जनमतको विद्यार्थी संगठनले एक्लै स्ववियु चुनाव लड्ने – Nepal Press

जनमतको विद्यार्थी संगठनले एक्लै स्ववियु चुनाव लड्ने

जनकपुरधाम । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको संगठनको केन्द्रीय समिति बैठकले स्ववियु चुनाव एक्लै लड्ने निर्णय गरेको हो ।

विद्यार्थी जनमत संघ पहिलो पटक स्ववियु निर्वाचनमा सहभागी भइरहेकाले देशभरका कलेजहरुमा एक्लै चुनाव लड्ने निर्णय भएको निर्वाचन परिचालन समितिका सभापति बीपी साहले जानकारी दिए ।

बैठकमा पार्टीका अध्यक्ष डा. सीके राउत पनि सहभागी थिए । उनले उच्च मनोबलका साथ चुनावमा सहभागी हुन विद्यार्थी नेताहरुलाई निर्देशन दिए ।

उनले भने, ‘देशका परिवर्तनहरुमा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण छ । अब देशको शिक्षाको सुधारमा विद्यार्थीहरुले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

अध्यक्ष राउतले लामो समयदेखि रोकिएको स्ववियुको निर्वाचनले अब नयाँ नेतृत्वको उदय गराउने विश्वास व्यक्त गरे । निर्वाचनले विद्यार्थी जनमत संघलाई राष्ट्रव्यापी बनाउने उनको भनाइ थियो ।

यसैगरी केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समितिको केन्द्रीय सभापतिमा बीपी साहलाई चयन गरेको छ भने समन्वयको जिम्मेवारी मधेस प्रदेश सरकारका कृषि राज्यमन्त्री सञ्जयकुमार यादवलाई दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर