चन्द्र ढकालको आश्वासन- अर्थतन्त्र सुधारोन्मुख छ, धेरै निराश नहुनुस् – Nepal Press

चन्द्र ढकालको आश्वासन- अर्थतन्त्र सुधारोन्मुख छ, धेरै निराश नहुनुस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूलाई धेरै निराश नहुन आग्रह गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको २१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरू सुधारोन्मुख रहेको र अहिलेको भन्दा परिस्थिति नबिग्रने बताउँदै व्यवसायीहरूलाई निराश नहुन आग्रह गरेका छन् ।

‘अर्थतन्त्रका धेरै सूचकहरू बिस्तारै-बिस्तारै सकारात्मक हुँदै आएका छन् । हामी व्यवसायीहरू जस्तोसुकै असजिलो आउँदा पनि हडबडाउनु हुँदैन । नैराश्यताले हामी आफैंलाई हानी गर्छ,’ उनले भने ।

छिमेकी राष्ट्र श्रीलंकाको अर्थतन्त्रमा समस्या देखिएको हुनाले नेपालले केही कसिलो नीतिहरू अपनाउँदा यहाँ अर्थतन्त्रमा समस्या देखिएको र व्यवसायीहरू मर्कामा परेको बताउँदै सरकार तथा नियामक निकायले तुरुन्तै कोर्स करेक्सन गरेकोले अर्थतन्त्रमा बिस्तारै सहज स्थिति आउने ढकालको भनाइ थियो ।

आफू उपस्थित हुने हरेक कार्यक्रममा बैंकको व्याजसम्बन्धी कुरा उठ्ने गरेको बताउँदै उनले कुनै एक बैंक वा वित्तीय संस्थाको सञ्चालकले मात्र व्याजदर परिवर्तन गर्न असम्भव रहेको बताए ।

‘म जुन कार्यक्रममा सहभागी हुन्छु त्यहाँ बैंकको ब्याजदरसम्बन्धी विषय उठ्ने गरेको छ । धेरै साथीहरूले बैंकको सञ्चालक भएकै कारण मैले चाहेको खण्डमा व्याजदर घटाउन सक्ने र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव समाधान हुने खालको अभिव्यक्तिहरू दिने गर्नुभएको छ । म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंकको सञ्चालक वा लगानीकर्ताले निर्धारण गर्ने वा चाहनाले परिवर्तन गर्ने कुरा होइन,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर