सन्दीप प्रकरणमा न्यायाधीश सपनाले सोधिन्- जाहेरवाला बालिग कि नबालिग ? – Nepal Press

सन्दीप प्रकरणमा न्यायाधीश सपनाले सोधिन्- जाहेरवाला बालिग कि नबालिग ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा परेको पुरावेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुरु गरेको सुनुवाइमा इजलासले जाहेरवाला बालिग कि नबालिग हो भन्दै प्रश्न गरेको छ ।

सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा सुरु भएको सुनुवाइमा न्यायाधीशले जाहेरवालाको उमेरलाई लिएर प्रश्न गरेका हुन् । स्रोतका अनुसार न्यायाधीश सपनाले जाहेरवाला पक्ष र आरोपित पक्ष दुवैलाई उक्त प्रश्न गरेकी थिइन् । जाहेरवालाको तर्फबाट बहस गरेका महान्यायाधिवक्ता कार्यालय र निजी कानून व्यवसायीले पीडित नाबालिग नै भएको दाबी गरेका थिए ।

नागरिकताका आधारमा जाहेरवाला नाबालिग रहेको उनीहरुको तर्क थियो । दुई जना सरकारी वकिल र वरिष्ठ अधिवक्ता शशि अधिकारीसहित तीन जना निजी वकिल गरी पाँच जनाले जाहेरवालाको तर्फबाट बहस गरेका थिए ।

कानूनमा १८ वर्षभन्दा कम उमेरकासँग सहमतिमै यौन सम्पर्क भए पनि त्यसलाई बलात्कार मानिने उल्लेख छ । सन्दीपले भने बलात्कारकै आरोप अस्वीकार गर्दै आएका छन् ।

त्यसपछि सन्दीपका कानून व्यवसायीले नाबालिग रहेको प्रमाण भन्दै विभिन्न कागजातहरु पेश गरेका थिए । सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र कृष्ण भण्डारी तथा अधिवक्ताहरु सविना भण्डारी बराल र मुरारी सापकोटाले बहस गरेका छन् । अब वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित रोशनी पौडेल र सरोजकृष्ण घिमिरेले सोमबार बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुनेर इजलासले आदेश दिनेछ ।

वरिष्ठ अधिवक्ता थापाले कहिल्यै नभेटेका सन्दीपसँग नगरकोट जाने, घुमेर आएपछि रात सँगै बस्ने र भोलिपल्ट हाँसीखुशी बिदा हुने जाहेरवालाप्रति पनि कानूनी दायित्व रहने भन्दै आरोपमाथि प्रश्न उठाएका थिए ।

अर्का अधिवक्ता सापकोटाले जाहेरवालाको उमेरको विषयमा चिकित्सकीय जाँच हुनुपर्ने सुझाव चिकित्सकले दिए पनि अनुसन्धान अधिकारीले बेवास्ता गरेको जिकिर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *