‘एमालेसँग एकता गर्नुपर्छ, अहिलेको गठबन्धनबाट माधव नेपाललाई कांग्रेसले प्रधानमन्त्री दिँदैन’ – Nepal Press
नेपाल टक

‘एमालेसँग एकता गर्नुपर्छ, अहिलेको गठबन्धनबाट माधव नेपाललाई कांग्रेसले प्रधानमन्त्री दिँदैन’

नेकपा एसका नेता मुकुन्द न्यौपाने भन्छन्- प्रचण्डको कार्यशैलीको कारण माओवादीसँग एकता गर्न सकिँदैन

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै राजनीति गर्माएको छ । अहिले आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार छन् भने एमालेबाट सुवास नेम्वाङ चुनावी मैदानमा छन् । कांग्रेसको सक्रियतामा निर्वाचनअघिको गठबन्धन ब्युँतिएर पौडेललाई नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले अगाडि सारेको छन् ।

अहिले गठबन्धनमा पावर शेयरिङका आधारमा प्रचण्डपछि माधव नेपाल र चुनावी सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्ने सहमति बनेको छ । अहिलेको आठ दलीय गठबन्धनमा नेकपा एकीकृत समाजवादी पार्टी पनि मिसिएपछि विवाद उत्पन्न भएको छ । राष्ट्रपतिमा पौडेललाई सघाउने विषयमा पार्टीभित्र मतभेद देखिए पनि उनैको पक्षमा मत हाल्ने औपचारिक निर्णय गरिएको छ ।

राष्ट्रपतिमा पौडेललाई सघाउने विषयमा पार्टीमा मतभेद देखिएको हो ? अहिलेको गठबन्धनको कति समय टिक्ला ? माधव नेपाल पनि प्रधानमन्त्री बन्ने सहमति भएको हो? कम्युनिष्ट एकतालगायतका विषयमा केन्द्रित रहेर नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेसँग नेपाल प्रेसकर्मी रमेश पराजुलीले गरेको कुराकानीः

– राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सघाउने विषयले पार्टीभित्र मतभेद देखिएको हो ?

एमालेबाट माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव आएपछि पार्टीको सचिवालय बैठक बसेको थियो । माधव नेपाल र केपी कमरेडको बीचमा चार घण्टा लामो कुरा भयो । तर, ठोस कुरा भइसकेको थिएन । विगतका कमीकमजोरी सच्चाउँदै जाने भन्ने कुरा भयो भनेर बैठकलाई ब्रिफिङ गराउनुभएको थियो । पहिले त्यत्रो झगडा गरेको मान्छे मिलेर जाने कि भन्ने संकेत देखिएको थियो । एमालेले राष्ट्रपति दिन्छ भने अरु पार्टीसँग पनि माग्ने र छलफल गर्ने भन्ने कुरा भएको थियो । तर, पछि राजनीतिक गतिविधि धेरै भएपछि अहिलेको अवस्थामा पुगेको हो । सचिवालयमा त्यसको विपक्षमा मत राख्नेहरु भए पनि अहिलेको परिस्थितिमा पुगेको छ ।

– झलनाथ खनालले अहिले सार्वजनिक रुपमै असन्तुष्टि राख्नुभएको छ । पार्टी बैठकमा पनि विमति राख्नुभयो ?

उहाँले असन्तुष्टि राख्नुभएको होइन । राष्ट्रपति मलाई या माधव कमरेडलाई दिए पनि आपत्ति छैन । तर, सहमतिमा दिन्छन् भने हामीले समझदारीमा लिनुपर्छ भन्ने कुरा थियो उहाँको पनि । तर, उहाँ बंगलादेश भ्रमणमा जानुभएपछि गतिविधि अन्तै मोडिए । त्यसपछि बनेको गठबन्धनबारे बोल्नुभएको मैले पनि देखेको छु । तर, उहाँले पार्टी निर्णयविरुद्ध नै असन्तुष्टि राख्नुभएको होला जस्तो मलाई लाग्दैन । अहिले नेताहरुको चिन्तन सत्ता केन्द्रित भएर कुन गठबन्धनमा लागेर धेरै खान पाउँछु भन्ने देखिएको छ । अहिलेसम्मको लडाइँ कुर्सी केन्द्रितमात्रै भयो । देश, जनता, राष्ट्र, राष्ट्रियताका कुरा पछि परेका छन् । अहिले कुर्सीमा मात्रै लुछाचुँडी भएपछि घरभित्र हुँदा एउटा कुरा हुन्छ । तर, बाहिर निस्केपछि कोकोसँग कुम जोडिन्छ, त्यहीअनुसार मत फेरिन्छ । अहिले पार्टीमा देखिएको पनि त्यही हो भन्ने मलाई लाग्छ ।

अहिले नेताहरुको चिन्तन सत्ता केन्द्रित भएर कुन गठबन्धनमा लागेर धेरै खान पाउँछु भन्ने देखिएको छ । अहिलेसम्मको लडाइँ कुर्सी केन्द्रितमात्रै भयो । देश, जनता, राष्ट्र, राष्ट्रियताका कुरा पछि परेका छन् ।

– तपाईं एमालेसँग सहकार्य बढाउने पक्षमा हुनुहुन्छ । तर, अहिले पछिल्लो दुई महिनामा भएको राजनीतिक घटनाक्रमलाई कसरी लिनुहुन्छ ?

मैले बैशाख १२ गतेको सचिवालय बैठकमा यो गठबन्धन टिक्दैन, यो स्वार्थ र कुर्सीको लडाइँको गठबन्धन हो, कांग्रेसमा पनि आफैंले ठूलो कुर्सी पाउनुपर्छ भन्ने स्वभाव छ, माओवादीको प्रचण्डमा पनि छ र हाम्रा साथीहरुमा पनि त्यही देखिँदैछ भनेको थिएँ । त्यसैले गठबन्धन होइन ठगबन्धन हो भनेर मैले सचिवालय बैठकमा फरक मत दर्ज गरें । झलनाथले मेरो पनि त्यही हो । तर, बाहिर नलैजाऔं भन्नुभयो । स्थानीय चुनावमा समाजवादी धूलिसात भयो । २० वटा पालिका जितेको छ ।

तर, माओवादीले समाजवादीले धेरै खोज्यो भनेर भाषण गर्दै हिँड्यो । मैले गठबन्धन टिक्दैन भनिरहें । तर, हाम्रा पार्टीका नेताहरुले गठबन्धन टुट्ने बिहानसम्म यो १० वर्षसम्म जान्छ, तीन नेता प्रधानमन्त्री बन्नुहुन्छ भन्दै हिँड्नुभयो । तर, हामी कसरी यो परिस्थितिमा पुग्यौं ? किन १० महिना पनि सरकार टिक्दैन ? पछिल्ला २५ वर्षमा नेपालमा ३० वटा सरकार फेरिए । दुई पटक राजा ज्ञानेन्द्रले लिए, २८ वटा प्रधानमन्त्री फेरिए । भारतमा ७५ वर्षमा १६ वटा प्रधानमन्त्री फेरिँदैछन् । तर, अहिले यहाँ एक कार्यकालमा तीनवटाले खाने भनेर भागबन्डा गर्दैछन् । नेताहरु कुर्सी केन्द्रित भएकै कारणले देश कहाँ पुगिसक्यो ? त्यसतर्फ कसैको ध्यान गएको छैन ।

– अहिले एमाले नेतृत्वको गठबन्धन दुई महिनामै टुटेर आठ दलीय नयाँ गठबन्धन बनेको छ । यो कति समयसम्म जाला ?

यो गठबन्धन कम्तिमा १० महिनाभित्रै छिन्नभिन्न हुन्छ । नेताहरुको अहिले देखिएको स्वभाव सबैले देखिराख्नुभएको छ । साढे २ वर्ष प्रचण्ड खाने, एक वर्ष माधव नेपाल खाने, साढे १ वर्ष शेरबहादुर देउवा खाने सहमति भएको भनेका छन् । माधव नेपाललाई बीचमा खान प्रचण्डले राजीनामा दिनुपर्‍यो वा कसैले समर्थन फिर्ता लिनुपर्‍यो । संविधानअनुसार प्रचण्ड बाहिरिन कुन बाटो हुन्छ अरु ? प्रचण्डले राजीनामा दिएपछि ठूलो दलको हैसियतले दावा गर्न त कांग्रेस नै जान्छ । माधव नेपाल बीचमा एक वर्ष प्रधानमन्त्री बन्ने म बाटो देख्दिनँ, कांग्रेसले दिँदै दिँदैन । सहमतिअनुसार गए त्यो बेलासम्म जनतामा असन्तुष्टिको लहर देखिन थाल्छ । त्यसपछि कांग्रेस एक्लै आफ्नो चुनावी सरकार बनाउनतिर लाग्छ । यो गठबन्धनलाई मैले भनेको छु ‘भ्यागुताको अवलोकन र सिंहलोकन’ । सिंहले पो पछाडि फर्केर हेर्छ, म कति सुरक्षित छु ? कुन बाटो जाने भनेर ? तर, भ्यागुतोले न दायाँ हेर्छ न त बायाँ हेर्छ, उफ्रिँदै जान्छ पछाडिबाट सर्पले टिपेर निल्दिछ । भ्यागुताको जीवन सकिन्छ । यो गठबन्धन पनि त्यस्तै हो ।

– भनेपछि समाजवादीले कांग्रेस-माओवादी गठबन्धन रोज्नु गलत भन्ने तपाईंको बुझाइ रह्यो ?

यो गठबन्धन गज्याङमज्याङको गठबन्धन हो । अहिले पनि त्यस्तै भद्रगोल छ । त्यसैले यो गठबन्धन रोज्नु उपयुक्त हो जस्तो मलाई लाग्दैन ।

– राष्ट्रपतिको विषयलाई लिएर एमाले र नेकपा एसबीच औपचारिक संवाद सुरु भएको छ । त्यसले एकताको वातावरण बन्छ त ?

अहिले नेताहरुको ध्यान प्रधानमन्त्री, उपप्रधानमन्त्री, एक महिना भए पनि मन्त्री खाइहाल्नेतिर गएको छ पूर्वमन्त्री लेख्नलाई । अहिले जनताको भोट किन्नलाई पैसा जम्मा गर्ने प्रवृत्ति राजनीतिमा बसेको छ । त्यसैले मैले एमालेसँगको एकता आजको आवश्यकता, एमालेसहितको कम्युनिष्ट एकता र ‘एक देश, एक कम्युनिष्ट पार्टी’ भन्ने कुरा मैले पार्टीको पछिल्लो केन्द्रीय कमिटीमा पनि फरक मत पेश गरेको थिएँ । मेरो यो मतको पक्षमा पाटीएका धेरै साथीहरु हुनुहुन्छ । अहिलेको आवश्यकताअनुसार दुई पार्टी जुटाउन नसके देश र कम्युनिष्ट आन्दोलन अगाडि जाँदैन । त्यसैले एक देश एक कम्युनिष्ट पार्टीको बाटोमा जानुपर्छ ।

मैले गठबन्धन टिक्दैन भनिरहें । तर, हाम्रा पार्टीका नेताहरुले गठबन्धन टुट्ने बिहानसम्म यो १० वर्षसम्म जान्छ, तीन नेता प्रधानमन्त्री बन्नुहुन्छ भन्दै हिँड्नुभयो ।

– यहीबीचमा तत्कालीन नेकपा ब्युँताउनुपर्ने गाइँगुइँ चर्चा चलेको छ । त्यो सम्भव छ ?

कतिपय साथीहरुले त्यस्तो भनेको सुन्छु । तर, अस्ति प्रचण्डजी शेरबहादुरलाई छलेर ओलीपट्टि हामफाल्नुभो । १५ वर्ष टिक्छ यो गठबन्धन भनेर भाषण गर्ने प्रचण्ड १० दिनपछि उता छिर्नुहुन्छ । अहिले पनि फेरि ६९ दिनमै एमाले छाडेर कांग्रेसतर्फ फर्किनुभयो । त्यसैले प्रचण्डसँग बसेर फेरि पुरानै कम्युनिष्ट पार्टी ब्युँताउछु भन्ने नसोचे हुन्छ ।

– प्रचण्डसँगको सहकार्य तत्काल सम्भावना छैन भन्ने तपाईंको बुझाइ हो ?

त्यो सम्भावना छैन । हामीसँग मात्रै नभएर एमाले र माओवादीबीचको एकीकरण पनि सम्भव छैन अहिले ।

– तर, एकीकृत समाजवादीले त माओवादीसँग एकता गर्न कार्यदल पनि बनाएको थियो नि ?

त्यो बेलामा पनि म त्यो निर्णयको विरुद्धमा थिएँ । तर, पछि वेदुरामले त्यस्तो कुनै निर्णय भएको छैन भनेर विज्ञप्ति जारी गर्नुभयो । भदौ ३० गते माओवादीसँग एकता गर्ने भएर सर्कुलर नै जारी भएको थियो । मैले एमालेबाहेकको कम्युनिष्ट एकता भन्नु कम्युनिष्ट सिध्याउने खेल भनेको छु । त्यसैले मैले एमालेसहितको कम्युनिष्ट एकताको पक्षमा जोड दिएको छु ।

– तपाईं अब एमालेसँग एकता भए पनि माओवादीसँग गर्न हुँदैन भन्ने पक्षमा हुनुहुन्छ । प्रचण्डसँग किन मिल्न चाहनुहुन्न ?

अहिलेको परिस्थितिमा एमालेसँग एकता हुनसक्छ । तर, प्रचण्डको कार्यशैलीकै कारणले माओवादीसँग हुन सक्दैन । उहाँ कस्तो विषयमा अडान राख्नुहुन्छ भन्ने नै क्लिएर छैन । अहिले उहाँ कुन सिद्धान्तमा हुनुहुन्छ ? भन्ने नै छैन । हेर्नुस् न चुनावअघि उहाँ चिनियाँहरु आए । उहाँ त्यहाँबाट भारत भ्रमणमा जानुभयो । त्यहाँबाट आएर आफू प्रधानमन्त्री बन्ने भनेर शेरबहादुरसँग आधा-आधा खाने सहमति गर्नुभयो । पछि शेरबहादुरले मानेनन् भनेर ओलीसँग आधा-आधाको सहमति गर्नुभयो । अहिले फेरि शेरबहादुरसँगै फर्किनुभयो । इन्डियामा गएर यो समझदारी बनेको फर्केपछि घोषणा गरेको भन्ने चर्चा चलेको थियो । त्यो कुरा विस्तारै खुल्दै जालान् । तर, प्रचण्ड नेपालको कम्युनिष्ट आन्दोलन एक ठाउँमा बनाएर जाने मनस्थितिबाट अगाडि बढेको देख्दिनँ ।

– नेपालको राष्ट्रपतिको विषयमा अन्तर्राष्ट्रिय दौडधुपलाई कसरी लिनुहुन्छ ?

अहिले भारत र अमेरिका रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउने पक्षमा छन् । उनीहरुको सुहाउँदो पात्र पनि उनै हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर