दुर्गा प्रसाईंले गरे राजसंस्था स्थापनाका लागि आन्दोलन घोषणा, प्रेम आचार्यले आत्मदाह गरेको स्थानबाट सुरु गर्ने (भिडिओ) – Nepal Press

दुर्गा प्रसाईंले गरे राजसंस्था स्थापनाका लागि आन्दोलन घोषणा, प्रेम आचार्यले आत्मदाह गरेको स्थानबाट सुरु गर्ने (भिडिओ)

सुरक्षाकर्मीको मासिक तलब १ लाख ५० हजार हुनुपर्ने माग प्रस्तुत

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापनाकाे घाेषित उद्देश्यसहित आन्दोलनका कार्यक्रम अघि सारेका छन् । एमाले पार्टी परित्याग गरेसँगै उनी राजसंस्थाको पक्षमा खुलेका हुन् ।

‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ महाभियान’ को नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही फागुन २० गतेबाट आन्दोलनमा उत्रिने घाेषणा गरे । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मादाह गरेको स्थानबाट आन्दोलन सुरु गर्ने जानकारी दिँदै प्रसाईंले त्यसमा सहभागी हुन पनि सबैलाई आह्वान गरे ।

त्यसक्रममा उनले आन्दोलनमा आफूहरुले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलव कम्तिमा १ लाख ५० हजार पुर्याउनुपर्ने लगायतका १५ बूँदे माग प्रस्तुत गर्नेसमेत बताए ।

कैदी-बन्दीहरुलाई जेलमुक्त गराई जेलहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई यहीँ पढ्ने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराई रोजगारी सृजना गर्नुपर्ने लगायतका माग पनि सरकार समक्ष गरिने प्रसाईंले बताए ।

उनले भने, ‘हाम्रा यी मागहरु पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ । यसमा एक्यवद्धता जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनु हुन्छ । यो लडाई भनेको राष्ट्रको लागि हो, राष्ट्रियताको लागि हो । व्यवस्था बदल्ने लडाईं हो । हामीले धर्म खोजेको, राजा खोजेको हो ।’

व्यवसायी प्रसाईंले आफूहरुको सो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुको मारमा परेकाहरु आफूहरुको आन्दोलनमा सहभागी बन्ने दाबीसमेत गरे ।

प्रसाईले एमालेमा छँदै महाअभियान सुरु गरेका थिए । त्यसमा राजसंस्था पुनःस्थापनाको घोषित एजेन्डा थिएन । उनले हिन्दू राज्य स्थापना र संघीयता खारेजीको माग गरेका थिए । पूर्वराजाको परिवार नै उतारेर उनले महाअभियानको घोषणा गरेका थिए ।

त्यसपछि एमाले प्रदेश कमिटीले पार्टीको नीति विपरित चलेको भन्दै प्रसाईंलाई कारवाही सिफारिस गरेपछि उनले आफैं पार्टी परित्याग गरिदिए । एमाले छोडेपछि उनले राजसंस्थाको एजेन्डा घोषित रुपमा नै अंगालेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर