सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ मा विश्वासको मत लिने – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ मा विश्वासको मत लिने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले २१ गते विश्वासको मत लिने तयारीमा लागेका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सत्ता गठबन्धन दलका नेताहरूसँग उनले विश्वासको मत लिने विषयमा सामान्य छलफल गरेका थिए ।

माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । अहिलेसम्म उनले विश्वासको मत लिने विषयमा ठोस निर्णय गर्न सकेका छैनन् ।

मुख्यमन्त्रीमा शाह सुरक्षित रहेपनि केन्द्रबाट निर्देशन नआएको हुँदा उनले विश्वासको मत लिने मिति निर्धारण गर्न नसकेका हुन् । तर, आज भने उनले २१ गते विश्वासको मत लिने आशय व्यक्त गरेको छलफलमा रहेका एक सांसदले बताए ।

राष्ट्रपतिमा पौडेललाई जिताउन धनगढीमा १९ गते सत्ता गठबन्धनका सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ त्यसको संयोजन मुख्यमन्त्री आफैले गर्ने भएका छन् । सोही विषयमा बोलाइएको छलफलमा उनले २१ गते विश्वासको मत लिने विषयमा चर्चा गरेका हुन् ।

‘अहिलेसम्म पत्र तयार भएको छैन तर, मुख्यमन्त्रीज्यूले २१ गते विश्वासको मत लिने आशय व्यक्त गर्नु भएको छ’ ती सांसदले भने ‘एक दुई दिनमा बल्ल मिति निश्चित हुन्छ ।’

विश्वासको मत लिनु भन्दा २ दिन अघि प्रदेश सभा सचिवालयमा दर्ता गर्नुपर्ने प्रदेश सभा नियमावलीमा उल्लेख । सोही अनुसार एक दुई दिनमा प्रदेश सभामा पत्र पठाउने तयारी भइरहेको छ ।

केन्द्रमा फेरिएको समीकरणले मुख्यमन्त्री शाहले सुविधाजनक बहुमत पाउने निश्चित छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ ।

यहाँ कांग्रेसका १९, माओवादीका सभामुख सहित ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने अवस्थामा शाहले दुई तिहाइ मत पाउन सक्छन् ।


प्रतिक्रिया

One thought on “सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ मा विश्वासको मत लिने

  1. अरूको कुरा छोडिदिउँ । नागरिक उन्मुक्त्ति पार्टीले एमालेको मुख्य मन्त्रीलाई मत दिएन । उसले कारण के भन्यो भने उसका माग पूरा भएका छैनन । माग पूरा नभएसम्म कसैलाई मत दिदैनौ । अहिले उसको कुन माग पूरा भयो र उसले काँग्रेसलाई मत दिदैछ ? यस्तो एक महिना पनि नटिक्ने कुरा गर्ने पार्टीलाई जनताले कारवाही गर्नु परेन ? उसले दिल्लीको आदेश मानेको स्पष्ट देखियो । दिल्लीले नेपालमा एमाले भएसम्म आफ्ना कुत्सित उद्देश्य पूरा गर्न सकिदैन भन्ने निश्कर्ष निकालेको छ । अरू त आफ्ना आदेशपालक हुन् भन्ने छ । त्यसैले नागरिक उन्मुक्त्ति पार्टीले दिल्लीको आदेशमा सुदुरपश्चिमको सभामुखमा माओवादीलाई भोट हाल्यो, एमालेको मुख्यमन्त्रीलाई हालेन र अब काँग्रेसको मुख्यमन्त्रीलाई हाल्दैछ । जनताले यस्ता विदेशीको आदेशपालकलाई बेलैमा चिन्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर