सन्दीपलाई यूएई पठाउन क्यानले आईसीसीसँग माग्यो अनुमति, भिसा प्रक्रिया पनि अगाडि बढाउँदै – Nepal Press

सन्दीपलाई यूएई पठाउन क्यानले आईसीसीसँग माग्यो अनुमति, भिसा प्रक्रिया पनि अगाडि बढाउँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यूएई पठाउन प्रक्रिया सुरु गरेको छ ।

सन्दीपलाई नेपाली टिममा थप्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग अनुमति मागिएको र संवाद भइरहेको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए ।

प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आईसीसीसँग अनुमति लिनुपर्ने हुन्छ । नेपालको १५ सदस्यीय टिम शनिवार यूएई गएको थियो र हिजो पहिलो खेल नेपालले खेलिसकेको छ । बाँकी तीन खेलका लागि क्यानले सन्दीपलाई टिममा प्रतिस्थापन गर्न चाहेको हो । कुन खेलाडीको स्थानमा सन्दीपलाई राख्ने भन्ने निधो भई नसकेको पाठकले उल्लेख गरे ।

‘पहिले त सन्दीपलाई टिममा थप्नका लागि आईसीसीले अनुमति दिनुपर्‍यो,’ उनले भने, ‘उसले हामीसँग बीचमा खेलाडी परिवर्तन गर्नुपर्ने कारण मागेको छ र हामीले पनि दिइसकेका छौँ ।’

क्यानले यसअघि विदेश भ्रमणमा रोक लागेकाले सन्दीपलाई टिममा राख्न नसकिएको र हिजो सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेकाले उनलाई पठाउन खोजिएको जवाफ दिएको छ ।

यसमा आईसीसीले निर्णय दिइसकेको छैन ।

क्यानले यसअघि नेपालमा भएको शृङ्खला अघि १४ जना खेलाडीको नाम आईसीसीमा दर्ता गराएको थियो । त्यसमा सन्दीप पनि थिए । त्यसकै आधारमा अहिले उनलाई टिममा थप्न समस्या नहुने क्यानको विश्वास छ ।

क्यानले आईसीसीसँग लिखित र मौखिकरुपमा संवाद गरिरहेको छ । आईसीसीको टेक्निकल कमिटी तथा डभलपमेन्ट हेर्ने अधिकारीहरूसँग कुरा भइरहेको पाठकले बताए । आइसीसीबाट अनुमति मिलेको खण्डमा आजै भिसा अप्लाइ गरिने पाठकले बताए ।

टेक्निकल कमिटीमा यूएइका व्यक्तिहरूसमेत भएकाले उनीहरूले सन्दीपलाई थप्ने अनुमति प्रदान गर्न आनाकानी गर्न सक्ने बुझिएको छ ।

‘सन्दीपबाट आफ्ना ब्याट्सम्यानहरूलाई खतरा हुने भएकाले सकभर त्यो सम्भावना उनीहरू टार्न चाहन्छन्,’ क्यानका एक अधिकारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर