सहिद परिवारको घरमा सुखानी दिवस मनाउँदै एमाले फिदिम


विराटनगर । नेकपा एमाले फिदिमले सुखानी हत्याकाण्डको सम्झनामा पार्टीले मनाउँदै आएको सुखानी दिवस यस पटक सहिद परिवारको घरमा गएर मनाउने निर्णय गरेको छ ।
पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँच जना कम्युनिष्ट नेताहरूलाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ मा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरिएको थियो ।
तत्कालीन प्रशासनले नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहालको हत्या गरेको सम्झनामा एमालेले फागुन २१ गते सुखानी दिवस मनाउँदै आएको छ ।
पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटअन्तर्गत फिदिममा शुक्रबार भएको योजना बैठकले पार्टीले सञ्चालन गरेका अभियानका क्रममा सहिद भएका फिदिम नगरपालिका क्षेत्रका सहिद परिवारका घरमा गएर सुखानी दिवस मनाउने योजना बनाएको एमाले केन्द्रीय सदस्य अमृता सुब्बाले बताइन् ।
उनले सहिद परिवारको सुखदुःख बुझ्न र पार्टीले बनाएको योजना सहिद परिवारसँग बाँड्न पार्टी सहिद परिवारको घरैमा जान लागेको बताइन् ।
सहिदको बलिदानले उपलब्धि भए पनि पार्टीले सहिद परिवारलाई बिर्सिएको आलोचना भइरहँदा ग्रासरुट अभियानले पार्टी सहिद परिवारसँगै भएको अनुभूति दिलाउने उनको भनाइ छ ।
बैठकले प्रदेश कमिटी सदस्य मेघराज घिमिरे, जिल्ला कमिटी सचिव विष्णु सापकोटा र जयप्रसाद केरुङ संयोजक रहने तीन वटा कमिटीसमेत गठन गरेको छ । कमिटीले पालिकाका सबै वडामा गएर सङ्गठन विस्तार गर्नेछ ।
बैठकले जनवर्गीय सङ्गठनको भेला, गठन र पुर्नगठन गर्नेछ । यस्तै अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।