कर्णालीमा प्रदेश प्रहरीको ‘सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान’ – Nepal Press

कर्णालीमा प्रदेश प्रहरीको ‘सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान’

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीको वर्तमान सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन ‘सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान’ सुरु गरेको छ ।

अभियानअन्तर्गत कर्णाली प्रदेशका १० वटै जिल्लामा सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गरी सुझाव सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न प्रहरी इकाईहरूबाट आधारभूत सुरक्षा सचेतना, अपराध अनुसन्धान र रोकथाममा सरोकारवाला निकायबाट उपलब्ध हुन सक्ने सहयोग तथा प्राप्त गर्न सकिने भौतिक स्रोतसाधन, लागुऔषध ओसारपसार तथा दुर्व्यसनी नियन्त्रणको विषयमा सुझाव सङ्कलन गरिएको छ ।

त्यस्तै सवारी दुर्घटना न्यूनीकरण, आत्महत्या नियन्त्रण, अवैध मदिरा सेवन तथा नियन्त्रण, नागरिकमैत्री प्रहरी व्यवहार, प्रहरी सेवामा थप सहजीकरणलगायत नागरिकको प्रत्यक्ष जनजीविकासँग जोडिएका विषयमा सुझाव लिइएको छ ।

कार्यालयका अजुसार हालसम्म सुर्खेतमा १५, जाजरकोटमा १४, हुम्लामा २, रुकुम पश्चिममा १५, दैलेखमा १२, डोल्पामा २, कालिकोटमा १४, सल्यानमा १६, जुम्लामा ५, मुगुमा १४ । नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयका १२ स्थानमा सुझाव सङ्कलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण, कर्णाली प्रदेश प्रहरी गणलगायतका विभिन्न कार्यालयबाट प्रत्यक्ष छलफल तथा अन्तरक्रिया, सुझाव पेटिका, पत्राचार, इमेल, सामाजिक सञ्जालको माध्यमबाट सुझावहरू सङ्कलन गरिएको छ । हालसम्म कर्णालीभरि १२१ स्थानमा करिब चार हजार जनाबाट सुझाव सङ्कलन गरिएको छ ।

अभियानबाट प्राप्त सुझावहरू छिट्टै कार्ययोजना निर्माण गरी लागू गरिने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनले सुझाव सङ्कलन भइरहेकाले कार्ययोजना निर्माणको चरणमा रहेको बताए ।

यस अभियानबाट कर्णाली प्रदेशमा रहेको सुरक्षा व्यवस्था अझ बढी सुदृढ भएर थप प्रभावकारी, समयसापेक्ष र गुणस्तरीय हुने कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर