भासिएको कमला पुल निरीक्षणमा मन्त्री श्रेष्ठको तामझाम : स्थानीयको प्रश्न- गलत गर्नेलाई खोइ कारबाही ? (भिडिओ) – Nepal Press

भासिएको कमला पुल निरीक्षणमा मन्त्री श्रेष्ठको तामझाम : स्थानीयको प्रश्न- गलत गर्नेलाई खोइ कारबाही ? (भिडिओ)

जनकपुरधाम । लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत सिरहा-धनुषा जोड्ने कमला पुल दुई हप्ताभित्रै नयाँ डिजाइनअनुसार निर्माण हुने भएको छ ।
स्थानीयले पटक-पटक आन्दोलन गरेपछि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उक्त पुलको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले दुई हप्ताभित्र नयाँ डिजाइनअनुसार पुलको निर्माण हुने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री श्रेष्ठले निर्माण कम्पनी, हुलाकी राजमार्ग आयोजना प्रमुख र प्राविधिक तथा मन्त्रालयका सचिवलाई सँगै लिएर पुलको निरीक्षण गरेका छन् । निरीक्षणपश्चात उनले भने, ‘निर्माण कम्पनीले एक हप्ताभित्र सुरु गर्छु भनेका छन् । मैले दुई हप्ताभित्र जसरी पनि निर्माण सुरु गर्न निर्देशन दिइसकेको छु ।’

कमला नदीमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो । पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै सक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । तर, सात वर्षमा पनि पुल निर्माण पूरा नगरेपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पुसँगको ठेक्का तोडेको थियो ।

त्यसपछि निर्देशनालयले २०७८ साल असार १३ मा ४७० मिटर लामो पुल निर्माण सक्नेगरी लुम्बिनी बिल्डर्ससँग सम्झौता गरेको थियो । उक्त पुल निर्माण सकेर उद्घाटनको तयारी गरिरहँदा २०७८ असार १७ मा आएको अविरल वर्षासँगै पुल भासियो ।

सुरुमा पूर्वतिरको स्पान भासिएको थियो । कात्तिकमा धनुषातिरको ३ नम्बर पिलर र त्यसपछि दोस्रो र एघारौं पनि भासियो । गलत डिजाइन र गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगले पुल सञ्चालनमा नआउँदै भासिएको प्राविधिकहरु बताउँछन् ।

१० वर्षमा निर्माण भएको पुलसमेत भासिएपछि धनुषा र सिरहाका लाखौं मानिस प्रभावित भए । भासिएको २ वर्ष बित्न लाग्दा पनि सरकारले पुनर्निर्माणमा ध्यान नदिएपछि स्थानीय पटक पटक आन्दोलन गरेका हुन् । अहिले स्थानीयले बनाएको कच्ची पुल भएर मोटरसाइकल आवातजावत गर्दा २५ रुपैयाँ शुल्क तिर्नुपर्छ ।

मन्त्री श्रेष्ठले नयाँ डिजाइन बनाउन समय लागेकाले निर्माणमा ढिलाइ भएको स्पष्टीकरण दिए । उनले अब समयमै गुणस्तरीय पुल निर्माण हुने विश्वास दिलाए । उनले सर्वसधारणलाई आवतजावत गर्न तत्काल ह्युमपाइप राख्न हुलाकी सडक आयोजना प्रमुखलाई निर्देशन दिए ।

‘तत्काल ह्युमपाइप राखेर आवतजावत सहज पार्न अहिले भर्खर हुलाकी सडक आयोजना प्रमुखलाई निर्देशन दिएको छु । उहाँले भोलि वा पर्सिदेखि नै यो काम गर्नुहुन्छ’, मन्त्री श्रेष्ठले भने, ‘जनतालाई सहज बनाउन सरकारले जस्तोसुकै कदम उठाउँछ ।’

उनले देशभरका राष्ट्रिय गौरवका आयोजना निर्माणमा देखिएका समस्याहरु समाधान गर्न सकारात्मक पहल भइरहेको जानकारी दिए । उनले निर्माण व्यवसायीको उपेक्षा र व्यक्तिगत स्वार्थका कारण जनता र राष्ट्रलाई हानी नोक्सानी पुर्‍याउने काम भयो भने सह्य नहुने र सरकार निर्मम ढंगले अगाडि बढ्ने चेतावनी दिए ।

‘कतिपय ठेक्का खारेज गरिसक्यौं’, उनले भने, ‘कतिपयको समयसीमा तोकेका छौं । त्यो समयभित्र काम सक्नैपर्छ । समयमा गुणस्तरीय काम भएन भने निर्माण व्यवसायीहरुसँग कन्ट्रयाक्ट तोड्नेछौं र नयाँ प्रक्रियाबाट अगाडि बढ्छौं ।’

पुल निरीक्षणमा तामझाम

भासिएको कमला पुल निरीक्षणमा मन्त्री श्रेष्ठ पुग्दा ठूलो तामझाम गरियो । नदीको बालुवामा मन्त्रीका लागि सोफा राखिएको थियो । अन्य अतिथिका लागि भने कुर्सी । मुस्किलले आधा घण्टा बिताएका उनका लागि डिजे साउण्ड ल्याइएको थियो ।

मन्त्री श्रेष्ठसँगै दर्जनौं गाडीको लाइन लाग्यो । उनको निरीक्षणमा तामझाम देख्दा आवातजावत गर्नेहरु सोध्थे, ‘के भयो ? को आउनुभएको छ ?’

मन्त्री श्रेष्ठले दुई हप्ताभित्र निर्माण सुरु हुने प्रतिबद्धता जनाए पनि धेरैले शंका व्यक्त गरेका छन् । सिरहा बजारका नागेश्वर यादव भन्छन्, ‘१० वर्षमा कैयौं मन्त्रीहरु आए, गए । तर, पुल बन्न सकेन । बनेको पनि भत्कियो । गलत गर्नेलाई खोइ कारबाही ?’

मन्त्रीहरु आएपछि ठूल्ठूला कुरा गर्ने तर फर्केर गएपछि बिर्सिने गरेको उनको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर