वैदेशिक रोजगार विभागमा तारा बरालमाथि किन भयो हातपात ? (बयानसहित) – Nepal Press

वैदेशिक रोजगार विभागमा तारा बरालमाथि किन भयो हातपात ? (बयानसहित)

काठमाडौं । वैदेशिक रोजगारका पीडितलाई न्याय माग्न भन्दै वैदेशिक रोजगार विभाग पुगेकी अभियन्ता तारा बरालमाथि मंगलबार हातपात भएको छ । आफूलाई म्यानपावर व्यवसायी र गुण्डाको समूहले हेलमेटले प्रहार गरेको आरोप बरालले लगाएकी छन् ।

सामाजिक सञ्जालमा आएका भिडियोमा बरालले टाउको समाउँदै भूईमा लडीबुडी गरेको देखिन्छ । स्थिति तनावपूर्ण भएपछि प्रहरी बाक्लो संख्यामा उपस्थित भएका थिए । साँझ बराल ब्यान्डेज लगाएको अवस्थामा अस्पतालमा भर्ना भएको तस्विर र भिडियो सार्वजनिक भएका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले मंगलबार अपरान्ह बरालसहित ५ जनालाई वैदेशिक रोजगार विभागबाट नियन्त्रणमा लिइएको बताए ।

बानेश्वर प्रहरी वृत्तका एक अधिकारीले बराललाई सिभिल अस्पतालमा जाँच गरिएको र अवस्था सामान्य रहेको रिपोर्ट आएको जानकारी दिए ।

‘त्यहाँबाट उहाँले अब वीर अस्पताल जान्छु भन्नुभयो । वीर अस्पताल पुगेर त्यसपछि ट्रमा सेन्टरमा भर्ना हुनुभएको रहेछ’, वृत्तका ती अधिकारीले भने ।

बरालले भने आफूलाई प्रहरीकै नियन्त्रणमा रहेको बेला हेल्मेट प्रहार भएको बताएकी छन् । उनले म्यानपावर पीडितमाथि कुटपिट भएको खबर आएपछि आफूहरु प्रहरीसहित त्यहाँ गएको उनको भनाइ छ । अहिले ट्रमा सेन्टरको इमर्जेन्सीमा रहेकी उनले घटना विवरण यसरी सुनाइन् :

हिजो हामी सन्दीप लामिछानेमाथि सर्वोच्चले गरेको फैसलाको स्वागत गर्न माइतीघरमा भेला भएका थियौं । तर, हाम्रो कार्यक्रम सुरु नहुँदै वैदेशिक रोजगार विभागभित्रबाट केही पीडित भाइहरुले फोन गरे । उनीहरुलाई त्यहाँ डीजीले छलफलका लागि बोलाएका रहेछन् । तर, एउटा कोठामा थुनेर म्यानपावर व्यवसायीले हातपात गर्न थालेपछि मलाई फोन गरेका थिए । उनीहरुले गुहार मागेपछि हामी माइतीघरको कार्यक्रम छोडेर वैदेशिक रोजगार विभागतिर लाग्यौं । जानुअघि प्रहरीसँग पनि सल्लाह गरेको थिएँ भने १०० मा फोन गरेर जानकारी पनि गराएको थिएँ ।

मसँग माइतीघर भेलाको रिपोर्टिङ गर्न आएका केही सञ्चारकर्मी पनि हुनुहुन्थ्यो । हामी विभागमा पुग्दा गेटदेखि नै भीड थियो । मैले त्यहाँ हामीमाथि पनि हातपात हुन सक्ने आशंकाले गेटदेखि नै मोबाइलबाट लाइभ गर्दै गएको थिएँ । पीडित भाइहरुलाई कोठाभित्रै थुनेको रहेछ । हामी गेटबाट भित्र छिरेर लिफ्टबाट माथि डीजीको ढोका छेउ पुग्यौं । त्यहाँ खुट्टा राख्ने ठाउँ थिएन । हामी निस्किँदानिस्किँदै पछाडिबाट एक मसँग रहेका सञ्चारकर्मी दीपेन्द्रको क्यामरा खोसे र हेल्मेटले टाउकोमा ४-५ पटक हाने । अर्को सञ्चारकर्मी कल्याणलाई हान्न लाग्दा भीडका कारण सकेनन् ।

मलाई पनि हेल्मेटले हान्न एकजनाले हात उज्याइसकेका थिए । तर, मैले लाइभ गरिरहेको देखेपछि उनले त्यही हेल्मेट टाउकोमा हालेर अनुहार छोपे । उनीहरुले मलाई लाइभ बन्द गर भन्दा मैले मानिनँ । एउटाले मोबाइल खोस्यो । भूईमा फ्याँक्यो । मैले टिपेर फेरि अर्कोपटक लाइभ गरें । लगत्तै एकजनाले मेरो मोबाइल खोसेर लग्यो । मसँग रहेका सञ्चारकर्मी बहिनीहरुमाथि पनि उनीहरुले हातपात गरे ।

प्रहरीले मलाई लिफ्टबाट तल झार्‍यो । ती मानिसहरु भर्‍याङमा ढुकेर बसेका रहेछन् । मलाई बाहिर निकाल्नासाथ एकजनाले पछाडिबाट नराम्रोसँग हेल्मेटले टाउकोमा हान्यो । म प्रहरीकै कब्जामा रहेका बेला हेल्मेट प्रहार भयो । म रन्थनिएर लडें र चिच्याउन थालें । त्यसपछि मलाई सिभिल अस्पताल पुर्‍याए । त्यहाँ सिटीस्क्यान नभएको भनेर फेरि ट्रमा सेन्टर ल्याएका हुन् ।

यहाँ इमर्जेन्सीमा राखिएको छ । पछाडि मेरुदण्डको सिरानको हड्डी फुलेको छ । अहिले पनि निकै दुखिरहेको छ । मलाई यो दुखाइभन्दा पनि प्रहरीको व्यवहारले चित्त धेरै दुःखेको छ । उनीहरुले हामीविरुद्ध नै मुद्दा लेखिरहेका छन् रे ! ती भाइहरुलाई पनि तारा बरालको विरुद्धमा बोले उनीहरुको पैसा फिर्ता गरिदिन्छु भनेर लोभ्याएछन् । अब हामीमाथि नै मुद्दा लगाउन खोजेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *