुपमा काम नलाग्ने मान्छे हो । राष्ट्रपतिमा त झन काम नलाग्ने मान्छे हो ।’

पौडेलले ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरेका थिए ।

२०५१ सालको मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमाले २०५४ सालमा विभाजन भएको थियो । एमाले विभाजन हुँदा पौडेल सभामुख नै थिए । एमाले २०५८ मा एकीकरण भएको थियो ।

पौडेलले राष्ट्रपति ठीक ढंगबाट चलाउने भन्ने आशा नभएको भन्दै उनका त्यस्ता फेहरिस्त धेरै भएको दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर