लोकसेवाले छिटोछरितो कार्य सम्पादन गर्नुपर्छ : मुख्यमन्त्री गिरी – Nepal Press

लोकसेवाले छिटोछरितो कार्य सम्पादन गर्नुपर्छ : मुख्यमन्त्री गिरी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले छिटोछरितो कार्य सम्पादन गर्न लोकसेवा आयोगलाई आग्रह गरेका छन् ।

प्रदेश लोकसेवा आयोगको कार्य प्रगति एवं कार्यसम्पादन अन्तरक्रियामा मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश लोकसेवा आयोगको कार्यसम्पादनलाई छिटोछरितो बनाउनुहोस् । समयमै कार्यसम्पादन नहुँदा जनशक्ति अभावको समस्या समाधान हुन सकेको छैन । यसतर्फ लोकसेवा आयोग गम्भीर बन्नुपर्दछ ।’

संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले लोकसेवा आयोग गठन गरेको बताउँदै उनले यसलाई प्रभावकारी र विश्वसनीय बनाउनतर्फ आयोग लाग्नुपर्ने बताए ।

प्रदेश निजामती सेवा विधेयक प्रदेशसभामा पेश गर्ने तयारी भइरहेको मुख्यमन्त्री गिरीको भनाइ छ ।

‘प्रदेश निजामती ऐनको अभावमा आयोगको कार्यसम्पादनमा समस्या उत्पन्न भएको महसुस गरी सरकारले प्रदेश निजामती विधेयक प्रदेश सभामा पेश गर्ने तयारी गरेको छ’, उनले भने, ‘ऐनको अभावमा हुने जटिलता छिट्टै हटेर जान्छ । सरकारले आयोगलाई भौतिक अभाव र कानूनी जटिलता हुन दिँदैन । तपाईँहरु आफ्ना गतिविधिलाई योजनाबद्ध रुपमा अगाडि बढाउनुहोस् ।’

प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले प्रदेशबाट १ हजार ५ सय दरबन्दी माग भएकोमा विभिन्न पदका १ हजार १४९ जनाको भर्ना प्रक्रिया अगाडि बढाइसकेको र बाँकी दरबन्दीमा पनि यथाशक्य पूर्ति गर्ने बताए ।

ऐनको अभावमा पाँचौं तहभन्दा माथिको दरबन्दीमा आयोगले पदपूर्ति गर्न नपाएको बताउँदै उनले भने, ‘माग भई आएको दरबन्दीमा पदपूर्ति गर्नतर्फ आयोग लागिपरेको छ । प्रदेशलाई चाहिने जनशक्ति व्यवस्थापन गर्न ऐन अपरिहार्य छ ।’

सरकारले निर्माण गरेको ऐनअनुसार आयोगले कार्यसम्पादन गर्ने हुँदा ऐन निर्माणमा भइरहेको ढिलाइ हटाइदिन उनले आग्रह गरे ।

प्रदेश निजामती ऐन नहुँदा कानूनी जटिलता भोगिरहेको भन्दै अध्यक्ष भट्टराईले भने, ‘६ वटा प्रदेशले प्रदेश निजामती ऐन बनाइसकेको छ । लुम्बिनी प्रदेशले समयमा ऐन नबनाउँदा कार्यसम्पादनमा समस्या भएको छ । स्थानीय तहका लागि स्थानीय सरकारी सेवा ऐनसमेत बनाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर