काठमाडौंको जाम हटाउन ‘पड वे’ सञ्चालनको पहल, यस्ता छन् विशेषता (भिडिओ) – Nepal Press

काठमाडौंको जाम हटाउन ‘पड वे’ सञ्चालनको पहल, यस्ता छन् विशेषता (भिडिओ)

काठमाडौं । विश्वका प्रदूषित सहरहरूको सुचीमा विगत लामो समयदेखि पकड जमाइरहेको शहर हो काठमाडौं । यो रिपोर्ट तयार पार्दाको समयसम्म प्रदूषित सहरहरूको सुचीमा काठमाडौं १५ औँ स्थानमा रहेको छ ।

देशको संघीय राजधानीलाई प्रदूषित शहरको ‘ट्याग’ भिराउनका लागि मुख्य कारकतत्व हो, अस्तव्यस्त यातायात र तिनीहरूले उत्सर्जन गर्ने कार्बन । अस्तव्यस्त यातायातले मानिसको स्वास्थ्यमा पारेको असर एक ठाउँमा छँदै छ, त्यसबाहेक अत्यधिक ट्राफिक जामले सहरवासीलाई आजित तुल्याएको छ । चाहे निजी सवारी होस् वा सार्वजनिक, गन्तव्यमा पुग्नका लागि जाममा रोकिनुपर्ने समय पहिल्यै छुट्याउनुपर्छ ।

ट्राफिक जामको समस्यालाई हल गर्ने तथा वैकल्पिक ऊर्जाको प्रयोग गरेर यातायात प्रणाली प्रभावकारी बनाउने हेतुले बेला–बेला विभिन्न अध्ययनहरू हुने गरेका छन् । तर, व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन् । वैकल्पिक यातायात प्रणालीका रूपमा काठमाडौँमा केही वर्षयता मोनो रेल र मेट्रो रेलको विषयमा घनिभूत छलफल हुने गरेको छ । यसअघि काठमाडौंको मेयर चुनाव जितेका विद्यासुन्दर शाक्यले मोनोरेलको सपना देखाएका थिए । तर, सिन्को पनि भाँच्न सकेनन् ।

अहिले आएर एउटा नयाँ यातायात प्रणाली काठमाडौंमा भित्र्याउन सुरसार हुन थालेको छ, जसको नाम हो ‘पड वे’ । वातावरण मैत्री, सर्वसुलभ तथा प्रभावकारी यातायात प्रणालीका रूपमा यसलाई काठमाडौंमा भित्र्याउन सकिने अध्ययनहरुले देखाएका छन् ।

के हो पडवे?

सामान्य भाषामा भन्नुपर्दा स्ट्रिङ्गलाई तारमा गुड्ने रेलको रूपमा बुझ्न सकिन्छ । झट्ट हेर्दा केवलकार जस्तो देखिने यो प्रविधि बिजुलीबाट सञ्चालित हुन्छ भने एआईको कारण स्वचालित हुन्छ । केबलकारमा केबल घुम्छ भने पडवेमा केबलमा रहेको कार घुम्छ । बेलारुसका वैज्ञानिक एनाटोनी युनीट्स्कीले यो प्रविधिको विकास गरेका हुन् ।

युनिट्स्की स्ट्रिङ्ग टेक्नोलोजीको ‘पेटेन्ट प्रोडक्ट’ का रूपमा रहेको छ । नेपालको सन्दर्भमा कुरा गर्नु पर्दा काठमाडौं पडवे कम्पनी यसको आधिकारिक साझेदार रहेको छ । केबलकारलाई ‘मास ट्रान्सपोर्ट’ को रूपमा प्रयोग गर्दा अत्यन्तै खर्चिलो हुने हुँदा पड वे उपयुक्त र प्रभावकारी माध्यम बन्न सक्ने जनाइएको छ ।

‘केबलकारको लागत खर्चको तुलनामा पडवेको लागत खर्च ८५ प्रतिशत कम हुने हाम्रो विश्वास छ,’ काठमाडौं पडवे कम्पनी प्रालीका सह–संस्थापक निल भट्टराईले भने ।

यति मात्र नभएर अन्डर ग्राउन्ड मेट्रो रेल बनाउने लागतको मात्र ४ प्रतिशतमा पडवे निर्माण हुनसक्ने भट्टराईको दाबी छ ।

उनी थप्छन्, ‘अहिले यथावत् सार्वजनिक यातायात प्रणालीको श्रमिक लागत इन्धन खपत, मर्मत सम्भार लगायतमा हुने खर्चको तुलनामा पडवेको खर्च दुईदेखि तीन प्रतिशत कम हुन सक्छ ।’

कम्पनीका अनुसार पडवेमा युनिकार र युनिबसहरु सञ्चालनमा ल्याउन सकिन्छ । युनिकारमा एक पटकमा ६ जना यात्रुले यात्रा गर्न सक्छन् भने युनिबसको क्षमता १४ जनाको हुन्छ । सार्वजनिक यातायातको रूपमा प्रयोग गर्दा युनिबसका डब्बाहरु जोडेर ४२ जना एकै पटकमा यात्रा गर्न सक्छन् । भट्टराईका अनुसार युनीबसले एक घण्टाको राउन्ड ट्रिपमा हजारभन्दा बढी यात्रुलाई गन्तव्यमा पुर्‍याउन सक्छ ।

मुआब्जाको समस्या आउँदैन

नेपालमा नयाँ योजना अघि सार्दा उक्त आयोजनालाई चाहिने जग्गा अधिग्रहणको समयमा मुआब्जा विवाद अत्यधिक देखिने गरेको छ । पडवे सञ्चालनका लागि छुट्टै सडक नचाइने हुँदा मुआब्जा विवाद आउँदैन । भइरहेका सडककै माथि आकाशे पुलको जस्तै स्टेशन र पोलहरूको प्रयोग गरेर पडवे सञ्चालनमा ल्याउन सकिने कम्पनीको भनाई छ ।

पडवेलाई सडकको माथि राखिने आकाशे पुल जसरी बुझ्न सकिने भट्टराईले बताए । सार्वजनिक सडकको २० फिट माथि पडवे सञ्चालन गर्न सकिने जनाइएको छ ।

१० रुपैयाँमा १ किलोमिटर यात्रा

काठमाडौं पड वे प्रालीका अनुसार यो प्रविधि सञ्चालनमा ल्याउन सके प्रतिकिलोमिटर १० रुपैयाँमा यात्रा गर्न सकिन्छ ।

‘हाम्रो मुख्य लक्ष्य भनेको पड वेलाई सार्वजनिक यातायातको रूपमा प्रयोगमा ल्याउनु हो । पर्यटकीय क्षेत्रमा निश्चित भाडा उठाएर फाइदामा जाने हाम्रो लक्ष्य होइन । पडवेमा १ किलोमिटरको १० रुपैयाँ सम्ममा यात्रा गर्न सकिनेछ,’ भट्टराईले भने ।

सुरक्षित र वातावरण मैत्री

यो प्रविधि बिजुली मार्फत सञ्चालन हुने हुँदा यसलाई वातावरणमैत्री प्रविधिको रूपमा लिन सकिन्छ । साथै पडवे आर्टिफिसियल इन्टेलीजियन्समार्फत स्वचालित हुने हुँदा दुर्घटनाको जोखिम अत्यन्तै कम हुने कम्पनीले जनाएको छ ।

पडवे १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्छ । पडवे सञ्चालनमा रहिरहेको अवस्थामा विद्युत सञ्चार बन्द भए पनि ब्याकअप मार्फत १०० किलोमिटर सम्म गुड्न सक्ने जनाइएको छ । यसले काठमाडौंको ट्राफिक जामको समस्या धेरै हदसम्म कम हुने कम्पनीको दाबी छ ।

कम्पनीका सहसंस्थापक भट्टराईका अनुसार यस प्रविधिमा लगानी गर्नका निमित्त थाईल्याण्ड, क्यानडा, स्वीजरल्याण्ड लगायतका देशहरूका लगानिकर्ताहरुसँग एक तहको समझदारी भइसकेको छ । नेपाली लगानीकर्ताको लागि अवसर खुला रहेको उनले बताए ।

के छ तयारी ?

तत्कालीन शहरी विकासमन्त्री मेटमणि चौधरीले गत असोजमा काठमाडौंमा मास ट्रान्स्पोर्टको रूपमा पड वे प्रयोग गर्न सकिने ब्रिफिङ गरेका थिए । सोही अनुरूप शहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई ‘माइक्रो रेल’ को अध्ययनका लागि छुट्याइएको बजेट रकमान्तर गर्न असोज ११ मा पत्रसमेत पठायो ।

‘काठमाडौंभित्र ट्राफिक व्यवस्थापन गर्न विभिन्न स्थानहरूमा माइक्रो रेल अर्थात् स्ट्रिङ प्रविधिमा आधारित यातायात निर्माण गर्न ३१ करोड बराबरको बजेट सहरी विकास कार्यक्रमबाट व्यवस्था गर्न अनुरोध छ,’ सचिवस्तरिय निर्णयमा उल्लेख छ ।

सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई रकमान्तरको निमित्त पत्राचार गरे तापनि सरकार परिवर्तन भएसँगै यस विषयमा कुनै निर्णय हुन सकेको छैन ।

‘सरकार परिवर्तन भएसँगै नयाँ मन्त्री ज्युलाई यसबारेमा ब्रिफिङ गर्नु पर्ने भएकाले हाल केही निर्णय भइसकेको छैन,’ अर्थ मन्त्रालय स्रोतले भन्यो । अर्थ मन्त्रालय अहिले मन्त्रीविहीन छ ।

सह–संस्थापक भट्टराईका अनुसार लुम्बिनी क्षेत्रमा यसको सञ्चालनबारे अध्ययनको सम्झौता भइसकेको छ । यति मात्र नभएर कोभिडको समयमा गोकर्णेश्वर नगरपालिकाले पडवे सञ्चालनका लागि २ करोड बजेट विनियोजन नै गरेता पनि दुईवटा नगरपालिका जोडीने भएकाले योजना अघि बढ्न सकेन । कम्पनीले गोकर्णेश्वरमा क्यानेडियन प्राविधिक मगाएर सम्भाव्यता अध्ययनसमेत पुरा गरिसकेको छ । योजनाका निमित्त चाहिने अनुमति संघिय सरकारले दिन पर्ने भएकाले उक्त प्रकृयाका निमित्त सरकारी निकायले तदारुकता देखायो त्यति नै छिटो पडवे सञ्चालनमा आउन सक्ने भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *