एमालेविरुद्धको गठबन्धन स्ववियु चुनावमा पनि बन्ला ? ८ दल निकट विद्यार्थी संगठन छलफलमा – Nepal Press

एमालेविरुद्धको गठबन्धन स्ववियु चुनावमा पनि बन्ला ? ८ दल निकट विद्यार्थी संगठन छलफलमा

अनेरास्ववियुका अध्यक्ष समिक बडाल भन्छन्- हाम्राविरुद्धको मोर्चाबन्दीबारे जानकार छौं, एक्लै चुनाव जित्छौं

काठमाडौं । चुनावअघिको गठबन्धन ब्युँतिएपछि त्यसको बाछिटा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पनि पर्ने भएको छ ।

पुस १० गते बनेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर चुनावअघिकै कांग्रेस नेतृत्वको गठबन्धन ब्युँतिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति एमालेलाई दिन नसक्ने भन्दै पूर्वसहमति तोडेर कित्ता फेरेका थिए ।

अहिले सत्ता गठबन्धनमा माओवादीसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा छन् ।

प्रचण्डले एमाले नेतृत्वको गठबन्धन छाडेपछि त्यसको असर स्वाभाविक रुपमा पनि स्ववियु निर्वाचनमा देखिनु स्वाभाविक भएको विद्यार्थी नेताहरुको तर्क छ । चैत ५ गते हुने निर्वाचनका लागि अहिले विद्यार्थी संगठनहरु सक्रिय भएर आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।

अहिलेसम्म माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकोे विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनसँग तालमेलको औपचारिक सहमति गरिसकेको छ ।

सोमबार अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । स्ववियु निर्वाचनमा पनि बैशाखमा भएको स्थानीय र मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा झैं गठबन्धनको झल्को देखिने स्थिति बन्दै गएको छ ।

प्रत्येक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०७३ चैत १५ गतेपछि हुन लागेको हो । त्यसअघि २०६५ साल चैत ६ गते भएको थियो । लामो समयपछि स्ववियु निर्वाचन हुन लागेकाले विद्यार्थीहरु उत्साही छन् ।

नेपाली कांग्रेस निकट नेविसंघका सभापति दुजाङ शेर्पा आफूहरुले निर्वाचनको लागि आवश्यक तयारी गरिसकेको बताउँछन् । सत्ता समीकरण फेरिएको असर स्ववियु निर्वाचनमा पनि देखिने उनले बताए ।

उनी भन्छन्, ‘हामी निर्वाचनको लागि तयारी अवस्थामा पुगिसकेका छौं । हामी सत्ता समीकरणअनुसार तल्लो तहमा सहकार्य र मित्रवत प्रतिस्पर्धाको लागि आह्वान गर्छौं ।’

उनले आवश्यक पर्ने ठाउँमा सहकार्य र नपर्ने ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्ने बताए । ‘ठाउँ हेरर तालमेल पनि गर्छौं । अहिलेसम्म अनौपचारिक सहमति भएको छैन । भोलिसम्म औपचारिक सहमति हुन्छ होला’, अध्यक्ष शेर्पाले भने ।

माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन भने अहिलेसम्म आफूहरु एक्लाएक्लै लड्ने पक्षमा रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले तालमेल गर्न वार्ताका लागि क्षितिज सापकोटा नेतृत्वमा कमिटी गठन गरेका छौं । तर, अहिलेसम्म हामी एक्लै लड्नुपर्छ भन्ने पक्षमा छौं ।’

विद्यार्थीको चुनाव भएकाले गठबन्धन नबुझ्ने र नस्वीकार्ने उनको बुझाइ छ । ‘हामीले अनौपचारिक रुपमा नेविसंघ र अनेरास्ववियुसँग तालमेलको विषयमा छलफल गरेका थियौं । तर, अहिलेसम्म तालमेलको विषयमा औपचारिक छलफल भएको छैन’, महासचिव पुनले भने ।

उनले तल्लो तहमा तालमेल गर्नुपरे केन्द्रको अनुमति लिनुपर्नेसमेत बताए । ‘अहिले हामी संगठन निर्माणको क्रममा छौं । निर्वाचनको लागि संगठन दर्तापछि तालमेल र सहकार्यको विषयमा आवश्यक छलफल गर्छौं’, महासचिव पुनले थपे ।

यस्तै नेकपा एकीकृत समाजवादीका निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली पनि सत्ता गठबन्धन दल निकट विद्यार्थी संगठनहरुसँग आवश्यक सहकार्य हुने बताउँछन् ।

उनले भने, ‘हामीले अहिले स्ववियु निर्वाचनको तयारीस्वरुप क्याम्पस, प्रदेशका भेला गरिसकेका छौं । विद्यार्थी आन्दोलन मूलतः प्रतिपक्षी आन्दोलन हो । दबाब, जागरण र प्रतिपक्ष आन्दोलनका लागि विचार मिल्ने सबैसँग सहकार्य गरेर जाने नीति बनाएका छौं ।’

गणतन्त्रको पक्षमा उभिने, संसद विघटनविरुद्ध सडकमा आन्दोलन गर्नेहरुसँग पनि सहकार्य गर्ने उनको भनाइ छ । ‘हामी मिलेको ठाउँमा सहकार्य गर्छाैं । सत्ता गठबन्धन दलहरुबीच सहमति नभएको ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्छौं’, अध्यक्ष पराजुलीले भने ।

यता, सात दलीय गठबन्धन टुटेपछि एक्लिएको एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडाल अहिले सत्ता गठबन्धनबाट आफूहरुविरुद्ध हुने मोर्चाबन्दीबारे जानकार रहेको बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेको सत्ता समीकरण भत्किनुअघि पनि अन्य संगठनले अनेरास्ववियुविरुद्ध कार्यगत एकता गरिराख्नुभएकै थियो । त्यसबारे हामी जानकार नै भएर मध्यनजर गरेर आवश्यक तयारी गरिरहेका छौं ।

अनेरास्ववियुले अन्य विद्यार्थी संगठनसँग सहकार्य गर्छ कि गर्दैन भन्ने जिज्ञासामा उनले भने, ‘हामीले अहिले तल्लो तहबाट कलेजहरुको वस्तुस्थितिबारे जानकारी लिइरहेका छौं । उपत्यकाका क्याम्पसहरुमा स्थायी कमिटीका साथीहरुलाई खटाएर वस्तुस्थिति बुझ्ने प्रयत्न गरिरहेका छौं ।’

उनले सबै तहबाट अध्ययन गरिसकेपछि संगठनको बैठक बसेर आवश्यक कलेजमा विचार मिल्नेहरुसँग सहकार्यको बाटो खुला राखेको बताए । ‘विचार मिल्नेहरुसँग कार्यगत मोर्चा गर्ने विषयलाई हामीले खुला नै राखेका छौं । एकल प्रतिस्पर्धा सहज भएको ठाउँमा एकल नै जान्छौं’, अध्यक्ष बडालले भने ।

तर, सत्ता गठबन्धनमा रहेको जनमत पार्टी निकट विद्यार्थी जनमत संघले स्ववियु चुनाव एक्लै लड्ने निर्णय गरेको निर्वाचन परिचालन समितिका सभापति बीपी साहले बताए ।

मंगलबार काठमाडौंमा बसेको संगठनको केन्द्रीय समिति बैठकले पहिलो पटक स्ववियु निर्वाचनमा सहभागी भइरहेकाले देशभरका कलेजहरुमा एक्लै चुनाव लड्ने निर्णय गरेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर