समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता हुन थाल्यो, ओरेन्टलको पनि फिर्ता हुने – Nepal Press

समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता हुन थाल्यो, ओरेन्टलको पनि फिर्ता हुने

काठमाडौँ । समस्याग्रस्त सहकारीमा बचत गरेका बचतकर्ताको रकम फिर्ता हुन थालेको छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेको स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड गरी चार सहकारीको रकम फिर्ता भइरहेको सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ ।

हालसम्म स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को—अपरेटिभको ११ जनाको बचत फिर्ता भएको छ । यस सहकारीका १७५ जना बचत कर्ताले रकम फिर्ताको माग गर्दै सहकारी व्यवस्थापन समितिको कार्यालयमा आवेदन दिएका थिए । बाँकी रहेकाको पनि रकम फिर्ता भइरहेको समितिले जनाएको छ ।

यता प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको १७१ जना बचत कर्ताले रकम फिर्ता लगिसकेका छन् । यो सहकारीमा ३५२ बचतकर्ताले बचत रकम रहेको दाबी गरेका थिए । प्रभु बचत तथा ऋण सहकारी संस्थाबाट ११ जनाले बचत फिर्ता लगेका छन् ।

यसका १३८ जनाले बचत रहेको दाबी गर्दै समितिमा निवेदन दिएका थिए । कुबेर बचत तथा ऋण सहकारी संस्थामा बचत रहेको भन्दै १० जनाको आवेदन परेकोमा ६ जनाले फिर्ता लगिसकेको र बाँकी ४ जनाको पनि फिर्ता हुने क्रममा रहेको समितिका सदस्य सचिव केशव पौडेलले जानकारी दिए ।

समस्याग्रस्त १२ वटा सहकारीमध्ये स्टाण्डर्ड मल्टिपर्पोज को—अपरेटिभका बचतकर्ताको सबै रकम फिर्ता भइसकेको छ । बाँकी ११ वटाको पनि फिर्ता हुने क्रम जारी छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेको सहकारीहरूमा ओरेण्टल को—अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् ।

यसैगरी प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्। ।

ओरेन्टलको पनि १ लाखसम्मको बचत फिर्ता हुदै

ओरेण्टल को—अपरेटिभ लिमिटेडका साना बचतकर्ताको रकम पनि फिर्ता हुने समितिको भनाइ छ । सानो सानो व्यवसाय गरेर १ लाख रुपैयाँ सम्म बचत गरेका बचतकर्ताका रकम पहिलो चरणमा फिर्ता गर्दै छौ, समितिका सदस्य सचिव पौडेलले भने । ओरेन्टलका ऋणीको धितो लिलाम गरेर सो रकम दिन लागिएको समितिको भनाइ छ ।

समितिले गत मंसिर ९ गते बचतकर्ताले माग दाबी गर्न १५ दिनको समय दिएर सूचना जारी गरेको थियो । त्यसपश्चात ७७७ जना बचतकर्ताले मागदाबी पेश गरेका थिए । सोही आधारमा सानो बचतकर्ताको रकम फिर्ता गर्न लागिएको हो ।

समस्याग्रस्त सहकारी ११ वटा भएपनि पछिल्लो समय अधिकांश सहकारीहरू समस्यामा छन् । केही सहकारीले त बचत फिर्ता गर्न नसकेर भागेका छन् भने केहीले बिस्तारै बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर