कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर, सजाय फागुन २५ गते तोकिने – Nepal Press

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर, सजाय फागुन २५ गते तोकिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

भृकुटीमण्डपस्थित फमपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

तत्कालीन महिला वालवालिका तथा समाजकल्याण मन्त्री गुरुङसहित १४जनाविरुद्ध मुद्दा दायर भएकोमा विशेष अदालतले मंगलवार ९ जनालाई दोषी ठहर गरेको छ ।

गुरुङलाई मतियारका रुपमा दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि भने फागुन २५ गते पेशी तोकिएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए । मुद्दा विचाराधीन रहेकै बेला उनी गत निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए । उनी हाल निलम्बित अवस्थामा छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित शालिग्राम कोइराला र बलभद्र बास्तोलको संयुक्त इजलासले पूर्वमन्त्री तथा हाल प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता बद्री प्रसाद न्यौपानेलाई पनि दोषी ठहर गरेको छ ।

दोषी ठहर हुनेमा तत्कालीन समाजकल्याण परिषदका उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुन्जविहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने छन् । त्यस्तै रमाइलो मेला सन्चालन गर्ने रविन्द्र गुरुङ र परिषदका निर्देशक मदन प्रसाद रिमाल पनि दोषी ठहर भएका छन् ।

टेकबहादुर गूरुङ सो भ्रष्टाचार मुद्दामा मतियार ठहर भएका छन् भने तत्कालीन कोषाध्यक्ष रत्न गाहा मगर, बलवहादुर स्वार, प्रेमसिंह धामी र जगदेव चौधरीले सफाइ पाएका छन् । समाज कल्याण परिषदको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो ।


प्रतिक्रिया

One thought on “कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर, सजाय फागुन २५ गते तोकिने

  1. राम्रोसँग सबै काँग्रेसका नेताहरूको बारेमा छानविन गर्ने हो भने कुनै पनि नेता बच्दैनन । स्थानीय तहदेखि संघसम्मका काँग्रेसका नेताहरू । छानविन गर्ने सरकार जनताले दिनुपर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर