उपसभापति खड्काको दाबी : रामचन्द्र पौडेललाई सहयोग गर्न राप्रपा सकारात्मक – Nepal Press

उपसभापति खड्काको दाबी : रामचन्द्र पौडेललाई सहयोग गर्न राप्रपा सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

सोमबार राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसँग भेट गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए । उनले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताए ।

‘२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल संविधानको रक्षा गर्नसक्ने उपयुक्त पात्र हुनुहुन्छ त्यसकारण हामीले उहाँहरुसँग हामीलाइ सहयोग गर्न भन्यौँ’, उनले भने, ‘उहाँहरुले अग्रिम शुभकामना दिनुभयो । उहाँहरुले २४ गते बैठक बसेर निर्णय गर्ने भन्नुभएको छ । सकारात्मक जवाफ आएको छ ।’

तर राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने पार्टीको बैठकको निर्णयले मात्रै सहयोग गर्ने नगर्नेबारे टुंगो लगाउने बताए ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तीव्र बनाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर